कीवर्डहरू -

ह्वावेले ल्यायो एआईमा आधारित नयाँ आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

ह्वावेले ल्यायो एआईमा आधारित नयाँ आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा उत्पादन, ब्याट्री भण्डारण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा एकीकृत गर्दै नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ । 

घरायसी ऊर्जा उत्पादन, भण्डारण र खपतलाई थप प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको यो प्रणालीमा हाइब्रिड इन्भर्टर, ऊर्जा भण्डारण ब्याट्री र एआईमा आधारित ऊर्जा व्यवस्थापन प्रविधि समावेश छन् ।

कम्पनीका अनुसार नयाँ प्रणालीलाई जडान तथा सञ्चालन गर्न सहज हुने गरी डिजाइन गरिएको छ । यसको जडान र प्रारम्भिक सेटअप केही मिनेटमै सम्पन्न गर्न सकिने ह्वावेले जनाएको छ ।

ल्युटेरा एस२ सिंगल फेजमा ३ देखि १० किलोवाट तथा थ्री फेजमा ५ देखि २० किलोवाट क्षमताका विकल्पमा उपलब्ध हुनेछ । पूर्ण सिलिकन कार्बाइड (फुल–एसआईसी) प्रविधिमा आधारित यो उद्योगकै पहिलो आवासीय ऊर्जा प्रणाली भएको कम्पनीको दाबी छ ।

प्रणालीमा प्रयोग गरिएको फुल–एसआईसी आर्किटेक्चर र एएनपीसी प्रविधिले अधिकतम ९९ प्रतिशतसम्म ऊर्जा रूपान्तरण दक्षता प्रदान गर्ने बताइएको छ । यसमा तीनवटासम्म इन्भर्टर समानान्तर रूपमा जडान गर्न सकिन्छ, जसबाट कुल ६० किलोवाटसम्म क्षमता विस्तार गर्न सकिनेछ ।

त्यस्तै, ब्याट्रीतर्फ ४८ वटासम्म प्याक समानान्तर रूपमा जोडेर अधिकतम ३३६ किलोवाट आवर ऊर्जा भण्डारण क्षमता पुर्‍याउन सकिने कम्पनीले जनाएको छ ।

एआईबाट स्वचालित ऊर्जा व्यवस्थापन
ल्युटेरा एस२ को प्रमुख विशेषता ह्वावेको एआई इनर्जी म्यानेजमेन्ट २.० प्लेटफर्म हो । यसले मौसमको पूर्वानुमान, विद्युत्को मूल्य, घरायसी विद्युत् खपत र उपलब्ध ऊर्जाको अवस्थालाई विश्लेषण गरेर कहिले ऊर्जा उत्पादन गर्ने, कति भण्डारण गर्ने र कसरी उपयोग गर्ने भन्ने व्यवस्थापन गर्न सक्छ । यसबाट घरमा उत्पादन भएको सौर्य ऊर्जाको अधिकतम उपयोग गर्दै विद्युत् खर्च घटाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।

नयाँ प्रणालीले सौर्य ऊर्जा, ब्याट्री भण्डारण, विद्युतीय सवारीसाधन चार्जिङ, हिट पम्प तथा भर्चुअल पावर प्लान्ट (भीपीपी) बीच समन्वय गर्न सक्छ । यसमा उपलब्ध एआई असिस्टेन्टमार्फत प्रयोगकर्ताले संवादात्मक शैलीमा ऊर्जा व्यवस्थापनसम्बन्धी जानकारी लिन र आवश्यक निर्णय गर्न सक्नेछन् ।

त्यस्तै, प्राविधिक तथा जडानकर्ताका लागि एआई थ्रीडी मोडलिङ, स्वचालित प्रणाली परीक्षण र टाढैबाट प्राविधिक सहायता उपलब्ध गराउने सुविधा पनि राखिएको छ ।

कम आवाज र उन्नत सुरक्षा प्रविधि
ह्वावेले ल्युटेरा एस२ मा बाहिरी फ्यानबिनाको प्राकृतिक शीतलन प्रविधि प्रयोग गरेको छ । यसले गर्दा प्रणाली सञ्चालन हुँदा उत्पन्न हुने आवाज २९ डेसिबलभन्दा कम रहने कम्पनीको दाबी छ । घरभित्र वा आवासीय क्षेत्रमा जडान गर्दा कम आवाजमा सञ्चालन हुनु यसको अर्को विशेषता हो ।

सुरक्षाका लागि ब्याट्रीका प्रत्येक सेलमा छुट्टाछुट्टै सुरक्षा संरचना राखिएको छ । कुनै सेलमा अत्यधिक ताप उत्पन्न भए त्यसको असर अन्य सेलमा फैलिन नदिन विशेष डिजाइन प्रयोग गरिएको कम्पनीले जनाएको छ । यसमा धुवाँ बाहिर निकाल्ने, तापक्रम नियन्त्रण गर्ने तथा एसी र डीसी टर्मिनलको तापक्रम निरन्तर निगरानी गर्ने प्रणालीसमेत समावेश छ ।

कम्पनीका अनुसार ल्युटेरा एस२ ले युरोपेली ब्याट्री नियमनका सम्बन्धित मापदण्ड पूरा गरेको छ। यसले आईईसी ६३०२७ अन्तर्गतको आर्क फल्ट सर्किट इन्टरप्टर (एएफसीआई) मापदण्ड पनि पालना गर्छ । त्यस्तै, टीयूभी रेइनल्याण्डबाट यसको सुरक्षा परीक्षण गरिएको छ ।

परीक्षणमा १ हजार डिग्री सेल्सियस तापक्रममा २० मिनेटसम्मको आगलागी परीक्षण, ब्याट्री सेलको थर्मल रनअवे परीक्षण र २० प्रतिशत हाइड्रोजन विस्फोटसम्बन्धी परीक्षण समावेश थिए । यसले यूएल ९५४०ए प्रमाणीकरणसम्बन्धी परीक्षण समेत पार गरेको कम्पनीले जनाएको छ ।

विद्युत् अवरुद्ध हुँदा पनि निरन्तर आपूर्ति
ल्युटेरा एस२ मा विद्युत् ग्रिडबाट ब्याकअप पावरमा १० मिलिसेकेन्डभन्दा कम समयमा स्विच हुने सुविधा छ । ग्रिडको विद्युत् आपूर्ति बन्द भएको अवस्थामा पनि यसले २० किलोवाटसम्मको लोड धान्न सक्ने ह्वावेले जनाएको छ । यसले घरायसी उपकरणहरूमा विद्युत् आपूर्ति निरन्तर राख्न सहयोग गर्नेछ ।

यो प्रणाली माइनस २५ देखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा सञ्चालन गर्न सकिने र धुलो तथा पानीबाट सुरक्षाका लागि आईपी६६ स्तरको क्षमता रहेको कम्पनीको भनाइ छ । यस प्रणालीको डिजाइन आयु १५ वर्षभन्दा बढी राखिएको छ ।

ह्वावे डिस्ट्रिब्युटेड पीभी एन्ड बीईएसएस बिजनेसका अध्यक्ष स्टिभ झाङले नयाँ प्रणालीलाई पहिलेका उत्पादनको तुलनामा सानो, हलुका, शान्त, सुरक्षित र थप स्मार्ट बनाउने उद्देश्यले विकास गरिएको बताएका छन् ।

यद्यपि, कम्पनीले ल्युटेरा एस२ को मूल्य, बजारमा उपलब्ध हुने मिति तथा विभिन्न देशमा बिक्री सुरु हुने समयबारे विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।