काठमाडौं । सरकारले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमा दक्ष बनाउने उद्देश्यले विशेष तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिसँगको सहकार्यमा तालिम आयोजना गर्न लागेको हो ।
तालिममा युवाहरूलाई च्याटजीपीटी, क्लाउडलगायत लोकप्रिय एआई टुलहरूको व्यावहारिक तथा प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइनेछ । यसका साथै उपयोगी प्रम्प्ट लेख्ने तरिका, एआईको सहायताले इमेल, टिपोट, बैठकका निर्णय तथा आकर्षक प्रस्तुति तयार गर्ने सीप समेत सिकाइने प्रतिष्ठानले जनाएको छ ।
त्यस्तै, एआई प्रयोग गरेर तस्वीर तथा छोटा भिडियो निर्माण गर्ने व्यावहारिक ज्ञान पनि प्रदान गरिनेछ । प्रतिष्ठानका अनुसार तालिम कात्तिक १८ र १९ गते सञ्चालन हुनेछ । दुई दिनसम्म चल्ने उक्त तालिममा देशभरबाट कुल २ हजार युवालाई सहभागी गराउने लक्ष्य राखिएको छ ।
तालिम दैनिक दुई सत्रमा सञ्चालन हुनेछ । बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म प्रशिक्षण दिइनेछ । तालिममा सहभागी हुन इच्छुक युवाहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
आईसीटी समाचार