काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।
केन्द्रका अनुसार PHP तथा यससँग सम्बन्धित अपाचे, PHP-FPM र लाइटस्पिडजस्ता वेब सर्भर प्रणालीका साथै वर्डप्रेस, जुम्ला, ड्रुपल र म्याजेन्टोजस्ता सामाग्री व्यवस्थापन प्रणालीमा समेत यी सुरक्षा कमजोरीको प्रभाव पर्न सक्ने जोखिम छ ।
यस्ता कमजोरीको दुरुपयोग भए सरकारी तथा गैरसरकारी निकायका वेबसाइट र अनलाइन प्रणालीमा आक्रमणकारीले अनधिकृत पहुँच प्राप्त गर्ने वा प्रणालीमा क्षति पुर्याउने सम्भावना रहेको केन्द्रले जनाएको छ ।
सुरक्षित संस्करणमा तत्काल स्तरोन्नति गर्न आग्रह
साइबर सुरक्षा जोखिम न्यूनीकरणका लागि केन्द्रले प्रयोगमा रहेका PHP प्रणालीलाई यथाशीघ्र सुरक्षित संस्करणमा अद्यावधिक गर्न सुझाव दिएको छ । केन्द्रले PHP का लागि ८.२.३५ वा सोभन्दा माथि, ८.३.३६ वा सोभन्दा माथि, ८.४.२७ वा सोभन्दा माथि र ८.५.१२ वा सोभन्दा माथिका संस्करण प्रयोग गर्न भनेको छ ।
त्यसैगरी, PHP ८.१ वा सोभन्दा पुराना संस्करण प्रयोग गरिरहेका वेबसाइट तथा अनलाइन प्रणालीलाई नयाँ सुरक्षित संस्करणमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । ती पुराना संस्करणमा आवश्यक सुरक्षा सुधार उपलब्ध नहुने भएकाले तिनको निरन्तर प्रयोगले जोखिम बढाउन सक्ने केन्द्रको भनाइ छ ।
सुरक्षा अपडेटपछि सर्भर रिस्टार्ट गर्नुपर्ने
केन्द्रले सुरक्षा अपडेट लागू गरेपछि नयाँ फाइल तथा सुधारहरू प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन अपाचे र PHP-FPM लगायतका सम्बन्धित वेब सेवाहरू अनिवार्य रूपमा पुनः सुरु (रिस्टार्ट) गर्नुपर्ने जनाएको छ ।
यसका साथै, तत्काल प्रणाली स्तरोन्नति वा सुरक्षा सुधार गर्न नसकिने अवस्थामा जोखिमयुक्त प्रणालीलाई सार्वजनिक इन्टरनेटबाट अलग गरी सुरक्षित आन्तरिक सञ्जालमा सीमित गर्न वा आवश्यकताअनुसार अस्थायी रूपमा सेवा बन्द गर्न केन्द्रले सुझाव दिएको छ ।
केन्द्रले सरकारी तथा निजी क्षेत्रका वेबसाइट सञ्चालक, सूचना प्रविधि प्रशासक र सम्बन्धित निकायलाई जारी सुरक्षा निर्देशन पालना गर्दै आफ्ना प्रणालीको सुरक्षा अवस्था तत्काल परीक्षण गर्न आग्रह गरेको छ ।
वेबसाइट तथा अनलाइन सेवामा बढ्दो साइबर जोखिमलाई ध्यानमा राख्दै समयमै सुरक्षा अपडेट लागू गर्नु, पुराना सफ्टवेयर विस्थापन गर्नु र सम्भावित अनधिकृत पहुँचको निगरानी गर्नु आवश्यक रहेको केन्द्रले जनाएको छ ।



आईसीटी समाचार