कीवर्डहरू -

सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

सरकारी वेबसाइटको सुरक्षा कडा बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन

काठमाडौं । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट तथा वेब एप्लिकेसनको सुरक्षा सुदृढ गर्न निर्देशन जारी गरेको छ । केन्द्रले Node.js रनटाइममा गम्भीर सुरक्षा कमजोरी पहिचान भएको जनाउँदै सम्बन्धित निकायलाई प्रयोगमा रहेका संस्करण जाँच गरी नवीनतम सुरक्षित संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको हो ।

केन्द्रका अनुसार पहिचान भएका कमजोरीको दुरुपयोग भएमा प्रणालीमा अनधिकृत पहुँच स्थापित हुने, सेवा अवरुद्ध हुने तथा सञ्चालन भइरहेका कार्यमा अनधिकृत नियन्त्रण कायम हुन सक्ने जोखिम छ । यस्ता जोखिम न्यूनीकरणका लागि आवश्यक सुरक्षा उपाय तत्काल अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

केन्द्रले बुधबार जारी गरेको परिपत्रमार्फत सरकारी वेबसाइटमा वैध SSL/TLS प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न पनि निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहत रहेको केन्द्रले संघीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पत्राचार गर्दै वेबसाइटको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न भनेको हो ।

निर्देशनअनुसार सबै सरकारी निकायले आफ्ना वेबसाइटमा प्रयोग भइरहेको SSL/TLS प्रमाणपत्रको वैधता तत्काल परीक्षण गर्नुपर्नेछ । प्रमाणपत्र नभएका वा म्याद सकिएका वेबसाइटमा आधिकारिक तथा विश्वसनीय निकायबाट प्रमाणपत्र प्राप्त गरी जडान र उचित कन्फिगरेसन गर्नुपर्नेछ ।

त्यसैगरी, वेबसाइट HTTPS मार्फत मात्र सञ्चालन हुने व्यवस्था मिलाउन तथा असुरक्षित TLS प्रोटोकलहरू निष्क्रिय गर्न केन्द्रले निर्देशन दिएको छ । वेबसाइटमा सुरक्षित डेटा आदानप्रदान सुनिश्चित गर्न TLS 1.2 वा TLS 1.3 प्रयोग गर्नुपर्ने पनि परिपत्रमा उल्लेख छ ।

SSL/TLS प्रमाणपत्रको म्याद सकिनुअघि नै नवीकरण गर्ने व्यवस्था मिलाउन, वेबसाइटमा देखिने सुरक्षा कमजोरी नियमित रूपमा पहिचान गरी समाधान गर्न तथा साइबर आक्रमणको जोखिम घटाउने अन्य आवश्यक सुरक्षा मापदण्ड उच्च प्राथमिकताका साथ लागू गर्न केन्द्रले आग्रह गरेको छ ।