कीवर्डहरू -

एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा

एनभिडियाका सीईओदेखि उन्नत चिपसम्म चीनमाथि जासुसीको आशंका, अमेरिकी अनुसन्धानमा नयाँ खुलासा

काठमाडौं । अमेरिकी गुप्तचर निकायको एक गोप्य प्रतिवेदनमा विश्वप्रसिद्ध चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङमाथि चीनले निगरानी गरिरहेको दाबी गरिएको छ । प्रतिवेदनअनुसार सिंगापुरमा मुख्यालय रहेको प्रविधि कम्पनी मेगास्पिडकी कार्यकारी अधिकारी एलिस हुआङलाई जेन्सेनमाथि जासुसी गर्न चीनले परिचालन गरेको आशंका गरिएको छ ।

विभिन्न सञ्चारमाध्यमले सार्वजनिक गरेका विवरणअनुसार चीनको राज्य सुरक्षा मन्त्रालयले एलिसलाई जेन्सेनको गतिविधिबारे सूचना संकलन गर्न भर्ती गरेको अमेरिकी गुप्तचर प्रतिवेदनमा उल्लेख छ ।

यस विषयमा सबैभन्दा पहिले गत नोभेम्बर ६ मा द न्युयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । उक्त पत्रिकाले यसअघि पनि एनभिडियाका प्रमुख चिनियाँ गुप्तचर निकायको निगरानीमा रहेको दाबीसहितको समाचार सार्वजनिक गरेको थियो ।

फाइनान्सियल टाइम्सका अनुसार अमेरिकी गुप्तचर प्रतिवेदनमा जेन्सेन हुआङ र एलिस हुआङबीच प्रेम सम्बन्ध रहेको दाबीसमेत गरिएको छ । यस विषयमा एनभिडियाका प्रवक्ताले न्युयोर्क टाइम्ससँग कुरा गर्दै जेन्सेन र एलिसबीच भेटघाट तथा कुराकानी हुनु असामान्य नभएको बताएका छन् ।

यद्यपि, कम्पनीले आफ्ना ग्राहकसँग गोप्य सरकारी सूचना साझा नगर्ने उनको भनाइ छ । यसैबीच, न्युयोर्क टाइम्सले अमेरिकाको वाणिज्य मन्त्रालयबाट एनभिडियाका उन्नत चिप खरिद गर्ने अनुमति पाएको चिनियाँ कम्पनी ‘न्यु म्याट्रिक्स’ को गतिविधिबारे छुट्टै अनुसन्धानात्मक समाचार पनि प्रकाशित गरेको छ ।

समाचारअनुसार उक्त कम्पनीले आफ्नो कार्यालयका रूपमा उल्लेख गरेको ठेगानामा पत्रकारहरू पुग्दा त्यहाँ नियमित कार्यालय सञ्चालनमा रहेको कुनै स्पष्ट संकेत भेटिएन । बरु खाली रित्तो भवनजस्तो संरचना मात्र फेला परेको थियो ।

यस घटनाले ‘न्यु म्याट्रिक्स’ प्रतिबन्धित निजी लगानी कम्पनीको आवरणमा सञ्चालन भइरहेको हुन सक्ने आशंका उत्पन्न गरेको छ । यता, एनभिडियाका प्रवक्ताले भने कम्पनीले आफ्नो सबैभन्दा उत्कृष्ट र ठूलो हिस्सा रहेको प्रविधि अमेरिकामै बिक्री गर्ने गरेको बताएका छन् ।