काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । युनिभर्सल कम्प्युटर सप्लायर्सको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल कार्तिक १३ गते शुक्लागण्डकी ४ दुलेगौंडा, तनहुँमा आयोजना हुनेछ ।
एकदिने सेवा शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा सेवा लिन सक्नेछन् । प्राविधिक टोलीले उपकरणको अवस्था परीक्षण गरी देखिएका सामान्य समस्या पहिचान गर्नुका साथै नियमित मर्मतसम्भार, सही प्रयोग विधि र उपकरणको कार्य क्षमता कायम राख्ने विषयमा आवश्यक परामर्श प्रदान गर्नेछ । ग्राहकले आफ्ना उपकरणमा देखिएका समस्या तथा प्रयोगसम्बन्धी जिज्ञासा पनि प्राविधिक टोलीसँग प्रत्यक्ष रूपमा राख्न सक्नेछन् ।
दैनिक प्रयोगमा रहेका प्रिन्टर तथा मल्टिफङ्सन उपकरणको अवस्था समयमै जाँच गर्नु र साना प्राविधिक समस्यालाई सुरुमै पहिचान गर्नु सेवा शिविरको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ । स्थानीय स्तरमै प्राविधिक टोलीसँग प्रत्यक्ष सम्पर्कको अवसर उपलब्ध हुँदा ग्राहकले आफ्नो उपकरणको वर्तमान अवस्था बुझ्नुका साथै त्यसको उचित हेरचाह र सञ्चालनबारे व्यावहारिक जानकारी प्राप्त गर्न सक्नेछन् ।
सागर ग्रुपले नेपालमा ब्रदरका उत्पादनको बजार पहुँचसँगै बिक्रीपछिको सेवा र प्राविधिक सहयोगलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ । ग्राहकसँग प्रत्यक्ष रूपमा जोडिएर उनीहरूले भोगिरहेका समस्या, उपकरण प्रयोगको अनुभव तथा स्थानीय बजारको आवश्यकतालाई बुझ्ने र त्यसअनुसार सेवा पहुँचलाई थप प्रभावकारी बनाउने उद्देश्यले विभिन्न बजार क्षेत्रमा यस्ता गतिविधि सञ्चालन गर्दै आएको ग्रुपले जनाएको छ ।
युनिभर्सल कम्प्युटर सप्लायर्स र सागर ग्रुपले शुक्लागण्डकी तथा आसपासका ब्रदर ग्राहकहरूलाई आफ्नो प्रिन्टर वा मल्टिफङ्सन उपकरणसहित सेवा शिविरमा सहभागी हुन आग्रह गरेका छन् । ग्राहकहरूले २०८३ साल कार्तिक १३ गते, शुक्लागण्डकी ४ दुलेगौंडा, तनहुँमा उपस्थित भई नि:शुल्क प्राविधिक सेवा तथा परामर्श लिन सक्नेछन् ।
आईसीटी समाचार