काठमाडौं । बेलायतको सञ्चार नियामक निकाय अफकमले नियामकको औपचारिक सूचना अनुरोधको जवाफमा गलत जानकारी उपलब्ध गराएको भन्दै सामाजिक सञ्जाल कम्पनी मेटालाई ४ लाख ५० हजार पाउण्ड जरिवाना गरेको छ ।
व्यावसायिक प्रयोजनका लागि ठूलो परिमाणमा पठाइने एसएमएस सेवाको थोक बजारसम्बन्धी सन् २०२५ को पुनरावलोकनका क्रममा अफकमले मेटासँग ह्वाट्सएप बिजनेस सेवाबारे विभिन्न जानकारी मागेको थियो ।
सोही क्रममा मेटाले नियामकलाई उपलब्ध गराएको विवरणमा गलत जानकारी रहेको आशंका भएपछि अफकमले सन् २०२६ जनवरीमा औपचारिक अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानपछि मेटाले बेलायतको सञ्चार ऐनअन्तर्गत जारी गरिएका पाँचवटा छुट्टाछुट्टै सूचनाका आवश्यकताहरू उल्लंघन गरेको अफकमले निष्कर्ष निकालेको हो । नियामकले मागेको जानकारी सही र पूर्ण रूपमा उपलब्ध नगराएको ठहर गर्दै मेटामाथि जरिवाना लगाइएको जनाएको छ ।
अफकमले सुरुमा मेटालाई ६ लाख पाउण्ड जरिवाना गर्ने निर्णय गरेको थियो । तर मेटाले आफ्नो गल्ती स्वीकार गर्नुका साथै अनुसन्धानमा सहयोग गरेको, कारबाही टुंग्याउन सहमति जनाएको र गलत जानकारी उपलब्ध गराएर कुनै आर्थिक लाभ नलिएको कारण जरिवानामा २५ प्रतिशत छुट दिइएको हो । त्यसपछि अन्तिम जरिवाना रकम ४ लाख ५० हजार पाउण्ड कायम गरिएको अफकमले जनाएको छ ।
आईसीटी समाचार