कीवर्डहरू -

अब जेमिनाईमै फाइल खोल्न र सम्पादन गर्न सकिने

अब जेमिनाईमै फाइल खोल्न र सम्पादन गर्न सकिने

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा फाइल हेर्न, खोल्न र सम्पादन गर्न सकिने नयाँ सुविधा थप गरेको छ । यससँगै प्रयोगकर्ताले जेमिनाईबाट तयार पारेका वा अपलोड गरेका फाइल डाउनलोड गरेर अन्य एपमा लैजानुपर्ने झन्झट हट्ने भएको छ ।

प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार नयाँ सुविधाले जेमिनाईलाई फाइल निर्माण गर्ने माध्यममा मात्र सीमित नराखी सम्पादन गर्ने उपकरणका रूपमा समेत विस्तार गरेको छ ।

यसअघि गुगलले गत अप्रिलमा जेमिनाईमार्फत गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनलगायतका फाइल तयार पार्न सकिने सुविधा सार्वजनिक गरेको थियो ।

नयाँ सुविधाअन्तर्गत प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति, स्प्रेडसिट तथा कोड फाइललगायतका सामाग्री जेमिनाई एपभित्रै खोलेर सम्पादन गर्न सक्नेछन् । फाइललाई पूर्ण स्क्रिनमा हेर्नुका साथै आवश्यक सामाग्री थपघट र परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका अतिरिक्त फाइलको कुनै निश्चित भाग छनोट गरी त्यसबारे जेमिनाईसँग प्रश्न गर्न, पाठ तथा दृश्य सामग्री परिवर्तन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएको सामाग्रीलाई प्रयोगकर्ताको आवश्यकता र प्राथमिकताअनुसार परिष्कृत गर्न सहज बनाउनेछ ।

तर, नयाँ सुविधाका सबै विकल्प मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध छैनन् । पीडीएफ फाइल हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा प्रयोग गर्न सकिन्छ ।

यद्यपि, गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी तथा कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ ।

गुगलका अनुसार यो सुविधा जेमिनाई प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । साथै, जेमिनाई एपले समर्थन गर्ने सबै भाषामा यसको प्रयोग गर्न सकिनेछ ।

नयाँ सुविधाले फाइल तयार पार्ने, त्यसमा सुधार गर्ने र अन्तिम रूप दिने प्रक्रियालाई एउटै प्लेटफर्ममा समेटेको छ । यसबाट प्रयोगकर्ताले जेमिनाईबाट सामाग्री तयार गरेपछि सम्पादनका लागि अन्य एपमा जानुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ ।