कीवर्डहरू -

त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै, विद्यार्थीलाई लाइन बस्नुपर्ने झन्झट हट्ने

त्रिविका शैक्षिक प्रमाणपत्र अब हुलाकबाटै, विद्यार्थीलाई लाइन बस्नुपर्ने झन्झट हट्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र तथा अन्य आवश्यक कागजात प्राप्त गर्न विश्वविद्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउने भएको छ । विश्वविद्यालयले अब आफ्ना विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र र कार्यालयीय कागजात हुलाक सेवामार्फत सम्बन्धित विद्यार्थीको घरमै पुर्‍याउने व्यवस्था गर्न लागेको हो ।

यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ । सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार विश्वविद्यालयबाट जारी हुने प्रमाणपत्र तथा अन्य कागजात विद्यार्थीले उपलब्ध गराएको फोन नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सुरक्षित रूपमा सम्बन्धित व्यक्तिसम्म पुर्‍याइनेछ । यसले प्रमाणपत्र लिनका लागि विश्वविद्यालयमा पटक–पटक धाउनुपर्ने झन्झट कम गर्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा कागजातको ढुवानी तथा वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन २२ बुँदा समेटिएका छन् । प्रमाणपत्र तथा अन्य हुलाक वस्तुलाई ट्र्याकिङ बारकोडसहित Postal Tracking System (PITS) मा दर्ता गरिने व्यवस्था गरिएको छ । यसबाट पठाइएका कागजातको अवस्था र वितरण प्रक्रिया अनुगमन गर्न सकिनेछ ।

कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै रजिस्ट्रार डा. शिवाकोटीले विश्वविद्यालयका सेवालाई हुलाक प्रणालीसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना कार्यान्वयनमा आएको बताउनुभयो ।

त्यसैगरी, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवा नागरिक र राज्यबीचको महत्वपूर्ण सम्पर्क माध्यम भएको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयका कागजात घरघरमा पुर्‍याउने जिम्मेवारी प्राप्त हुनु खुसीको विषय भएको बताउनुभयो ।

यस व्यवस्थाले विशेष गरी विश्वविद्यालयबाट टाढा रहेका विद्यार्थीलाई प्रमाणपत्र प्राप्त गर्न सहज हुने तथा समय र खर्च समेत बचत हुने अपेक्षा गरिएको छ ।