कीवर्डहरू -

अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर

अब ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि पठाउन सकिनेछ पार्टी र विवाहको निम्तो, आयो नयाँ फिचर

काठमाडौं । पार्टी, विवाह, पारिवारिक जमघट वा अन्य कुनै कार्यक्रम आयोजना गर्दा पाहुनालाई निम्तो दिन र उनीहरूको उपस्थिति सुनिश्चित गर्न अब थप सहज हुने भएको छ । मेटाले ह्वाट्सएपको इभेन्ट्स (WhatsApp Events) सुविधामा नयाँ अपडेट ल्याएको छ । यससँगै ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई समेत इभेन्टको निमन्त्रणा लिंक पठाउन सकिने भएको छ ।

नयाँ सुविधाअनुसार कार्यक्रम आयोजकले तयार पारेको निमन्त्रणा लिंक ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिसँग पनि सेयर गर्न सक्नेछन् । उक्त लिंक प्राप्त गर्ने व्यक्तिले ब्राउजरमार्फत कार्यक्रमको विवरण हेर्नुका साथै आफू सहभागी हुने वा नहुनेबारे जानकारी (आरएसभीपी) दिन सक्नेछन् । यसका लागि ह्वाट्सएप डाउनलोड गर्न वा खाता खोल्नुपर्ने छैन ।

इभेन्ट व्यवस्थापनका लागि छुट्टै सेक्सन
नयाँ अपडेटसँगै ह्वाट्सएपले कार्यक्रम व्यवस्थापन गर्न छुट्टै सेक्सन पनि उपलब्ध गराउने भएको छ । सेटिङ्समा रहेको ‘इभेन्ट्स होम’ सेक्सनबाट प्रयोगकर्ताले आफूले आयोजना गरेका पुराना तथा आगामी कार्यक्रम र अरूले पठाएका निमन्त्रणाहरू हेर्न सक्नेछन् ।

यस सेक्सनमार्फत आयोजकले आकर्षक निमन्त्रणा तयार पार्न, पाहुनाको जवाफ हेर्न र उनीहरूलाई कार्यक्रमबारे रिमाइन्डर पठाउन सक्नेछन् । साथै, नयाँ अपडेटमा ‘प्लस वन’ (Plus-One) विकल्प पनि समावेश गरिएको छ । यसबाट निमन्त्रणा प्राप्त गर्ने व्यक्तिले आफू अर्को एक जना साथी वा आफन्तसँग कार्यक्रममा सहभागी हुने वा नहुने जानकारी दिन सक्नेछन् ।

ह्वाट्सएप नभएकालाई कसरी पठाउने निमन्त्रणा ?
ह्वाट्सएप प्रयोग नगर्ने व्यक्तिलाई पनि निमन्त्रणा पठाउन आयोजकले सबैभन्दा पहिले ह्वाट्सएपमा इभेन्ट तयार गर्नुपर्नेछ । त्यसपछि कार्यक्रममा कभर फोटो राखेर निमन्त्रणा लिंक बनाउन सकिनेछ ।

तयार भएको लिंक अन्य व्यक्तिसँग सेयर गर्न सकिन्छ । लिंक प्राप्त गर्ने व्यक्तिले ब्राउजरमा खोलेर कार्यक्रमको विवरण हेर्न र आफ्नो सहभागिताबारे जवाफ दिन सक्नेछन् । यसका लागि छुट्टै एप डाउनलोड गर्नुपर्ने वा ह्वाट्सएपमा खाता बनाउनुपर्ने छैन ।

फोन नम्बर र कार्यक्रमको विवरण पनि सुरक्षित
नयाँ सुविधामा गोपनीयतालाई समेत प्राथमिकता दिइएको ह्वाट्सएपले जनाएको छ । आयोजकले व्यक्तिगत रूपमा नचिनेका पाहुनालाई उनको फोन नम्बर देखाइने छैन । त्यस्तै, ह्वाट्सएप खाता नभएका व्यक्तिले निमन्त्रणा लिंक खोलेर कार्यक्रमको विवरण हेर्न सक्ने भएपनि कार्यक्रमको स्थान भने आरएसभीपीमार्फत आफ्नो सहभागिता पुष्टि गरेपछि मात्रै देखिनेछ ।

कम्पनीका अनुसार प्रयोगकर्ताका निजी सन्देश र कल पहिलेझैँ एन्ड-टु-एन्ड इन्क्रिप्सन (End-to-End Encryption) मार्फत सुरक्षित रहनेछन् । नयाँ इभेन्ट सेयरिङ सुविधाले यस सुरक्षा प्रणालीमा कुनै परिवर्तन गर्ने छैन ।

ह्वाट्सएपले नयाँ अपडेट सार्वजनिक गरिसकेको छ । आगामी केही साताभित्र यो सुविधा सबै प्रयोगकर्तामाझ उपलब्ध गराउने कम्पनीको योजना छ । यस सुविधाले ह्वाट्सएप प्रयोग गर्ने र नगर्ने दुवै समूहका व्यक्तिलाई एउटै कार्यक्रममा सहभागी गराउन तथा कार्यक्रम व्यवस्थापन गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।