काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बौद्धिकता (एआई) मा आधारित डिजिटल ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार केएस मित्रमार्फत ग्राहकले बैंकका सेवा तथा सुविधाबारे जानकारी लिनुका साथै खातासम्बन्धी जिज्ञासा राख्न, विभिन्न बैंकिङ सेवा अनुरोध गर्न र आफ्ना गुनासा दर्ता गराउन सक्नेछन् । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क मित्र’ आइकन, [email protected] इमेल वा ९८५१४६००८५ नम्बरको ह्वाट्सएप प्रयोग गर्न सक्नेछन् ।
यो प्रणालीमार्फत ग्राहकले बैंकको शाखामा उपस्थित नभई शाखाको ठेगाना तथा सम्पर्क नम्बर, बैंकिङ सेवा तथा सुविधा, ब्याजदर, सेवा शुल्कलगायतका सामान्य जानकारी प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकको पहिचान तथा खाताको विवरण प्रमाणीकरण गरेपछि खातामा रहेको मौज्दात, कारोबार विवरण, ऋणको बाँकी रकम, सीआरएन, डिम्याट र केवाईसीसम्बन्धी जानकारी समेत उपलब्ध हुने बैंकले जनाएको छ ।
केएस मित्रबाट खाता ब्लक गर्ने, आम्दानीको स्रोत वा पेसासम्बन्धी विवरण परिवर्तन गर्ने, मोबाइल बैंकिङको पासवर्ड वा पिन परिवर्तन गर्ने, मोबाइल बैंकिङ ब्लक गर्ने तथा त्यसको अवस्था बुझ्नेजस्ता सेवा पनि लिन सकिनेछ ।
बैंकका अनुसार ग्राहकले खोजेको जानकारी तत्काल उपलब्ध हुन नसकेमा प्रणालीले स्वचालित रूपमा टिकट सिर्जना गर्नेछ । यसबाट ग्राहकका जिज्ञासा, सेवा अनुरोध तथा गुनासोको अनुगमन गर्न र समाधान प्रक्रियालाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
डिजिटल प्रविधिको प्रयोग विस्तार गर्दै ग्राहक सेवाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले यो प्रणाली सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । केएस मित्रले ग्राहकलाई बैंकिङ सेवामा सहज पहुँच प्रदान गर्नुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बैंकको विश्वास छ ।
आईसीटी समाचार