काठमाडौं । नयाँ मोबाइल फोन किन्नेबित्तिकै त्यसलाई सुरक्षित राख्न कभर र स्क्रिन गार्ड किन्ने चलन छ । फोन खस्दा हुन सक्ने क्षति कम गर्न, पछाडिको भागमा कोतारिन नदिन र दैनिक प्रयोगका क्रममा लाग्न सक्ने चोटबाट जोगाउन मोबाइलमा कभर लगाइन्छ । तर, कभरले फोनलाई सुरक्षा दिए पनि यसको प्रयोग गर्दा केही समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु आवश्यक हुन्छ ।
मोबाइलमा कभर लगाउँदा देखिन सक्ने प्रमुख समस्यामध्ये फोन बढी तात्नु एक हो । विशेषगरी गर्मी मौसममा लामो समयसम्म मोबाइल प्रयोग गर्दा वा भारी एप तथा गेम चलाउँदा फोनको तापक्रम बढ्न सक्छ । यस्तो अवस्थामा कभरले ताप बाहिर निस्कने प्रक्रियामा अवरोध पुर्याएमा फोन थप तात्न सक्छ । अत्यधिक तात्दा मोबाइलको कार्यसम्पादन प्रभावित हुन सक्छ र केही समयका लागि फोन सुस्त चल्ने वा एपहरू अड्किने समस्या देखिन सक्छ ।
त्यसैगरी, फोन चार्ज गर्दा तापक्रम बढ्ने गर्छ । चार्जिङका क्रममा मोबाइल असामान्य रूपमा तातिरहेको छ भने कभर हटाउँदा ताप बाहिर निस्कन केही सहज हुन सक्छ । यद्यपि, कभर लगाएकै कारण फोन चार्ज नहुने भन्ने होइन । चार्जिङमा समस्या देखिएमा चार्जर, केबल, ब्याट्री र फोनको अवस्था समेत जाँच गर्नुपर्छ ।
मोबाइलको कभर नियमित रूपमा सफा नगर्दा त्यसमा धुलो, पसिना र फोहोर जम्मा हुन सक्छ। विशेषगरी फोन र कभरबीच धुलोका कण अड्किएमा फोनको पछाडिको भागमा कोतारिने जोखिम रहन्छ । त्यसैले समय–समयमा कभर निकालेर फोन र कभर दुवै सफा गर्नु उपयुक्त हुन्छ । कभरको सामाग्री र बनोटअनुसार यसको टिकाउपन तथा फोनमा पर्ने प्रभाव पनि फरक हुन सक्छ ।
धातुयुक्त वा गलत डिजाइनको कभरले केही मोबाइलमा जीपीएस, कम्पास वा वायरलेस सिग्नलको कार्यक्षमतामा असर पार्न सक्छ । तर, यस्तो प्रभाव सबै कभरमा देखिन्छ भन्ने होइन । समस्या अनुभव भएमा कभर हटाएर फोनको कार्य क्षमता जाँच गर्न सकिन्छ ।
अहिले मोबाइल उत्पादक कम्पनीहरूले आकर्षक डिजाइन र विशेष बनावट भएका फोन बजारमा ल्याइरहेका छन् । कभर प्रयोग गर्दा फोनको वास्तविक डिजाइन छोपिन सक्छ । यद्यपि, फोनलाई सुरक्षित राख्न उपयुक्त कभर प्रयोग गर्नु उपयोगी हुन्छ ।
मोबाइलको सुरक्षा र कार्य क्षमता दुवैलाई ध्यानमा राख्दै कभर छनोट गर्नु राम्रो हुन्छ । फोन चार्ज गर्दा वा लामो समयसम्म गेम खेल्दा अत्यधिक तात्ने समस्या देखिएमा कभर हटाएर तापक्रम घट्न दिन सकिन्छ । साथै, फोनलाई घाममा वा अत्यधिक तातो ठाउँमा नराख्ने र निर्माताले दिएको प्रयोगसम्बन्धी निर्देशन पालना गर्ने बानीले पनि मोबाइलको आयु र कार्य क्षमता कायम राख्न मद्दत गर्छ ।
आईसीटी समाचार