कीवर्डहरू -

विवाहेत्तर सम्बन्धदेखि जासुसीको आरोपसम्म, एनभिडिया प्रमुख जेन्सेन ह्वाङ किन विवादमा ?

विवाहेत्तर सम्बन्धदेखि जासुसीको आरोपसम्म, एनभिडिया प्रमुख जेन्सेन ह्वाङ किन विवादमा ?

काठमाडौं । चीनको वित्तीय क्षेत्रमा करिअर सुरु गरेकी एलिस ह्वाङ अहिले विश्वकै चर्चित प्रविधि कम्पनी एनभिडिया र अमेरिकी गुप्तचर अनुसन्धानसँग जोडिएर चर्चामा आएकी छन् ।

चिनियाँ गुप्तचर संयन्त्रसँग सम्बन्ध रहेको आशंकामा अमेरिकी अधिकारीहरूले उनीमाथि अनुसन्धान गरिरहेको खबर सार्वजनिक भएपछि एनभिडियाका सीईओ जेन्सेन ह्वाङसँगको उनको सम्बन्ध पनि विवादको विषय बनेको छ ।

चिनियाँ नाम ह्वाङ लेबाट समेत चिनिने एलिसले सांघाईको लगानी व्यवस्थापन क्षेत्रमा उच्च पदमा काम गरेकी थिइन् । पछि उनी सिंगापुरमा दर्ता भएको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिड इन्टरनेसनलकी प्रमुख सेयरधनी बनेको तथ्य सार्वजनिक भएको छ ।

रोयटर्सले ३० भन्दा बढी सार्वजनिक वित्तीय अभिलेख, कम्पनी दर्ताका कागजात र व्यावसायिक विवरण अध्ययन गर्दै एलिसको पृष्ठभूमि सार्वजनिक गरेको हो ।एनभिडियाले आफ्नो वेबसाइटमा मेगास्पिडलाई क्लाउड साझेदारका रूपमा सूचीकृत गरेको छ ।

उक्त कम्पनीले अमेरिकी निर्यात प्रतिबन्धमा रहेका उन्नत एआई चिप चीन पुर्‍याउन सहयोग गरेको हुन सक्ने आशंकामा अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको न्युयोर्क टाइम्सले जनाएको थियो ।

यस प्रकरणमा एलिस र जेन्सेनबीचको सम्बन्धले थप चर्चा पाएको छ । उनीहरूबीच पारिवारिक नाता भने छैन । सन् २०२४ मा ताइवानको सर्भर निर्माता कम्पनी गिगाबाइटले आयोजना गरेको कार्यक्रममा दुवै जना सहभागी भएको र सँगै बसेको तस्बिर समेत सार्वजनिक भएको छ ।

न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीहरूले एलिसलाई चिनियाँ गुप्तचर संयन्त्रको सहयोगीका रूपमा निष्कर्ष निकालेको र उनले जेन्सेनसँग निकटता बढाएर बेइजिङलाई सूचना उपलब्ध गराएको दाबी गरेको थियो । तर, रोयटर्सले यी आरोप स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको स्पष्ट पारेको छ । चीनले पनि आरोप अस्वीकार गरेको छ ।

वित्तीय क्षेत्रबाट चिप कारोबारसम्मको यात्रा
करिब ४२ वर्षीया एलिसले बैंकिङ तथा लगानी व्यवस्थापन क्षेत्रबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेकी थिइन् । चिनियाँ वित्तीय प्रकाशन कैक्सिनका अनुसार उनले सांघाईस्थित हेक्सी इन्भेस्टमेन्ट म्यानेजमेन्टमा उपमहाप्रबन्धक, कार्यकारी निर्देशक तथा लगानी निर्णय समितिको सदस्यका रूपमा काम गरेकी थिइन् ।

यसअघि उनले हङकङस्थित एचएसबीसीको निजी बैंकिङ विभाग र सीआईटीआईसी सेक्युरिटिजमा समेत काम गरेको विवरण सार्वजनिक भएको छ । सन् २०१५ मा स्थापना भएको मेगास्पिडमा उनी सन् २०२३ मा नियन्त्रणकारी सेयरधनी बनेकी थिइन् । उनले कम्पनीको इन्डोनेसियास्थित सहायक संस्थामा सञ्चालक तथा प्रबन्ध निर्देशकको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

चीनतर्फ चिप आपूर्तिको आशंका
अमेरिकी अधिकारीहरूको चासोको मुख्य विषय मेगास्पिडमार्फत एनभिडियाका प्रतिबन्धित चिप चीनसम्म पुगेको हुन सक्ने आशंका हो । रोयटर्सले प्राप्त गरेको ढुवानी विवरणअनुसार मेगास्पिडको इन्डोनेसियास्थित सहायक कम्पनीले सन् २०२४ देखि २०२६ सम्म एनभिडियाका विभिन्न हार्डवेयर आयात गरेको देखिन्छ । तीमध्ये अमेरिकाले चीन निर्यातमा प्रतिबन्ध लगाएको एच १०० प्रोसेसर पनि समावेश छन् ।

तर, इन्डोनेसियामा चिप आयात भएको तथ्यले मात्रै अमेरिकी निर्यात नियन्त्रण उल्लंघन भएको प्रमाणित गर्दैन । यसैबीच, एनभिडियाको सञ्चालक समितिले जेन्सेन विदेशी गुप्तचर गतिविधिको निशानामा परेको भन्ने समाचारबारे स्वतन्त्र अनुसन्धान थालेको छ । कम्पनीले भने संवेदनशील व्यापारिक वा राष्ट्रिय सुरक्षासम्बन्धी सूचना चुहावट भएको विश्वास गर्ने आधार नरहेको जनाएको छ ।

जेन्सेनसँग अमेरिकी सांसदहरूले मागे स्पष्टीकरण
एलिससँगको सम्बन्ध र गुप्तचर गतिविधिसम्बन्धी आरोप सार्वजनिक भएपछि अमेरिकी सांसदहरूले जेन्सेनसँग जवाफ माग्न थालेका छन् । उनीहरूलाई विशेषगरी जेन्सेनलाई एलिसको वास्तविक पहिचानबारे जानकारी थियो कि थिएन र कम्पनीका गोप्य सूचना चुहावट भए कि भएनन् भन्ने विषयमा चासो छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यस विषयमा एफबीआईले अनुसन्धान गरिरहेको बताएका छन् । उनले जेन्सेनसँग कुराकानी गरेको र एलिस जासुस भएकोबारे आफूलाई जानकारी नभएको उल्लेख गरेका छन् ।

जेन्सेनले कर्मचारीलाई पठाएको सन्देशमा आफ्नी पत्नीप्रति बेइमानी गरेको स्वीकार गर्दै माफी मागेको विवरणसमेत सार्वजनिक भएको छ । यद्यपि, उनले आफू अमेरिकी राष्ट्रिय सुरक्षाप्रति प्रतिबद्ध रहेको बताएका छन् । एलिस अहिले कहाँ छिन् भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । रोयटर्सले उनीसँग प्रतिक्रिया लिन नसकेको जनाएको छ ।

यस प्रकरणले विश्वको अग्रणी एआई चिप निर्माता एनभिडियाको व्यावसायिक सम्बन्ध, अमेरिकी निर्यात नियन्त्रण र चीन–अमेरिका प्रविधि प्रतिस्पर्धालाई नयाँ विवादमा तानेको छ । आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी रहेपनि अमेरिकी अधिकारी र सांसदहरूको निगरानी भने बढेको छ ।