सिन्धुपाल्चोक । ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको थाङ्पाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसीभैलो अभियानबाट १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ स्थित बागमती प्रदेशको नमूना विद्यालयले डिजिटल विद्यालय निर्माणका लागि आयोजना गरेको कार्यक्रममा १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ मूल्य बराबरका स्मार्ट बोर्ड प्राप्त गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले जानकारी दिए ।
संकलित रकम र प्राप्त सामाग्री विद्यालयलाई डिजिटल प्रविधियुक्त बनाउन प्रयोग गरिने उनले बताए । अभियानमा साथ दिने अभिभावक, पूर्वविद्यार्थी, शुभेच्छुक तथा दाताप्रति अध्यक्ष सापकोटाले आभार व्यक्त गरेका छन् ।
विद्यालयका प्रधानाध्यापक राजु तामाङका अनुसार ग्रामीण भेगका बालबालिकाले आधुनिक शिक्षा प्राप्त गर्न सहर धाउनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको हो । विद्यालयका सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठाका रूपमा विकास गर्ने योजनाअनुसार देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
हाल विद्यालयमा २४ वटा कक्षाकोठा छन् । ती सबैलाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्न २४ वटा स्मार्ट बोर्ड आवश्यक पर्ने विद्यालयले जनाएको छ । अभियानको पहिलो चरणमा चालु वर्ष १० वटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य राखिएको छ ।
देउसीभैलो कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती र बाह्रबिसेलगायत क्षेत्रका स्थानीय व्यक्तित्व, जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा विद्यार्थी सहभागी भएका थिए ।
आईसीटी समाचार