कीवर्डहरू -

एआईको बढ्दो क्रेजले चीनको अर्थतन्त्रलाई ठूलो फाइदा, व्यापार बचत १० खर्ब डलर पार

एआईको बढ्दो क्रेजले चीनको अर्थतन्त्रलाई ठूलो फाइदा, व्यापार बचत १० खर्ब डलर पार

काठमाडौं । विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) पूर्वाधार निर्माणमा लगानी बढेसँगै चीनको निर्यात व्यापारले नयाँ गति लिएको छ । चालु वर्षको पहिलो १० महिनामै चीनको व्यापार बचत १० खर्ब अमेरिकी डलर नाघेको छ । सेमिकन्डक्टर र उच्च प्रविधिजन्य वस्तुको माग बढ्दा चीनले यो उपलब्धि अघिल्लो वर्षभन्दा एक महिना अगावै हासिल गरेको हो ।

चीनको भन्सार प्रशासनले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ जनवरीदेखि अक्टोबरसम्म देशको व्यापार बचत १.०४ ट्रिलियन डलर पुगेको छ । रोयटर्सका अनुसार सन् २०२५ मा पनि चीनको व्यापार बचत १० खर्ब डलर नाघेको थियो । तर त्यस वर्ष यो उपलब्धि नोभेम्बरमा मात्रै हासिल भएको थियो ।

अक्टोबरमा चीनको निर्यात गत वर्षको सोही अवधिको तुलनामा ३५.२ प्रतिशतले बढेको छ । यो वृद्धि अर्थशास्त्रीहरूले अनुमान गरेको ३३.५ प्रतिशतभन्दा बढी हो । सेप्टेम्बरमा निर्यात वृद्धिदर ३६.३ प्रतिशत रहेको थियो ।

आयातमा समेत उल्लेख्य सुधार देखिएको छ । अक्टोबरमा चीनको आयात वार्षिक रूपमा ४१.६ प्रतिशतले बढेको छ, जबकि अर्थशास्त्रीहरूले ३२ प्रतिशतको वृद्धि अनुमान गरेका थिए । सेप्टेम्बरमा आयात वृद्धि ३१ प्रतिशत थियो ।

चीनको निर्यात विस्तारमा एआई प्रविधिको बढ्दो मागले महत्त्वपूर्ण भूमिका खेलेको छ । विश्वभर डेटा सेन्टर र एआई पूर्वाधार निर्माणमा लगानी बढ्दा चिनियाँ सेमिकन्डक्टर तथा उच्च प्रविधिजन्य उपकरणको बिक्री तीव्र भएको हो । पहिलो १० महिनामा चीनको सेमिकन्डक्टर निर्यात १११.१ प्रतिशतले बढेको छ भने उच्च प्रविधिजन्य वस्तुको निर्यातमा ४७.९ प्रतिशतको वृद्धि भएको छ ।

तर निर्यात व्यापारमा देखिएको यो उत्साहको विपरीत चीनको घरेलु अर्थतन्त्र भने दबाबमा छ । घर जग्गा कारोबारमा लामो समयदेखि जारी मन्दी र कमजोर उपभोगका कारण आन्तरिक बजारमा माग बढ्न सकेको छैन । उपभोक्ताको खर्च गर्ने क्षमता र आर्थिक विश्वास कमजोर हुँदा चिनियाँ उत्पादकहरू विदेशी बजारमा बढी निर्भर हुन थालेका छन् ।

चीनको निर्यातमा तीव्र वृद्धिले अमेरिका र युरोपेली संघसँगको व्यापारिक तनाव समेत बढाउने जोखिम देखिएको छ । युरोपेली नेताहरूले चिनियाँ वस्तुको बढ्दो आयात नियन्त्रण गर्न थप व्यापारिक उपाय आवश्यक रहेको बताउँदै आएका छन् ।

विशेष गरी चिनियाँ हाइब्रिड सवारीसाधनको निर्यात व्यवस्थापनका विषयमा बेइजिङ र ईयूबीच सहमति भएपनि त्यसको कार्यान्वयन पूर्ण रूपमा सुरु भएको छैन । ट्रिभियम चाइनाका प्रमुख अर्थशास्त्री जो पिसेलले सन् २०२७ मा चीनमाथि थप भन्सार शुल्क र व्यापारिक प्रतिबन्ध लाग्ने सम्भावना उच्च रहेको बताएका छन् ।

अमेरिकासँगको व्यापार बचतमा भने अक्टोबरमा सामान्य गिरावट आएको छ । सेप्टेम्बरमा ३४ अर्ब १० करोड डलर रहेको चीनको अमेरिकी बजारसँगको व्यापार बचत अक्टोबरमा घटेर ३२ अर्ब ७१ करोड डलर पुगेको छ ।

यसैबीच, अमेरिका र चीनले व्यापार युद्धविरामलाई थप दुई महिनाका लागि विस्तार गरेका छन् । सोमबार औपचारिक रूपमा लम्ब्याइएको यो सहमतिले तत्कालका लागि दुई देशबीच थप व्यापारिक तनाव बढ्ने जोखिम कम गरेको छ ।

चीनले अमेरिकी कृषि उत्पादनको खरिद बढाउने विषय पनि पारस्परिक भन्सार शुल्क कटौतीसम्बन्धी सहमति कार्यान्वयनसँग जोडिएको स्पष्ट पारेको छ । निर्यातमा वृद्धि भइरहेपनि चीनको सवारीसाधन बजारमा भने कमजोरी देखिएको छ ।

अक्टोबरमा सवारी साधन निर्यात बढ्दा घरेलु बजारमा बिक्री लगातार १२ औँ महिनासमेत घटेको तथ्यांकले देखाएको छ । त्यस्तै, दुर्लभ खनिजको निर्यातमा अघिल्लो महिनाको तुलनामा आएको गिरावट केही कम भएको छ । यसलाई चीनले निर्यात नियन्त्रणमा केही लचकता अपनाउन थालेको संकेतका रूपमा विश्लेषण गरिएको छ ।

विश्लेषकहरूले आगामी वर्ष चीनको समग्र व्यापार वृद्धि केही सुस्त हुन सक्ने अनुमान गरेका छन् । तर एआईसँग सम्बन्धित उपकरण र प्रविधिको अन्तर्राष्ट्रिय माग बलियो रहने अपेक्षा छ ।