काठमाडौं । भारतमा ह्वाट्सएप, टेलिग्रामलगायतका मेसेजिङ एप प्रयोग गर्ने तरिका परिवर्तन हुने भएको छ । भारतीय दूरसञ्चार विभागले सिम बाइन्डिङसम्बन्धी नयाँ व्यवस्था लागू गर्न लागेसँगै अब सम्बन्धित मोबाइल नम्बरको सिमकार्ड फोनमा नराखी इन्टरनेटका माध्यमबाट मात्रै यस्ता एप चलाउन नपाइने भएको हो ।
नयाँ व्यवस्थाअनुसार प्रयोगकर्ताले मेसेजिङ एपमा दर्ता गरेको मोबाइल नम्बरसँग सम्बन्धित सक्रिय सिमकार्ड सोही डिभाइसमा राख्नुपर्नेछ । भारतमा यो नियम कार्यान्वयनका लागि सन् २०२६ डिसेम्बर ३१ सम्मको समयसीमा तोकिएको छ । त्यसपछि सन् २०२७ जनवरी १ देखि यो व्यवस्था लागू हुने जनाइएको छ ।
यसको प्रभाव विशेष गरी सिमकार्ड निकालेर वा अर्को फोनमा सारेर वाइफाइको सहायताले ह्वाट्सएप र टेलिग्राम चलाइरहेका प्रयोगकर्तामा पर्नेछ । सिमकार्ड परिवर्तन भएमा, निकालिएमा वा निष्क्रिय भएमा सम्बन्धित एपको सेवा प्रभावित हुन सक्छ । सेवा पुन: प्रयोग गर्न वैध सिमकार्ड फोनमा राख्नुपर्ने हुन्छ ।
के हो सिम बाइन्डिङ ?
सिम बाइन्डिङ भनेको प्रयोगकर्ताको मोबाइल नम्बर, सिमकार्ड र मेसेजिङ एप चलिरहेको डिभाइसबीच सम्बन्ध स्थापित गर्ने व्यवस्था हो । यसले एपमा दर्ता गरिएको मोबाइल नम्बरको सिमकार्ड सम्बन्धित फोनमै छ कि छैन भन्ने कुरा सुनिश्चित गर्न मद्दत गर्छ ।
अहिले धेरै प्रयोगकर्ताले मोबाइल नम्बरबाट एकपटक खाता प्रमाणित गरेपछि सिमकार्ड निकालेर पनि वाइफाइमार्फत मेसेजिङ एप चलाउन सक्छन् । तर नयाँ नियम लागू भएपछि यस्तो सुविधा सीमित हुने देखिएको छ ।
साइबर ठगी नियन्त्रण गर्ने उद्देश्य
भारतीय अधिकारीहरूले यो व्यवस्था ल्याउनुको प्रमुख उद्देश्य मोबाइल नम्बरको दुरुपयोग गरी हुने साइबर अपराध नियन्त्रण गर्नु हो । भारतीय नम्बर प्रयोग गरेर विदेशबाट सञ्चालन हुने अनलाइन ठगी, फिसिङ तथा ‘डिजिटल अरेस्ट’ जस्ता अपराधमा मेसेजिङ एपको दुरुपयोग हुने गरेको अधिकारीहरूको भनाइ छ ।
दूरसञ्चार विभागले केही सञ्चार सेवाहरूले भारतीय मोबाइल नम्बरमार्फत प्रयोगकर्ताको पहिचान गरे पनि सम्बन्धित सिमकार्ड एप चलिरहेको डिभाइसमा नराखी सेवा प्रयोग गर्न दिएको पाएको जनाएको छ । यस्तो अवस्थाले नम्बरको दुरुपयोग र अपराधको अनुसन्धानमा चुनौती थप्न सक्ने भएकाले नयाँ व्यवस्था ल्याइएको हो ।
कसलाई पर्छ बढी असर ?
नयाँ नियमले एउटै खातालाई विभिन्न डिभाइसमा प्रयोग गर्ने, सिमकार्ड एउटा फोनमा राखेर अर्को फोनमा मेसेजिङ एप चलाउने तथा सिमकार्ड निकालेर वाइफाइमा निर्भर रहने प्रयोगकर्तालाई बढी असर गर्न सक्छ ।
यद्यपि, नियमको कार्यान्वयन कसरी हुन्छ र विभिन्न डिभाइसमा लगइन भएका खातामा कस्ता प्राविधिक सर्त लागू हुन्छन् भन्ने विषयमा सम्बन्धित सेवाप्रदायकको कार्यान्वयन प्रक्रिया महत्त्वपूर्ण हुनेछ ।
भारतमा लागू गर्न लागिएको यो व्यवस्था त्यहाँका मोबाइल नम्बर र प्रयोगकर्तालाई लक्षित छ । त्यसैले नेपालमा ह्वाट्सएप वा टेलिग्राम प्रयोग गर्नेहरूलाई पनि यही नियम स्वत: लागू हुन्छ भन्ने अर्थ लाग्दैन ।
आईसीटी समाचार