कीवर्डहरू -

अमेरिकी निर्वाचन आयोगको वेबसाइटमा साइबर आक्रमणको प्रयास, चुनावी खर्च विवरण प्रणाली ठप्प

अमेरिकी निर्वाचन आयोगको वेबसाइटमा साइबर आक्रमणको प्रयास, चुनावी खर्च विवरण प्रणाली ठप्प

काठमाडौं । अमेरिकाको संघीय निर्वाचन आयोग (एफईसी) को वेबसाइटमा अनधिकृत पहुँचको प्रयास भएपछि राजनीतिक दल तथा चुनावी अभियानको आर्थिक विवरण बुझाउने विद्युतीय प्रणाली अवरुद्ध भएको छ । नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचन नजिकिँदै गर्दा प्रणाली बन्द भएपछि चुनावी खर्चको पारदर्शिता र निगरानीमा चुनौती थपिएको छ ।

रोयटर्सले प्राप्त गरेको इमेलअनुसार, आयोगको प्रणालीमा अनधिकृत पहुँचको प्रयास भएपछि वेबसाइटका केही सेवा अस्थायी रूपमा बन्द गरिएका हुन् । आयोगले आफ्नो सूचना प्रविधि टोली प्रणाली पुन: सञ्चालनमा ल्याउन सक्रिय रहेको जनाएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा विद्युतीय फाइलिङ प्रणाली हाल बन्द रहेको र सेवा पुन:स्थापनाका लागि प्राविधिक टोलीले काम गरिरहेको उल्लेख छ । एफईसीको वेबसाइटमा प्रकाशित सूचनाअनुसार सोमबार राति करिब १० बजेदेखि प्रणाली अवरुद्ध भएको थियो ।

मंगलबार राति करिब ८ बजे जारी गरिएको अर्को सूचनामा समस्याको पहिचान भइसकेको र समाधान कार्यान्वयन भइरहेको जनाइएको थियो । तर, त्यसपछि पनि प्रणाली सञ्चालनमा आउन सकेको थिएन ।

अमेरिकी संघीय निर्वाचन आयोगले उम्मेदवार, राजनीतिक दल तथा राजनीतिक समितिहरूको चुनावी खर्चसम्बन्धी विवरण संकलन र सार्वजनिक गर्छ । प्रणाली अवरुद्ध भएपछि राजनीतिक समूहहरूले कानुनअनुसार २४ घण्टा र ४८ घण्टाभित्र बुझाउनुपर्ने खर्च विवरण समयमै दाखिला गर्न समस्या भएको छ । यद्यपि, आयोगको वेबसाइटमा यसअघि सार्वजनिक गरिएका विवरण भने खोज्न सकिने बताइएको छ ।

यस प्राविधिक समस्याले मतदातालाई मतदान गर्न वा निर्वाचन सञ्चालन गर्न प्रत्यक्ष असर नपार्ने जनाइएको छ । अमेरिकामा मतदान प्रक्रिया सञ्चालन गर्ने जिम्मेवारी एफईसीको नभए पनि आयोगको प्रणाली बन्द हुँदा चुनावी अभियानमा भइरहेको खर्चको समयमै निगरानी गर्न कठिन भएको छ ।

राजनीतिक वित्तीय अनुपालनसम्बन्धी संस्था एमबीए कन्सल्टिङ ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत स्टिभन मेलेले आफ्नो २६ वर्षको अनुभवमा यस्तो घटना पहिलोपटक देखेको बताएका छन् ।

यसैबीच, अमेरिकाको यसपटकको मध्यावधि निर्वाचन इतिहासकै सबैभन्दा महँगो हुने अनुमान गरिएको छ । राजनीतिक विज्ञापनको निगरानी गर्ने संस्था एडइम्प्याक्टका अनुसार निर्वाचनसम्बन्धी विज्ञापन र भविष्यका लागि बुकिङमा हालसम्म करिब ११ अर्ब २१ करोड अमेरिकी डलर खर्च भइसकेको छ । यो सन् २०२४ को निर्वाचनमा भएको करिब ११ अर्ब २० करोड डलर खर्चभन्दा बढी हो ।

निर्वाचनमा खर्च बढ्नुको एउटा प्रमुख कारण सुपर पीएसी र ‘डार्क मनी’ समूहहरूको बढ्दो सक्रियता हो । सुपर पीएसीले धनी व्यक्ति तथा कम्पनीबाट असीमित रकम संकलन गरी चुनावी अभियानलाई समर्थन गर्ने उद्देश्यले ठूलो रकम खर्च गर्न सक्छन् । यस्ता समूहको खर्च र त्यसको स्रोतबारे पारदर्शिता कायम राख्न निर्वाचनसम्बन्धी वित्तीय विवरण महत्त्वपूर्ण मानिन्छन् ।

गैरदलीय निर्वाचन निगरानी संस्था ओपनसेक्रेट्सका अनुसन्धान निर्देशक ब्रेन्डन ग्लाभिनका अनुसार पछिल्लो एक सातामा सुपर पीएसी र डार्क मनी समूहहरूले दैनिक औसत पाँच करोड डलरभन्दा बढी खर्च गरेका छन् । उनका अनुसार अक्टोबर २० मा मात्रै २५ करोड डलरभन्दा बढी खर्चसम्बन्धी विवरण सार्वजनिक भएको थियो ।

ग्लाभिनले प्रणाली अवरुद्ध हुँदा चुनावी अभियानमा कसले कति रकम खर्च गरिरहेको छ भन्ने जानकारी मतदाताले समयमै पाउन कठिन हुने बताएका छन् । निर्वाचनको अन्तिम चरणमा सार्वजनिक हुने खर्च विवरणले उम्मेदवार तथा राजनीतिक अभियानलाई आर्थिक सहयोग गर्ने पक्षबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

घटनाबारे अमेरिकी साइबर सुरक्षा तथा पूर्वाधार सुरक्षा निकाय (सीआईएसए) र संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले प्रश्नहरू निर्वाचन आयोगतर्फ पठाएका छन् । तर, प्रणालीमा भएको अवरोधको विस्तृत कारण, अनधिकृत पहुँचको प्रयासमा संलग्न पक्ष र सेवा पूर्ण रूपमा पुन:स्थापना हुने समयबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन ।