कीवर्डहरू -

कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप

कलदेखि भिडियो च्याटसम्मको सुविधा, सार्वजनिक भयो कलएक्सा एप

काठमाडौं । अपरिचित नम्बरबाट फोन आउँदा कसले र के प्रयोजनका लागि फोन गरेको हो भन्ने जानकारी पाउन सहज बनाउने उद्देश्यसहित नयाँ सञ्चार एप ‘कलएक्सा’ (Callexa) नेपालमा सार्वजनिक भएको छ ।

‘नो ह्वाई, बिफोर यु आन्सर’ अर्थात् ‘फोन उठाउनुअघि नै कसले र किन गरेको हो थाहा पाउनुहोस्’ भन्ने नारासहित विकसित एपले कलिङ, म्यासेजिङ, सामाजिक सञ्जाल र सामुदायिक सेवाहरूलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सन् २०२६ अक्टोबर १८ अर्थात् २०८३ कात्तिक १ गते औपचारिक रूपमा सार्वजनिक गरिएको एपले सुरुवाती चरणमै करिब दुई हजार प्रयोगकर्ता जोड्न सफल भएको कम्पनीले जनाएको छ ।

कलएक्साको मुख्य विशेषता फोन गर्ने व्यक्तिको पहिचान र फोन गर्नुको उद्देश्यबारे जानकारी उपलब्ध गराउनु हो । प्रयोगकर्ताले कसैलाई फोन गर्दा कल गर्नुको कारण उल्लेख गर्न सक्नेछन् । यसले फोन प्राप्त गर्ने व्यक्तिलाई कलको उद्देश्य बुझेर जवाफ दिने वा नदिने निर्णय गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।

एपमा पहिचान प्रमाणीकरणको सुविधा समेत राखिएको छ । यसबाट प्रमाणित पहिचान र अप्रमाणित जानकारीबीच फरक छुट्याउन प्रयोगकर्तालाई सहयोग पुग्ने कम्पनीको विश्वास छ ।

कलिङबाहेक एपमा च्याट, अडियो तथा भिडियो सञ्चारको सुविधा पनि उपलब्ध छ । प्रयोगकर्ताले पोस्ट, स्टोरी र रिल्समार्फत आफ्ना सामाग्री सार्वजनिक गर्न तथा अन्य व्यक्तिसँग अन्तरक्रिया गर्न सक्नेछन् ।

कलएक्सामा सामुदायिक उपयोगका लागि ‘ट्राभल टुगेदर’ र रक्तदानसम्बन्धी सुविधा पनि समावेश गरिएको छ । ट्राभल टुगेदरमार्फत यात्रामा रुचि राख्ने व्यक्तिहरूलाई जोड्ने र रक्तदान सुविधामार्फत रगत आवश्यक पर्ने व्यक्ति तथा रक्तदाताबीच सम्पर्क स्थापित गर्न सहयोग गर्ने उद्देश्य राखिएको छ ।

साथै, प्रयोगकर्ताका लागि सहायता तथा सहयोग सेवा पनि उपलब्ध गराइएको छ । अपरिचित नम्बरबाट आउने फोन, अनावश्यक कल र फोनको उद्देश्य थाहा नहुँदा उत्पन्न हुने समस्यालाई सम्बोधन गर्ने सोचका साथ एप विकास गरिएको संस्थापक जीवन राउतले बताएका छन् ।

उनका अनुसार सञ्चार केवल फोन उठाउने र कुरा गर्ने माध्यम मात्र नभई विश्वास र स्पष्टतामा आधारित हुनुपर्छ । प्रयोगकर्ताले फोन उठाउनुअघि नै फोन गर्ने व्यक्तिको पहिचान र उद्देश्यबारे जानकारी पाउन सकून् भन्ने अवधारणाबाट कलएक्सा निर्माण गरिएको हो ।

राउतले आगामी दिनमा प्रयोगकर्ताको सुझाव र प्रतिक्रियाका आधारमा एपलाई थप परिष्कृत गर्दै नेपालभर यसको प्रयोग विस्तार गर्ने योजना रहेको बताए । कलएक्सा एन्ड्रोइड र एप्पलका आईओएस दुवै प्लेटफर्ममा उपलब्ध छ ।

इच्छुक प्रयोगकर्ताले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमा ‘Callexa’ खोजेर एप डाउनलोड गर्न सक्नेछन् । यसको उपलब्धता भने सम्बन्धित क्षेत्रअनुसार फरक हुन सक्ने कम्पनीले जनाएको छ ।