कीवर्डहरू -

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

एनभिडियाको सुरुवाती इतिहास जोडिएको डेनी रेस्टुरेन्टबाट हटाइयो हुआङको शिलालेख

काठमाडौं । अमेरिकी फास्टफुड रेस्टुरेन्ट चेन डेनीले एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको सम्मानमा राखेको शिलालेख हटाएको छ । हुआङको व्यक्तिगत सम्बन्ध र आचरणबारे विवादास्पद विवरण सार्वजनिक भइरहेका बेला रेस्टुरेन्टले उनीसँग जोडिएको स्मृतिचिह्न हटाएको हो ।

सन् १९९३ मा क्यालिफोर्नियास्थित डेनी रेस्टुरेन्टको एउटा बुथमा बसेर हुआङले आफ्ना दुई सहसंस्थापक क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग एनभिडिया स्थापना गर्ने अवधारणा अघि सारेका थिए । पछि कृत्रिम बुद्धिमत्ता (एआई) र सेमिकन्डक्टर प्रविधिको विश्वव्यापी विकासमा महत्त्वपूर्ण भूमिका खेलेको कम्पनीको सुरुवाती योजना त्यहीँ बनेको थियो ।

एनभिडियाको स्थापनासँग जोडिएको उक्त बुथलाई सम्मान गर्दै डेनीले त्यहाँ एउटा विशेष शिलालेख राखेको थियो । त्यसमा लेखिएको थियो, ‘डेनीले यो बुथ एनभिडियालाई समर्पित गर्दछ । एक ट्रिलियन डलरको कम्पनी सुरु भएको बुथ । बधाई छ, एनभिडिया ! यहाँ सुरु भएको विचारले संसार परिवर्तन गर्नेछ भन्ने कसले सोचेको थियो र ?’

तर, एनबीसी न्युजका अनुसार अहिले उक्त शिलालेख राखिएको स्थानमा इँटाको पर्खाल र रङ उप्किएको खाली भाग मात्र देखिन्छ । रेस्टुरेन्टका दुई कर्मचारीले पनि शिलालेख हटाइएको पुष्टि गरेका छन् ।

डेनीका प्रमुख कार्यकारी अधिकृत केली भलाडेले सन् २०२३ मा एक समारोहका बीच उक्त शिलालेख हुआङलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा उनले डेनी विचार र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने ठाउँ भएको उल्लेख गर्दै हुआङको सफलताको कथाले रेस्टुरेन्टका कर्मचारीलाई सधैँ प्रेरणा दिने बताएका थिए ।

शिलालेख हस्तान्तरण कार्यक्रममा हुआङले डेनीसँग जोडिएका पुराना सम्झना पनि सुनाएका थिए । उनले त्यही रेस्टुरेन्टमा आफ्नो जीवनको पहिलो ह्याम्बर्गर र मिल्कशेक खाएको बताएका थिए ।

एनभिडियाको ब्लगमा प्रकाशित विवरणअनुसार हुआङले डेनीमा जति चाह्यो त्यति कफी पिउन पाइने र कसैले पनि रेस्टुरेन्टबाट ननिकाल्ने भएकाले त्यहाँ लामो समय बिताउन सकिने स्मरण गरेका थिए ।

पछिल्लो समय हुआङको व्यक्तिगत सम्बन्धबारे विभिन्न विवरण सार्वजनिक भएका छन् । एलिस हुआङसँगको सम्बन्धबाहेक एनभिडियाकी स्वास्थ्य सेवा उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि उनको सम्बन्ध रहेको आरोप लागेको छ । रोयटर्सले प्रकाशित गरेको अर्को विवरणमा एनभिडियाकै एक अज्ञात महिला कर्मचारीसँग पनि उनको घनिष्ठ सम्बन्ध रहेको दाबी गरिएको छ ।

यी विवरण सार्वजनिक भएपछि हुआङको व्यक्तिगत जीवन र व्यावसायिक छविबारे विवाद बढेको छ । डेनीले शिलालेख हटाउनुको आधिकारिक कारण भने सार्वजनिक भएको विवरणमा स्पष्ट छैन ।

एनभिडियाको स्थापनासँग ऐतिहासिक सम्बन्ध रहेको डेनीको उक्त बुथ कम्पनीको सुरुवाती यात्राको प्रतीकका रूपमा परिचित थियो । त्यसैले शिलालेख हटाइनुलाई हुआङसँग जोडिएको पछिल्लो विवादका बीच आएको उल्लेखनीय घटनाका रूपमा हेरिएको छ ।