कीवर्डहरू -

गुगल सर्चमा एआई अपग्रेड, अब जटिल प्रश्नको पनि छिटो र सटीक जवाफ

गुगल सर्चमा एआई अपग्रेड, अब जटिल प्रश्नको पनि छिटो र सटीक जवाफ

काठमाडौं । गुगलले आफ्नो सर्च सेवाको क्षमता विस्तार गर्दै नयाँ एआई मोडेल ‘जेमिनी ४ हाइड्रोजन’ सार्वजनिक गरेको छ । नयाँ मोडेलको समावेशसँगै गुगल सर्चले अब बहुआयामिक प्रश्न, जटिल अनुरोध र टाइपिङमा भएका कठिन त्रुटि समेत पहिलेभन्दा प्रभावकारी रूपमा बुझेर जवाफ दिन सक्ने कम्पनीले जनाएको छ । गुगलले यसलाई सर्च सेवाका लागि अहिलेसम्मकै ठूलो मोडेल सुधारका रूपमा प्रस्तुत गरेको छ ।

नयाँ मोडेललाई विशेष गरी गति, कार्य क्षमता र एजेन्टिक वर्कफ्लोमा आधारित कामका लागि विकास गरिएको हो । गुगलका अनुसार जेमिनी ४ कार्बन र जेमिनी ४ आर्गन जस्ता मोडेल कठिन समस्या समाधान गर्न गहन तर्क क्षमतामा केन्द्रित छन् भने हाइड्रोजनलाई कम समयमा धेरै चरणका काम सम्पन्न गर्न सक्षम बनाइएको छ ।एजेन्टिक वर्कफ्लोमा एआईले प्रयोगकर्ताको निर्देशनअनुसार आफैं विभिन्न चरणका काम अघि बढाएर पूरा गर्न सक्छ ।

गुगलले हरेक कामका लागि सबैभन्दा शक्तिशाली मोडेल आवश्यक नपर्ने अवधारणालाई ध्यानमा राखेर हाइड्रोजन विकास गरेको जनाएको छ । कम्पनीका अनुसार यो मोडेल अघिल्लो द्रुत मोडेल जेमिनी ३.८ फ्ल्यासभन्दा २.५ गुणा छिटो काम सम्पन्न गर्न सक्षम छ ।

गति उच्च भएपनि यसको तर्क क्षमता प्रतिस्पर्धात्मक रहेको कम्पनीको दाबी छ । आर्टिफिसियल एनालिसिस इन्टेलिजेन्स इन्डेक्सको व्यापक बौद्धिकता परीक्षणमा डिफल्ट उच्च थिंकिङ स्तरमा हाइड्रोजनले अझ शक्तिशाली मानिएको जेमिनी ४ आर्गनलाई समेत पछि पारेको छ ।

नयाँ मोडेलको प्रयोगले गुगल सर्चमा प्रयोगकर्ताको प्रश्न बुझ्ने र त्यसअनुसार नतिजा प्रस्तुत गर्ने क्षमतामा सुधार आउनेछ । विशेष गरी एउटै प्रश्नमा धेरै विषय समेटिएका, निश्चित विवरण खोजिएका वा सामान्य भाषामा अस्पष्ट तरिकाले लेखिएका अनुरोधलाई हाइड्रोजनले राम्रोसँग विश्लेषण गर्न सक्नेछ । प्रयोगकर्ताले आफ्नो विचार स्वाभाविक रूपमा व्यक्त गर्दा पनि त्यसको वास्तविक आशय पहिचान गरी प्रश्नका विभिन्न पक्षलाई सम्बोधन गर्न सक्ने गुगलको भनाइ छ ।

त्यसैगरी, निर्देशन पालना गर्ने, उपयुक्त डिजिटल उपकरण छनोट गर्ने र प्रयोगकर्ताको आवश्यकताअनुसार उत्तर तयार पार्ने क्षमतासमेत सुधार गरिएको छ । यसले एआई मोडमा उपलब्ध हुने उत्तरलाई थप उपयोगी बनाउने अपेक्षा गरिएको छ ।

नयाँ अपडेटपछि सर्च नतिजामा सान्दर्भिक वेबसाइटका लिंकसँगै थप तस्बिर, संरचित जानकारी, तुलनात्मक तालिका र आवश्यकताअनुसार तयार गरिएका विशेष टुलसमेत देखिनेछन् । विभिन्न भाषामा उत्तर दिने क्षमतामा पनि सुधार गरिएको कम्पनीले जनाएको छ ।

हाइड्रोजनको अर्को महत्त्वपूर्ण सुधार गुगलको ‘सर्च फ्यान–आउट’ प्रविधिमा देखिनेछ । यस प्रविधिले प्रयोगकर्ताले सोधेको एउटा जटिल प्रश्नलाई विभिन्न साना उपप्रश्नमा विभाजन गरी छुट्टाछुट्टै खोजी गर्छ र प्राप्त जानकारीलाई एकीकृत गरेर उत्तर तयार पार्छ ।

हाइड्रोजनको उन्नत तर्क क्षमताले यो प्रक्रियालाई अझ प्रभावकारी बनाउनेछ । यसबाट प्रयोगकर्ताले सामान्य खोजीमा सहजै फेला पार्न नसक्ने सान्दर्भिक वेबसाइट, ब्लग तथा अन्य स्रोतसम्म पहुँच पाउन सक्नेछन् ।

सर्चबाहेक हाइड्रोजनलाई कोडिङ तथा सफ्टवेयर विकासका काममा पनि प्रयोग गर्न सकिनेछ । यसले कोड लेख्ने, परीक्षण सञ्चालन गर्ने र कोडमा गरिएका परिवर्तनको समीक्षा गर्नेजस्ता काम स्वतन्त्र रूपमा सम्पन्न गर्न सक्छ । आवश्यकताअनुसार यसलाई जेमिनी ४ कार्बन र आर्गनसँग जोडेर संयुक्त एआई कार्यप्रवाहमा समेत प्रयोग गर्न सकिने गुगलले जनाएको छ ।

नयाँ मोडेलमा प्रयोगकर्ताले न्यून, मध्यम, उच्च र अतिरिक्त उच्च (एक्स्ट्रा हाई) गरी चारवटा थिंकिङ स्तर छनोट गर्न सक्नेछन् । उच्च स्तर डिफल्ट रूपमा उपलब्ध हुनेछ भने अतिरिक्त उच्च स्तर थप गहन तर्क आवश्यक पर्ने कामका लागि राखिएको छ । यी सबै स्तरलाई कम आउटपुट टोकन प्रयोग गरेर छिटो परिणाम दिने गरी डिजाइन गरिएको कम्पनीको दाबी छ ।

यद्यपि गहिरो अनुसन्धान, तथ्यांक विश्लेषण र ठूलो कोडबेसभित्र नेभिगेसन गर्नुपर्ने जस्ता बहुचरणीय काममा हाइड्रोजनको प्रदर्शन एजेन्ट एरेना बेन्चमार्कमा पाँचौं स्थानमा रहेको गुगलले उल्लेख गरेको छ ।

गुगल सर्चका अतिरिक्त जेमिनी ४ हाइड्रोजनलाई एआई स्टुडियो, जेमिनी एपीआई, जेमिनी एप तथा गुगलको एन्टिग्राभिटी डेभलपमेन्ट प्लेटफर्ममा पनि उपलब्ध गराइनेछ । यी प्लेटफर्ममा स:शुल्क एआई प्रो र अल्ट्रा सदस्यहरूले यसको विभिन्न थिंकिङ स्तर प्रयोग गर्न पाउनेछन् । गुगलका अनुसार नयाँ मोडेलसहितको सर्च अपडेट विश्वभरका प्रयोगकर्तासमक्ष चरणबद्ध रूपमा विस्तार भइरहेको छ ।