कीवर्डहरू -

नेपालको पर्यटन विश्वभर चिनाउन कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरबाट आवेदन माग

नेपालको पर्यटन विश्वभर चिनाउन कन्टेन्ट क्रियटर, भिडियोग्राफर र फोटोग्राफरबाट आवेदन माग

काठमाडौं । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरलाई अभियानमा सहभागी गराउने भएको छ ।

बोर्डले नेपालको प्राकृतिक सौन्दर्य, हिमाली क्षेत्र, मौलिक कला–संस्कृति, परम्परा तथा कम प्रचारमा रहेका पर्यटकीय गन्तव्यलाई विश्वसामु चिनाउन इच्छुक सिर्जनाकर्मीबाट आवेदन आह्वान गरेको हो ।

अभियानअन्तर्गत सहभागीहरूले नेपालको पर्यटकीय सम्भावना झल्किने भिडियो, तस्बिर तथा अन्य डिजिटल सामाग्री तयार गर्नेछन् । त्यस्ता सामाग्रीमार्फत नेपालको विविधता र पर्यटकीय आकर्षणलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने बोर्डको योजना छ ।

नेपालका रमणीय पर्यटकीय स्थल, हिमाली दृश्य, स्थानीय जीवनशैली, कला, संस्कृति र परम्परालाई सिर्जनात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने व्यक्तिहरूलाई अभियानमा सहभागी गराइने बोर्डले जनाएको छ ।

यसका लागि इच्छुक ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरणका साथै सामाजिक सञ्जाल प्रोफाइल वा कामको नमुना समेटिएको पोर्टफोलियोको लिङ्कसहित आवेदन दिन सक्नेछन् ।

यस अभियानबाट डिजिटल माध्यमको उपयोग गर्दै नेपालको पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउने बोर्डको अपेक्षा छ ।