कीवर्डहरू -

राष्ट्र बैंकको फिन्टेक प्रदर्शनीमा २७ संस्थाका डिजिटल वित्तीय सेवा, कर्जा र वित्तीय पहुँचमा जोड

राष्ट्र बैंकको फिन्टेक प्रदर्शनीमा २७ संस्थाका डिजिटल वित्तीय सेवा, कर्जा र वित्तीय पहुँचमा जोड

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयोजना गरेको फिन्टेक नवप्रवर्तन प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था र प्रविधि कम्पनीका २७ संस्थाले आफ्ना डिजिटल वित्तीय सेवा तथा प्रविधि प्रदर्शन गरेका छन् ।

डिजिटल वित्तीय सेवाको विस्तार र प्रविधिमा आधारित नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले सोमबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा ‘एनआरबी फिन्टेक इनोभेसन शोकेस इभेन्ट २०२६’ आयोजना गरिएको हो ।

प्रदर्शनीमा डिजिटल बैंकिङ, डिजिटल भुक्तानी, डिजिटल कर्जा प्रवाह, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, वित्तीय ठगी तथा जोखिम व्यवस्थापन र प्रविधिमा आधारित नियमन (रेगटेक) सम्बन्धी सेवा तथा प्रविधि प्रस्तुत गरिएको थियो ।

राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था, फिन्टेक कम्पनीलगायत विभिन्न संस्थाका एक हजारभन्दा बढी प्रतिनिधिले प्रदर्शनीको अवलोकन गरेका थिए । कार्यक्रमको उद्घाटन राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले गरेका थिए ।

उद्घाटन सत्रमा उनले प्रविधिमा आधारित वित्तीय सेवाको प्रवर्द्धन राष्ट्र बैंकको प्राथमिकतामा रहेको बताए । नवप्रवर्तनलाई प्रोत्साहन गर्दै नियामकीय तथा सुपरिवेक्षकीय प्रणाली विकास गर्न राष्ट्र बैंकले काम गरिरहेको उनको भनाइ थियो ।

फिन्टेकको विस्तारसँगै वित्तीय क्षेत्रमा अवसर र चुनौती दुवै थपिएको उल्लेख गर्दै गभर्नर पौडेलले राष्ट्र बैंकको जिम्मेवारी पनि दोहोरो रहेको बताए । उनका अनुसार वित्तीय स्थायित्व, सुरक्षित भुक्तानी प्रणाली र ग्राहक संरक्षण सुनिश्चित गर्नुका साथै नयाँ प्रविधिबाट सिर्जना हुने जोखिमलाई सम्बोधन गर्नुपर्नेछ ।

उनले फिन्टेक क्षेत्रको विकासका लागि सरकार, नियामक निकाय, बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी र अन्य सरोकारवालाबीच समन्वय तथा सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा डेपुटी गभर्नर किरण पण्डितले फिन्टेक प्रवर्द्धनका लागि राष्ट्र बैंकले गरेका नीतिगत तथा संरचनागत प्रयासबारे जानकारी गराएका थिए । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारीले प्रदर्शनीको उद्देश्य र डिजिटल वित्तीय सेवाका लागि राष्ट्र बैंकले अवलम्बन गरेका नीतिगत व्यवस्थाबारे प्रस्तुति दिएका थिए ।

डिजिटल कर्जा र वित्तीय पहुँचबारे छलफल
प्रदर्शनीका अवसरमा ‘डिजिटल लेन्डिङ एन्ड क्रेडिट फर अन्डरसर्भ्ड’ विषयमा प्यानल छलफल समेत आयोजना गरिएको थियो । फिन्टेक अलायन्स नेपालका मनोज घिमिरेले सहजीकरण गरेको छलफलमा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक निश्चल अधिकारी, ग्लोबल आईएमई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र फिन्टेक अलायन्स नेपालका अध्यक्ष अमित अग्रवाल सहभागी थिए ।

छलफलमा डिजिटल माध्यमबाट कर्जा प्रवाह तथा वित्तीय सेवाको पहुँच विस्तार गर्ने विषयलाई केन्द्रमा राखिएको थियो । विशेष गरी परम्परागत वित्तीय सेवाको पहुँच कम भएका व्यक्ति तथा समूहलाई प्रविधिको माध्यमबाट कर्जा र वित्तीय सेवा उपलब्ध गराउने विषयमा छलफल भएको थियो ।

कार्यक्रममा डेपुटी गभर्नर दीर्घबहादुर रावल, राष्ट्र बैंकका उच्च अधिकारी, बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सरकारी निकायका प्रतिनिधि, भुक्तानी प्रणाली सञ्चालक तथा फिन्टेक कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।

फिन्टेक रणनीति कार्यान्वयनमा जोड
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘फिन्टेक रणनीति फर डिजिटल फाइनान्सियल सर्भिसेज (२०२६/२७–२०३०/३१)’ ले फिन्टेक क्षेत्रमा आबद्ध नवप्रवर्तक तथा सरोकारवालाबीच समन्वय र सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ ।

सोही रणनीति कार्यान्वयनका क्रममा राष्ट्र बैंकले डिजिटल वित्तीय नवप्रवर्तन केन्द्र (डिजिटल फाइनान्स इनोभेसन हब–डिफी हब) र नियामकीय परीक्षण संरचना (रेगुलेटरी स्यान्डबक्स) लाई प्रभावकारी बनाउने उद्देश्यले ‘एनआरबी फिन्टेक नेक्सस’ संयन्त्र तयार गरेको छ ।

यसै संयन्त्रअन्तर्गत प्रदर्शनी आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ । आगामी दिनमा फिन्टेक कार्यशाला, ह्याकाथन र नवप्रवर्तन चुनौतीजस्ता कार्यक्रम सञ्चालन गर्ने पनि राष्ट्र बैंकको योजना छ ।

प्रदर्शनीले वित्तीय क्षेत्रमा विकास भइरहेका प्रविधि र सेवाबारे जानकारी आदानप्रदान गर्ने तथा बैंक, वित्तीय संस्था र प्रविधि कम्पनीबीच सहकार्य विस्तार गर्ने अवसर प्रदान गरेको राष्ट्र बैंकको भनाइ छ ।