कीवर्डहरू -

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।

उनले आफ्नो फेसबुक खातामार्फत सडकको अवस्था सुधार गर्नुपर्नेमा खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न लगाउने एप बनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै ढकालले विकसित देशको अभ्यासको नक्कल गरेर यस्ता एप निर्माण गर्नुको सट्टा सडक सुधारमा ध्यान दिनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा समेत अनावश्यक एप निर्माण गर्ने प्रवृत्ति देखिएको उनको आरोप छ । प्रधानमन्त्री शाहले अनावश्यक एप निर्माण नियन्त्रण गर्न ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ स्थापना गरेपनि मन्त्रालयहरू जनताले प्रयोग नगर्ने एप बनाउन केन्द्रित रहेको उनले फेसबुकमा लेखेका छन् ।

‘जताततै खाल्डैखाल्डा भएको र पाइलैपिच्छे सडक जीर्ण रहेको देशमा, आकलझुकल मात्र खाल्डा पर्ने विकसित देशको सिको गर्दै ‘सडक सुझाव’ जस्तो एप बनाइनु सरासर जनताले तिरेको करको दुरुपयोग हो,’ उनले लेखेका छन् ।

ढकालले जनतालाई एपमार्फत सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्ने झन्झट दिनुभन्दा सुरक्षित र सहज सडक उपलब्ध गराउन सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

‘जनतालाई एपमा खाल्डाको फोटो खिचेर अपलोड गर्ने झन्झट होइन, प्रत्यक्ष रूपमा सुरक्षित र चिल्लो सडक चाहिएको छ,’ उनले फेसबुकमा लेखेका छन् । उनले अनुत्पादक डिजिटल खर्च र प्रशासनिक बेथितिमाथि सरकारले नियन्त्रण गर्नुपर्ने मागसमेत गरेका छन् ।