कीवर्डहरू -

राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा

काठमाडौं । राजर्षिजनक विश्वविद्यालयले शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखासम्बन्धी सम्पूर्ण प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने घोषणा गरेको छ ।

विश्वविद्यालय स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा विद्यार्थीलाई अनलाइन माध्यमबाट सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र एकीकृत डिजिटल नेटवर्क लागू गर्ने योजना सार्वजनिक गरिएको हो ।

विश्वविद्यालयले डिजिटल प्रणालीको कार्यान्वयनसँगै प्रशासनिक कामकाजलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउने लक्ष्य लिएको छ । यसबाट विद्यार्थीले शैक्षिक तथा प्रशासनिक सेवा अनलाइनमार्फत प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयले स्कुल अफ हेल्थ साइन्सको प्रभावकारी सञ्चालन, रोकिएका भौतिक पूर्वाधार निर्माणलाई गति दिने र प्रयोगशालालाई प्रविधिमैत्री बनाउने योजना समेत अघि सारेको छ ।

साथै, श्रम बजारको माग र आवश्यकताअनुसार पाठ्यक्रम परिमार्जन गर्ने एजेन्डालाई पनि प्राथमिकतामा राखिएको छ । विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेले राष्ट्रिय झण्डा र विश्वविद्यालयको झण्डोत्तोलन गरी समारोहको उद्घाटन गरेका थिए । 

कार्यक्रममा प्रशासनिक ढिलासुस्ती अन्त्य गर्दै कार्यसम्पादनलाई चुस्त, प्रभावकारी र सेवामुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।