काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो विशाल रकेट ‘स्टारसिप’ को माथिल्लो भाग पृथ्वीमा फर्काउने क्रममा लन्च टावरमै समात्ने वा अन्य तरिकाले अवतरण गराउने भन्नेबारे पछि निर्णय गर्ने भएको छ ।
शुक्रबार भएको परीक्षण उडानमा रकेटको तल्लो भाग ‘सुपर हेभी बुस्टर’ लाई लन्च टावरमा समात्ने प्रयास असफल भएपछि कम्पनीले माथिल्लो भागको अवतरण योजनाबारे पुनर्विचार गर्न लागेको हो । बुस्टर समात्ने प्रक्रिया अन्तिम समयमा रद्द भएपछि उक्त भाग समुद्रमा खसेर विस्फोट भएको थियो ।
स्पेसएक्सले लन्च टावरमा जडान गरिएका ‘चपस्टिक्स’ नामक विशाल यान्त्रिक हातको प्रयोग गरी रकेटका दुवै भागलाई पृथ्वीमा फर्काएर समात्ने योजना बनाएको थियो । यसरी अवतरण गराउन सके रकेटका दुवै भागलाई पुन: प्रयोग गर्न सकिने कम्पनीको लक्ष्य छ ।
स्टारसिपको यो १५ औँ परीक्षण उडान हो । रकेटको माथिल्लो र तल्लो दुवै भागलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काएर पुन: प्रयोग गर्ने उद्देश्यसहित गरिएको यो पहिलो प्रयास थियो । १२४ मिटर अग्लो स्टारसिपलाई शुक्रबार स्थानीय समयअनुसार दिउँसो ४ बजेर ४७ मिनेटमा अमेरिकाको टेक्सासस्थित बोका चिकामा रहेको स्टारबेसबाट प्रक्षेपण गरिएको थियो ।
प्रक्षेपणको करिब साढे ६ मिनेटपछि सुपर हेभी बुस्टर पृथ्वीमा फर्कँदा लन्च टावरका यान्त्रिक हातले समात्ने योजना थियो । सुरुमा मिसन कन्ट्रोलबाट त्यसका लागि अनुमति दिइए पनि बुस्टरको स्वचालित प्रणालीले अन्तिम समयमा अवतरण प्रक्रिया रद्द गर्यो । त्यसपछि बुस्टर समुद्रतर्फ मोडियो र पानीको सतह नजिक केही समय स्थिर रहेपछि आगोको मुस्लोसहित विस्फोट भयो ।
परीक्षणको प्रत्यक्ष प्रसारणका क्रममा स्पेसएक्सका प्रवक्ताले सुरक्षा कम्पनीको पहिलो प्राथमिकता रहेको बताएका थिए । नयाँ प्रविधि र प्रक्रियाको परीक्षण भइरहेकाले प्रत्येक चरण सुरक्षित रूपमा सम्पन्न हुने सुनिश्चित गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
यसअघि स्पेसएक्सले तीनवटा परीक्षण उडानमा सुपर हेभी बुस्टरलाई सफलतापूर्वक लन्च टावरमै समात्न सकेको थियो । तर यस पटकको असफलतापछि रकेटको माथिल्लो भागलाई समात्ने प्रयास गर्ने वा नगर्ने भन्ने निर्णय भने कम्पनीले तत्काल लिने छैन ।
आईसीटी समाचार