काठमाडौं । ह्वाट्सएपले स्टाटसमै आफ्नो लोकेसन (स्थान) साझा गर्न मिल्ने नयाँ सुविधा विकास गरिरहेको छ । हाल ह्वाट्सएपमा लोकेसन साझा गर्न प्रयोगकर्ताले पहिले तस्बिर वा भिडियो छनोट गरी त्यसमा लोकेसन स्टिकर राख्नुपर्ने हुन्छ । तर, नयाँ सुविधामार्फत स्टाटस राख्ने क्रममा छुट्टै ‘लोकेसन’ विकल्प उपलब्ध हुनेछ ।
यसबाट प्रयोगकर्ताले तस्बिर वा भिडियोबिना नै आफ्नो स्थान साझा गर्न सक्नेछन् । यो सुविधा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको हो । यद्यपि, यो हाल विकासकै चरणमा रहेकाले बिटा प्रयोगकर्ताका लागि समेत उपलब्ध भइसकेको छैन । नयाँ विकल्प छनोट गरेपछि नक्सासहितको कार्ड देखिनेछ ।
उक्त कार्डमा स्थान देखाउने हरियो चिन्ह, ठाउँको नाम र पूरा ठेगाना समावेश हुनेछ । प्रयोगकर्ताले लोकेसन प्रयोग गर्ने अनुमति दिएपछि ह्वाट्सएपले उनीहरूको हालको स्थान देखाउनेछ । त्यसपछि स्थान पुष्टि गरेर स्टाटसमा राख्न सकिनेछ । प्रयोगकर्ताले आफ्नो वास्तविक स्थानको सट्टा अनुमानित स्थान वा आफूले चाहेको अर्को स्थान पनि साझा गर्न सक्नेछन् ।
स्टाटस हेर्ने अन्य प्रयोगकर्ताले उक्त लोकेसन कार्डमा थिचेर साझा गरिएको स्थान हेर्न सक्नेछन् । यो सुविधा सार्वजनिक भएपछि प्रयोगकर्तालाई तस्बिर वा भिडियोबिना नै आफ्नो स्थान स्टाटसमार्फत साझा गर्न सहज हुनेछ ।
आईसीटी समाचार