काठमाडौं । नेपाल टेलिकमले ४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराएको ३० एमबीपीएसको एफटीटीएच इन्टरनेट प्याकेज नियामक निकायलाई जानकारी गराएर सञ्चालनमा ल्याइएको स्पष्ट पारेको छ ।
प्याकेजको स्वीकृति र सञ्चालनसम्बन्धी विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथ्यसँग मेल नखाने भन्दै कम्पनीले आपत्ति जनाएको हो । नेपाल टेलिकमले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त प्याकेजका सम्बन्धमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेका अनुसार, नेपाल दूरसञ्चार प्राधिकरणले २०८३ असोज ३० गते इन्टरनेट सेवा प्रदायकहरूले अनुमति पत्रका सर्तविपरीत काम गरेको विषयमा जारी गरेको विज्ञप्तिलाई आधार बनाएर टेलिकमको प्याकेजबारे भ्रमपूर्ण समाचार सम्प्रेषण भएको पाइएको छ ।
टेलिकमले आफूले विगतदेखि सञ्चालन गर्दै आएका प्याकेजहरूबारे स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई नियमित रूपमा पत्राचार गर्दै आएको जनाएको छ ।
असोज ३० गते अफरका रूपमा सञ्चालनमा ल्याइएको ३० एमबीपीएसको प्याकेजबारे पनि प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार उक्त प्याकेज विद्यार्थी अफरका रूपमा यसअघि पनि प्राधिकरणलाई जानकारी गराएर सञ्चालन गरिएको थियो ।
प्याकेजको स्वीकृति तथा सञ्चालनबारे सार्वजनिक भएका समाचारका कारण अन्योलमा नपर्न सरोकारवालालाई आग्रह गर्दै प्रवक्ता लामिछानेले नेपाल टेलिकमले सरकारका स्वीकृत नीति तथा प्रचलित कानुनको सीमाभित्र रहेर सेवा सञ्चालन गरिरहेको बताएका छन् । कम्पनीले कानुनको पालना गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
आईसीटी समाचार