काठमाडौं । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU) को महासम्मेलन (Plenipotentiary Conference 2026, PP-26) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना कतारको राजधानी दोहा पुग्नुभएको छ ।
नोभेम्बर ९ देखि २७ सम्म दोहास्थित Doha Exhibition and Convention Center (DECC) मा आयोजना हुने महासम्मेलनमा सहभागी हुन नोभेम्बर ७ मा दोहा पुग्नुभएका मन्त्री तिमिल्सिनालाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राई तथा दूतावासका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
कतारमा मन्त्रीस्तरीय गोलमेच बैठकमा सहभागिता
नोभेम्बर ८ मा मन्त्री तिमिल्सिनाले कतारका सञ्चार तथा सूचना प्रविधिमन्त्री र कतारको सञ्चार नियामक प्राधिकरण (CRA) द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच बैठकमा सहभागिता जनाउनुभएको थियो ।
बैठकमा महासम्मेलनका प्रमुख कार्यसूची तथा दूरसञ्चार क्षेत्रका साझा सरोकारका विषयमा विभिन्न देशका मन्त्रीहरूबीच विचार आदानप्रदान भएको थियो । बैठकले महासम्मेलनमा प्रस्तुत गरिने दोहा घोषणापत्रका लागि सुझाव तथा दृष्टिकोण पेश गर्ने अवसर प्रदान गरेको थियो ।
मन्त्री तिमिल्सिनाले सोही दिन DECC मा आयोजित प्रतिनिधिमण्डल प्रमुखहरूको बैठकमा समेत सहभागिता जनाउनुभएको थियो ।
नेपाली राजदूतावासको भ्रमण तथा सेवा प्रवाह सुधारमा जोड
कतार भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले दोहास्थित नेपाली राजदूतावासको भ्रमण गरी दूतावासका गतिविधि तथा नेपाल–कतार द्विपक्षीय सम्बन्धका विषयमा जानकारी लिनुभएको थियो । भेटका क्रममा कार्यवाहक राजदूत कुमार राईले दूतावासका गतिविधि तथा सम्बन्धित द्विपक्षीय सम्बन्धको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
मन्त्री तिमिल्सिनाले कतारमा बसोबास गर्ने नेपाली नागरिकलाई छिटोछरितो, प्रभावकारी र सेवाग्राहीमैत्री सेवा उपलब्ध गराउन दूतावासका अधिकारीहरूलाई निर्देशन दिनुभयो । उहाँले सेवा प्रवाहलाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम उपयोग गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
यसै क्रममा मन्त्री तिमिल्सिनाले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारलगायत कतारमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्नुभएको थियो ।
महासम्मेलनमा नेपालको प्रतिनिधित्व
मन्त्री तिमिल्सिनाको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे, कतारस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कुमार राई, नेपाल दूरसञ्चार कम्पनी लिमिटेडकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा नेपाल सरकारका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।
हरेक चार वर्षमा आयोजना हुने ITU Plenipotentiary Conference अन्तर्राष्ट्रिय दूरसञ्चार संघको सर्वोच्च नीति निर्माण गर्ने निकाय हो । महासम्मेलनले संघका समग्र नीति तथा चारवर्षीय रणनीतिक र वित्तीय योजना तय गर्नुका साथै संघको उच्च व्यवस्थापन, ITU परिषद्का सदस्य राष्ट्रहरू तथा रेडियो नियमावली बोर्डका सदस्यहरूको निर्वाचन गर्दछ ।
यस महासम्मेलनमा नेपालको सहभागिताले विश्वव्यापी दूरसञ्चार नीति निर्माणका प्रक्रियामा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय सहकार्य र अनुभव आदानप्रदानका अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार