कीवर्डहरू -

प्रयोगकर्ताका निजी तस्बिरमा सहमतिबिनै पहुँच, मेटालाई १ खर्ब ३४ अर्ब जरिवाना

प्रयोगकर्ताका निजी तस्बिरमा सहमतिबिनै पहुँच, मेटालाई १ खर्ब ३४ अर्ब जरिवाना

काठमाडौं । प्रयोगकर्ताको स्पष्ट सहमतिबिना मोबाइलमा रहेका व्यक्तिगत तस्बिर तथा भिडियोमा पहुँच बनाएको आरोपमा इटालीले फेसबुकको मातृ कम्पनी मेटालाई ८० करोड ५० लाख युरो जरिवाना गरेको छ । नेपाली रुपैयाँमा यो रकम करिब १ खर्ब ३४ अर्ब बराबर हुन्छ ।

इटालीको डेटा संरक्षणसम्बन्धी नियामक निकायले फेसबुकको एन्ड्रोइड एपमा रहेको एउटा फिचरले प्रयोगकर्ताको निजी फोटो ग्यालरीमा पहुँच राख्ने गरेको अनुसन्धानबाट खुलेपछि कारबाही गरेको हो ।

सन् २०२३ देखि सञ्चालनमा रहेको उक्त फिचरले प्रयोगकर्ताको मोबाइलमा सुरक्षित तस्बिर तथा भिडियो विश्लेषण गरी फेसबुकमा पोस्ट गर्न सकिने सामग्री सिफारिस गर्ने गर्थ्यो । तर, यस प्रक्रियामा व्यक्तिगत सामाग्री प्रयोग हुने विषयमा प्रयोगकर्तालाई पर्याप्त जानकारी नदिइएको नियामकको निष्कर्ष छ ।

अनुमति माग्दा प्रयोगको उद्देश्य लुकाएको आरोप
नियामक निकायका अनुसार इटालीका करिब दुई करोड एन्ड्रोइड प्रयोगकर्तालाई फेसबुकले आफ्नो फोटो ग्यालरीमा पहुँच माग्नुको वास्तविक उद्देश्यबारे स्पष्ट पारेको थिएन ।

एपले प्रयोगकर्तासँग मोबाइलमा रहेका सम्पूर्ण तस्बिर तथा भिडियोमा पहुँचको अनुमति माग्ने गरेपनि ती सामाग्रीका आधारमा फेसबुक पोस्टका सुझाव समेत तयार पारिने जानकारी पर्याप्त रूपमा खुलाएको थिएन ।

त्यसैगरी, उक्त सुविधा प्रयोगकर्ताको मोबाइलमा पूर्वनिर्धारित रूपमा सक्रिय रहने गरेको पनि अनुसन्धानबाट पत्ता लागेको थियो । यसले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत सामग्री कसरी प्रयोग भइरहेको छ भन्नेबारे सचेत निर्णय गर्ने अवसर सीमित गरेको नियामकको ठहर छ ।

कारबाहीको निर्णय गर्दा अनुसन्धानमा मेटाले पर्याप्त सहयोग नगरेको र कम्पनी यसअघि सन् २०१९ मा पनि यस्तै प्रकृतिको कारबाहीमा परेको तथ्यलाई समेत आधार बनाइएको बताइएको छ ।

६० दिनभित्र फिचर परिवर्तन गर्न निर्देशन
इटालीको नियामकले मेटालाई ६० दिनभित्र उक्त फिचरमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ । विशेष गरी प्रयोगकर्ताको जानकारीबिना स्वत: सक्रिय हुने व्यवस्था हटाउन र मोबाइलको फोटो ग्यालरीमा पहुँच प्राप्त गर्न छुट्टै तथा स्पष्ट सहमति लिनुपर्ने आदेश दिइएको छ ।

नियामकका अनुसार फेसबुकको एप प्रयोग गर्ने ठूलो सङ्ख्यामा मानिस यसबाट प्रभावित हुन सक्ने अवस्था छ । एप अपडेट नगरेका वा यसअघि नै उक्त प्रणालीलाई अनुमति दिएका प्रयोगकर्ताका हकमा पनि समस्या कायम रहन सक्ने उसको भनाइ छ । यता मेटाले भने इटालीको नियामक निकायको निर्णय र जरिवानाको रकमप्रति असन्तुष्टि जनाएको छ ।

कम्पनीले उक्त निर्णयलाई चुनौती दिँदै अपिल गर्ने घोषणा गरेको छ । यस घटनाले सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताका व्यक्तिगत विवरण तथा डिजिटल सामग्री प्रयोग गर्दा पारदर्शिता र गोपनीयताको अधिकारलाई कति महत्त्व दिनुपर्छ भन्ने विषयलाई पुनः चर्चामा ल्याएको छ ।