कीवर्डहरू -

नेपालमा ISO/IEC 27001:2022 प्रमाणपत्र पाउने एकमात्र एचआरएमएस कम्पनी बन्यो RigoHR

नेपालमा ISO/IEC 27001:2022 प्रमाणपत्र पाउने एकमात्र एचआरएमएस कम्पनी बन्यो RigoHR

काठमाडौं । नेपालमा मानव संसाधन व्यवस्थापन (एचआरएमएस) तथा पेरोलसम्बन्धी सफ्टवेयर सेवा प्रदान गर्दै आएको RigoHR ले अन्तर्राष्ट्रिय सूचना सुरक्षा मापदण्ड ISO/IEC 27001:2022 प्रमाणपत्र प्राप्त गरेको छ । यो प्रमाणपत्र प्राप्त गरेसँगै RigoHR नेपालमा उक्त अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणित हुने एकमात्र एचआरएमएस कम्पनी बनेको छ ।

काठमाडौंमा आधारित RigoHR ले स्वतन्त्र निकायबाट गरिएको अडिटपछि उक्त प्रमाणपत्र प्राप्त गरेको हो । यसले कम्पनीले ग्राहक तथा कर्मचारीका संवेदनशील विवरण र व्यावसायिक तथ्यांकको सुरक्षा गर्न अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त मापदण्ड पालना गरेको पुष्टि गर्छ ।

ISO/IEC 27001:2022 सूचना सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी विश्वकै प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड हो । हालसम्म १५० भन्दा बढी देशमा यस मापदण्डअन्तर्गत ७० हजारभन्दा बढी प्रमाणपत्र जारी भइसकेका छन् । प्रमाणपत्र प्राप्त संस्थाहरूले प्रत्येक वर्ष निगरानी अडिट र प्रत्येक तीन वर्षमा पूर्ण पुन:प्रमाणीकरण प्रक्रियाबाट गुज्रनुपर्ने व्यवस्था छ ।

RigoHR का प्रविधि उपाध्यक्ष शंकर पोखरेलले कम्पनीले नेपालका ५०० भन्दा बढी उद्यमका लागि दैनिक रूपमा तलब, कर तथा कर्मचारीसम्बन्धी विवरण व्यवस्थापन गर्दै आएको बताए । उनका अनुसार ISO/IEC 27001:2022 प्रमाणपत्रले ग्राहक तथा बजारलाई कम्पनीले संवेदनशील तथ्यांकको व्यवस्थापन अन्तर्राष्ट्रिय स्तरमा स्वतन्त्र रूपमा प्रमाणित सुरक्षा मापदण्डअनुसार गरिरहेको विश्वास दिलाउनेछ ।

नेपालमा यो प्रमाणपत्र प्राप्त गर्ने पहिलो तथा एकमात्र एचआरएमएस कम्पनी बन्न पाउँदा गर्व लागेको उनले बताए । RigoHR ले एउटै डिजिटल प्लेटफर्ममार्फत तलब व्यवस्थापन, हाजिरी, बिदा व्यवस्थापन, कर तथा कर्मचारी सञ्चय कोष (CIT) गणना, कार्यसम्पादन मूल्यांकन र कर्मचारीसम्बन्धी प्रतिवेदनलगायत सेवा प्रदान गर्दै आएको छ ।

यी सबै सुविधा एउटै प्रणालीमा उपलब्ध गराएर कम्पनीले व्यवसायहरूलाई परम्परागत म्यानुअल प्रक्रियामा निर्भरता घटाउन र कर्मचारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सहयोग गर्दै आएको छ ।

सूचना सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउने क्रममा कम्पनीले SOC 2 Type II अनुपालनको प्रक्रिया पनि अघि बढाइरहेको छ । हाल कम्पनी उक्त मूल्यांकन प्रक्रियाको अवलोकन अवधिमा रहेको जनाएको छ । SOC 2 Type II प्रतिवेदनले कम्पनीका सुरक्षा नियन्त्रणहरू निश्चित समयावधिमा कसरी कार्यान्वयन भइरहेका छन् भन्ने विषयमा स्वतन्त्र प्रमाणीकरण प्रदान गर्नेछ ।