काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय तहका विद्यार्थीलाई लक्षित गर्दै ‘जलवायुका लागि बालबालिका’ शीर्षकमा एक मिनेटसम्मको भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
महानगरपालिकाले मंसिर ७ देखि १३ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं जलवायु कार्य सप्ताह २०८३’ अन्तर्गत प्रतियोगिता सञ्चालन गर्न लागेको हो । जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न व्यक्ति तथा समुदायले खेल्न सक्ने भूमिकाबारे बालबालिकामा सचेतना अभिवृद्धि गर्ने र उनीहरूलाई सिर्जनात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ ।
प्रतियोगितामा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन सक्नेछन् । काठमाडौं महानगरपालिकाका स्थायी बासिन्दाका बालबालिका तथा महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी प्रतियोगितामा सहभागी हुन योग्य हुनेछन् ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, सात जनालाई जनही १० हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले जलवायु परिवर्तन, यसले पारिरहेको असर तथा त्यसको न्यूनीकरणका लागि व्यक्ति र समुदायले गर्न सक्ने प्रयास समेटेर एक मिनेटसम्मको भिडियो तयार गर्नुपर्नेछ । तयार गरिएको भिडियो आफ्नो सामाजिक सञ्जाल पेजमा पोस्ट गरी काठमाडौं महानगरपालिकाको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ । पोस्ट गरिएको भिडियो महानगरपालिकालाई पनि पठाउनुपर्नेछ ।
काठमाडौं जलवायु कार्य सप्ताहअन्तर्गत मंसिर ७ देखि १३ गतेसम्म हरेक दिन फरक–फरक कार्यक्रम आयोजना गरिनेछ । महानगरपालिकाले विभिन्न साझेदार संस्थासँगको सहकार्यमा सप्ताह आयोजना गर्न लागेको हो ।
For Registrarion
https://forms.gle/ZMMydjPTgDCP11jo6
आईसीटी समाचार