काठमाडौं । प्रविधि कम्पनी मेटाले आफ्नो एआई एजेन्ट ‘म्युज’मा भ्वाइस च्याट र भिडियो कल गर्ने सुविधा अमेरिकाका सबै प्रयोगकर्ताका लागि खुला गरेको छ। कम्पनीले बिहीबार नयाँ सुविधाबारे जानकारी दिँदै प्रयोगकर्ताले अब डिजिटल अवतारसँग प्रत्यक्ष संवाद गर्न सक्ने जनाएको हो ।
मेटाले गत सेप्टेम्बरमा आयोजित ‘कनेक्ट’ डेभलपर सम्मेलनमा पहिलोपटक यस प्रविधिको झलक सार्वजनिक गरेको थियो । यस सुविधालाई सञ्चालन गर्न कम्पनीले ‘म्युज रियलटाइम अवतार’ र ‘म्युज रियलटाइम भ्वाइस’ नामका दुई नयाँ एआई मोडेल विकास गरेको छ । यी मोडेलले प्रयोगकर्तासँग वास्तविक समयमै संवाद गर्न सक्ने डिजिटल अवतार तयार पार्छन् ।
अन्य प्रविधि कम्पनीका एआई सेवामा पनि भ्वाइस च्याटको सुविधा उपलब्ध भए पनि मेटाको म्युजमा एनिमेटेड अवतारलाई समेत समावेश गरिएको छ । ‘जोली’ नाम दिइएको यो अवतारसँग प्रयोगकर्ताले बोलेर प्रश्न सोध्न, विभिन्न विषयमा छलफल गर्न र आवश्यक काम गर्न निर्देशन दिन सक्नेछन् ।
म्युजको अर्को विशेषता भनेको अवतारलाई आफूअनुकूल परिवर्तन गर्न सक्नु हो । प्रयोगकर्ताले आफ्नो इच्छाअनुसार यसलाई मानिस, जनावर वा अन्य काल्पनिक पात्रको स्वरूप दिन सक्नेछन् । कम्पनीका अनुसार अवतारलाई मानवीय रूप र हाउभाउ दिँदा प्रयोगकर्ताले एआईसँगको संवादलाई थप आत्मीय र स्वाभाविक रूपमा अनुभव गर्न सक्छन् ।
म्युजले कुराकानीको विषय र भावअनुसार अनुहारको हाउभाउ तथा शारीरिक संकेत समेत प्रस्तुत गर्नेछ । यसले प्रयोगकर्ताको आवाज सुनेर जवाफ दिन्छ, तर हालको अवस्थामा प्रयोगकर्तालाई प्रत्यक्ष देख्न भने सक्दैन ।
यो सुविधा सार्वजनिक भएको जानकारी मेटाका प्रमुख एआई अधिकृत अलेक्जान्डर वाङले आफ्नो ब्लग पोस्ट र सामाजिक सञ्जाल एक्समार्फत दिएका हुन् । उनले म्युजसँग प्रत्यक्ष कुराकानी गरेको एउटा नमुना भिडियो पनि सार्वजनिक गरेका छन् ।
टेकक्रञ्चका अनुसार उक्त भिडियोमा वाङले एक्समा मिम (हास्यात्मक तस्बिर वा सामाग्री) पोस्ट गर्ने आफ्नो बानीका कारण कार्यालयमा समस्या पर्न सक्ने भन्दै म्युजसँग ठट्टा गरेका छन् । त्यसको जवाफमा सेतो रौँ भएको कुकुरको स्वरूपमा देखिएको एआई अवतारले मेटाले विवादास्पद सामग्रीलाई समर्थन गरेको अर्थ लाग्न सक्ने भएकाले त्यस्ता मिमसँगै स्पष्ट पार्ने सूचना राख्न सुझाव दिएको थियो ।
मेटाले म्युजमा नयाँ सुविधा थपेको घोषणा यस्तो एआई एजेन्ट प्रयोग गर्न सकिने टामागोची शैलीको पहिरनयोग्य उपकरण सार्वजनिक गर्ने तयारी भइरहेका बेला गरेको हो । कम्पनीले उक्त उपकरण यसै वर्षको अन्त्यसम्म बजारमा ल्याउने लक्ष्य राखेको छ ।
उक्त उपकरणमा जडान गरिएको सानो स्क्रिनमा म्युजको डिजिटल अवतार देखिनेछ । प्रयोगकर्ताले उपकरणमार्फत अवतारसँग कुराकानी गर्न सक्नेछन् । साथै, प्रयोगकर्ताका निर्देशनअनुसार जवाफ दिनुका अतिरिक्त विभिन्न काम समेत गर्न सक्ने गरी एआई एजेन्टलाई विकास गरिँदै छ ।
यससँगै मेटाले एआईलाई केवल प्रश्नको जवाफ दिने माध्यममा सीमित नराखी प्रयोगकर्तासँग प्रत्यक्ष संवाद र दैनिक काममा सहयोग गर्ने डिजिटल साथीका रूपमा विस्तार गर्न खोजेको देखिन्छ ।
आईसीटी समाचार