काठमाडौं । मोबाइलमा इन्टरनेट चलाउँदा डाटा प्याक सकिएपछि पनि मुख्य ब्यालेन्सबाट पैसा काटिन सक्छ । डाटा सकिएको थाहा नपाउँदा वा समयमै ध्यान नदिँदा प्रयोगकर्ताले मोबाइलमा रहेको १०० रुपैयाँदेखि हजारौँ रुपैयाँसम्मको ब्यालेन्स गुमाउन सक्छन् ।
विशेष गरी इन्टरनेट प्रयोग गरिरहँदा डाटा प्याक सकिएको सूचना नपाउने वा त्यसलाई बेवास्ता गर्ने प्रयोगकर्ताले यस्तो समस्या भोग्नुपर्ने हुन सक्छ । तर, नेपाल टेलिकम (एनटीसी) का प्रयोगकर्ताले उपलब्ध एउटा सुविधा प्रयोग गरेर अनावश्यक ब्यालेन्स खर्च हुने जोखिम कम गर्न सक्छन् ।
नेपाल टेलिकममा उपलब्ध PAYG (Pay-As-You-Go) सुविधा डिसेबल गरेपछि डाटा प्याक सकिँदा मुख्य ब्यालेन्सबाट पैसा काटेर इन्टरनेट चल्ने सुविधा बन्द गर्न सकिन्छ । यसले डाटा प्याक सकिएपछि पनि थाहै नपाई मुख्य ब्यालेन्स खर्च हुने समस्याबाट जोगिन मद्दत गर्छ ।
PAYG सुविधा डिसेबल गर्ने तरिका
१. मोबाइलको डायल प्याड खोल्नुहोस् र *444# डायल गर्नुहोस् ।
२. मेनुमा देखिने विकल्पमध्ये नम्बर ४ को ‘Enable/Disable PAYG’ विकल्प छान्नुहोस् ।
३. PAYG सुविधा बन्द गर्न नम्बर १ अर्थात् ‘Disable’ विकल्प छान्नुहोस् ।
४. त्यसपछि स्क्रिनमा देखिने निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुहोस् ।
यो प्रक्रिया पूरा भएपछि PAYG सुविधा डिसेबल हुन्छ । त्यसपछि डाटा प्याक सकिएमा मुख्य ब्यालेन्सबाट पैसा काटेर इन्टरनेट चल्ने सुविधा बन्द हुन्छ ।
PAYG सुविधा सक्रिय छ कि छैन, कसरी जाँच्ने ?
आफ्नो सिममा PAYG सुविधा सक्रिय छ वा डिसेबल छ भन्ने जानकारी लिन पनि *444# डायल गर्न सकिन्छ ।
१. मोबाइलबाट *444# डायल गर्नुहोस् ।
२. नम्बर ४ को ‘Enable/Disable PAYG’ विकल्प छान्नुहोस् ।
३. त्यसपछि नम्बर ३ अर्थात् ‘Status’ विकल्प छानेर सुविधाको अवस्था जाँच गर्नुहोस् ।
PAYG सुविधा फेरि कसरी सक्रिय गर्ने ?
भविष्यमा डाटा प्याक सकिएपछि पनि मुख्य ब्यालेन्सबाट पैसा काटेर इन्टरनेट चलाउन चाहनुहुन्छ भने यही मेनुमा गएर नम्बर २ अर्थात् ‘Enable’ विकल्प छान्न सक्नुहुन्छ ।
मोबाइलमा डाटा प्याक र मुख्य ब्यालेन्स दुवै भएका बेला डाटा सकिएपछि अनावश्यक रूपमा पैसा खर्च हुन नदिन PAYG सुविधा उपयोगी हुन सक्छ । त्यसैले मुख्य ब्यालेन्स जोगाउन आफ्नो सिममा यो सुविधा सक्रिय छ वा डिसेबल छ भन्ने जाँच गर्नु राम्रो हुन्छ ।
आईसीटी समाचार