कीवर्डहरू -

घरेलु महिला श्रमिकलाई सीप र रोजगारीको अवसर, २१ जनाका लागि आवेदन खुला

घरेलु महिला श्रमिकलाई सीप र रोजगारीको अवसर, २१ जनाका लागि आवेदन खुला

काठमाडौं । ललितपुरमा कार्यरत २१ जना घरेलु महिला श्रमिकलाई सीप विकास तथा रोजगारी प्रवर्द्धनसम्बन्धी तालिम प्रदान गरिने भएको छ ।

युवालयले अक्सफाम इन नेपालसँगको सहकार्यमा सञ्चालन गरिरहेको ‘सम्मानजनक कामका लागि सीप’ परियोजनाअन्तर्गत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यता प्राप्त व्यावसायिक तालिम तथा सीप विकासका गतिविधि सञ्चालन गर्न लागेको हो । त्यसका लागि योग्य तथा इच्छुक युवा महिलाबाट आवेदन आह्वान गरिएको छ ।

तालिममा सहभागी हुन १८ देखि ३५ वर्ष उमेर समूहका महिला हुनुपर्नेछ । ललितपुर महानगरपालिकाभित्र बसोबास गर्ने वा काम गर्ने, हाल घरेलु काम वा अन्य अनौपचारिक ज्यालादारी काममा पूर्णकालीन वा आंशिक रूपमा संलग्न रहेका महिला आवेदन दिन योग्य हुनेछन् ।

साथै, सीटीईभीटीबाट मान्यता प्राप्त छोटो अवधिको सीप विकास तालिममा सहभागी हुन इच्छुक हुनुपर्नेछ । परियोजनाको सम्पूर्ण अवधिभर तालिममा सहभागी हुन सक्ने र कम्तीमा पाँच महिना उपलब्ध हुन सक्ने महिलालाई प्राथमिकतामा राखिने युवालयले जनाएको छ ।

आवेदन छनोटमा दलित, जनजाति तथा अन्य सीमान्तकृत समुदायका महिला, न्यून आय भएका परिवारका महिला, अपाङ्गता भएका महिला, आश्रित वा परिवारको मुख्य कमाउने जिम्मेवारी सम्हालिरहेका महिला तथा यसअघि कुनै व्यावसायिक तालिम नलिएका महिलालाई प्राथमिकता दिइनेछ ।

इच्छुक महिलाले आगामी २०८३ कात्तिक ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदनका लागि निवेदन, ललितपुर महानगरपालिकामा काम गरेको वा बसोबास गरेको प्रमाण र नागरिकताको प्रमाणपत्र आवश्यक पर्नेछ । आवश्यक कागजातसहित युवालयको इमेल ठेगाना [email protected] मा वा ललितपुरस्थित युवालयको कार्यालयमा आवेदन बुझाउन सकिनेछ ।

थप जानकारीका लागि ललितपुर महानगरपालिका १३ दामोदर मार्ग, कुसुन्तीस्थित युवालयको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

null