कीवर्डहरू -

फोन ठगी रोक्न रुसको नयाँ व्यवस्था, बैंकबाट कल आउँदा स्क्रिनमै देखिनेछ संस्थाको नाम

फोन ठगी रोक्न रुसको नयाँ व्यवस्था, बैंकबाट कल आउँदा स्क्रिनमै देखिनेछ संस्थाको नाम

काठमाडौं । फोनमार्फत हुने वित्तीय ठगीका घटना न्यूनीकरण गर्ने उद्देश्यले रुसले बैंकबाट आउने कलमा सम्बन्धित बैंकको नाम मोबाइलको स्क्रिनमै देखिने व्यवस्था लागू गर्ने भएको छ । यसबाट वास्तविक बैंक र बैंकका कर्मचारी बनेर फोन गर्ने ठगबीच पहिचान गर्न उपभोक्तालाई सहज हुने अपेक्षा गरिएको छ ।

रुसको डिजिटल विकास, सञ्चार तथा आमसञ्चार मन्त्रालयले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार देशका चार प्रमुख दूरसञ्चार सेवा प्रदायक र ठूला बैंकहरूबीच यससम्बन्धी सहमति भएको छ । कल गर्ने संस्था पहिचान गराउने प्रणाली सञ्चालनका लागि सम्बन्धित पक्षले आवश्यक सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।

नयाँ प्रणाली लागू भएपछि बैंकले आफ्ना ग्राहकलाई फोन गर्दा मोबाइलको स्क्रिनमा बैंकको नाम देखिनेछ । यसले फोन गर्ने संस्थाको आधिकारिक पहिचान छुट्याउन मद्दत गर्नेछ । विशेष गरी बैंकका कर्मचारी भएको नाटक गरेर ग्राहकको व्यक्तिगत तथा वित्तीय विवरण माग्ने ठगीका प्रयास नियन्त्रण गर्न यो व्यवस्था प्रभावकारी हुने विश्वास गरिएको छ ।

रुसी मन्त्रालयले यस पहललाई नागरिकलाई फोन ठगीबाट सुरक्षित राख्ने र संस्थागत फोन कलप्रति सर्वसाधारणको विश्वास बढाउने प्रयासका रूपमा लिएको छ । रुसले फोनमार्फत हुने ठगी नियन्त्रण गर्न यसअघि पनि विभिन्न कानुनी व्यवस्था लागू गरिसकेको छ ।

सन् २०२५ सेप्टेम्बर १ देखि कम्पनी तथा व्यक्तिगत उद्यमीले फोन गर्दा आफ्नो संस्थाको पहिचान अनिवार्य रूपमा खुलाउनुपर्ने नियम कार्यान्वयनमा ल्याइएको थियो । बैंक तथा दूरसञ्चार क्षेत्रलाई समेत समेटेर अघि बढाइएको पछिल्लो पहललाई रुसले फोनमार्फत हुने वित्तीय अपराध नियन्त्रण गर्ने व्यापक अभियानकै अर्को कदमका रूपमा अघि सारेको छ ।