कीवर्डहरू -

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १५ सेमिफाइनलिस्ट : प्रविधिमार्फत समस्या समाधानको प्रयास

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १५ सेमिफाइनलिस्ट : प्रविधिमार्फत समस्या समाधानको प्रयास

काठमाडौं । नेपालमा प्रविधिको विकाससँगै नयाँ सोच, सिर्जनशीलता र नवप्रवर्तनमा आधारित परियोजनाहरू पनि अघि बढिरहेका छन् । स्वास्थ्य, शिक्षा, वातावरण, सुरक्षा, सञ्चार, यातायातदेखि व्यापारसम्मका विभिन्न क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उद्देश्यले युवाहरूले प्रविधिमा आधारित नयाँ उत्पादन तथा सेवा विकास गरिरहेका छन् । यस्ता नवीन सोच र प्रयासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको आइसिटी अवार्डले पनि नवप्रवर्तनमा आधारित परियोजनालाई विशेष स्थान दिँदै आएको छ ।

आइसिटी अवार्ड २०२६ अन्तर्गत राइजिङ स्टार इन्नोभेसन विधाका उत्कृष्ट १५ सेमिफाइनलिस्ट सार्वजनिक भएका छन् । यस विधामा छनोट भएका परियोजनाहरूले कृत्रिम बुद्धिमत्ता, इन्टरनेट अफ थिङ्स, रोबोटिक्स, संवर्धित वास्तविकता (Augmented Reality), डिजिटल सुरक्षा, वातावरण संरक्षण र आपत्कालीन सञ्चारजस्ता क्षेत्रलाई समेटेका छन् । कुनै परियोजना प्रारम्भिक नमुना विकासको चरणमा छन् भने केहीले कार्यशील प्रणाली तयार पारिसकेका छन् । त्यस्तै, केही परियोजना वास्तविक प्रयोगमा पुगिसकेका छन् भने केहीले परीक्षण र विस्तारको तयारी गरिरहेका छन् ।

यी १५ परियोजनाले प्रविधिलाई केवल नयाँ उत्पादन निर्माण गर्ने माध्यमका रूपमा मात्र नभई दैनिक जीवनका वास्तविक समस्या समाधान गर्ने उपायका रूपमा प्रयोग गर्न खोजेका छन् । दृष्टिसम्बन्धी कठिनाइ भएका व्यक्तिको आवागमन सहज बनाउने उपकरणदेखि हिमाली क्षेत्रमा औषधि पुर्‍याउने ड्रोन, बालबालिकाको डिजिटल सुरक्षा गर्ने प्रणाली र नेपाली व्यवसायलाई अनलाइनमा विस्तार गर्न सहयोग गर्ने व्यापारिक प्लेटफर्मसम्मका अवधारणा यस विधामा समेटिएका छन् ।

१. दृष्टिल्याब्स : दृष्टिविहीन व्यक्तिका लागि कृत्रिम बुद्धिमत्तामा आधारित सहायक उपकरण

दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि दैनिक जीवनका सामान्य गतिविधिसमेत चुनौतीपूर्ण हुन सक्छन् । सडकमा हिँड्दा बाटोमा रहेका अवरोध पहिचान गर्ने, वरपरका वस्तु बुझ्ने र अपरिचित स्थानमा सुरक्षित रूपमा आवागमन गर्ने काममा उनीहरूले विभिन्न कठिनाइ सामना गर्नुपर्छ । यस्ता समस्यालाई प्रविधिको सहायताले कम गर्ने उद्देश्यसहित दृष्टिल्याब्सले कृत्रिम बुद्धिमत्तामा आधारित सहायक उपकरण विकास गरिरहेको छ ।

दृष्टिल्याब्सले विकास गर्न खोजेको उपकरणले प्रयोगकर्ताको वरपर रहेका वस्तुहरू वास्तविक समयमा पहिचान गर्न, बाटोमा रहेका अवरोध पत्ता लगाउन र आवाजमार्फत आवश्यक जानकारी दिन सक्छ । यसबाट दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिले आफ्नो वरपरको वातावरणबारे जानकारी पाउन र दैनिक गतिविधि तुलनात्मक रूपमा सहज रूपमा गर्न सक्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाको मुख्य विशेषता सहायक प्रविधिलाई सस्तो, पहुँचयोग्य र व्यावहारिक बनाउने प्रयास हो । बजारमा उपलब्ध कतिपय सहायक उपकरण महँगा हुन सक्ने भएकाले सबै प्रयोगकर्ताको पहुँचमा पुग्न कठिन हुन्छ । दृष्टिल्याब्सले त्यही समस्यालाई ध्यानमा राखेर स्थानीय आवश्यकता र प्रयोगकर्ताको अवस्थाअनुसार उपयोगी उपकरण विकास गर्न खोजेको छ ।

हाल यो परियोजना नमुना उपकरण विकासको चरणमा छ । यसको आगामी लक्ष्य उपकरणलाई थप प्रभावकारी बनाउँदै वास्तविक जीवनमा प्रयोग गर्न सकिने अवस्थामा पुर्‍याउनु हो । दृष्टिल्याब्स सफल भएमा दृष्टिविहीन तथा न्यून दृष्टि भएका व्यक्तिको स्वतन्त्र आवागमन र दैनिक जीवनमा प्रविधिको प्रयोग विस्तार गर्न सहयोग पुग्न सक्छ ।

२. इभो–मोई : औषधि प्रतिरोधी सूक्ष्मजीवको पूर्वानुमान गर्ने एआई प्रणाली

स्वास्थ्य क्षेत्रमा देखिएको गम्भीर चुनौतीमध्ये एन्टिमाइक्रोबियल रेसिस्टेन्स अर्थात् सूक्ष्मजीवमा औषधि प्रतिरोध क्षमता विकास हुनु पनि एक हो । कुनै रोग लाग्दा प्रयोग गरिने औषधिले अपेक्षित रूपमा काम नगर्ने अवस्था सिर्जना हुँदा बिरामीको उपचार जटिल बन्न सक्छ । विशेष गरी एन्टिबायोटिकको प्रभावकारिता घट्दै जानु विश्व स्वास्थ्य प्रणालीका लागि चुनौती बन्दै गएको छ ।

यही समस्यालाई प्रविधिको माध्यमबाट सम्बोधन गर्ने उद्देश्यले इभो–मोई विकास भइरहेको छ । यो कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वानुमान प्रणाली हो, जसले विभिन्न रोगजनक सूक्ष्मजीवले कुन औषधिप्रति प्रतिरोध क्षमता विकास गर्न सक्छन् भन्ने अनुमान गर्न खोज्छ । यसले आगामी १२ महिनासम्मको औषधि प्रतिरोधसम्बन्धी प्रवृत्ति पूर्वानुमान गर्ने लक्ष्य राखेको छ ।

यसका लागि प्रणालीले सूक्ष्मजीवको आनुवंशिक विवरण, बिरामीको चिकित्सकीय विवरण, प्रयोगशालाबाट प्राप्त तथ्याङ्क र महामारीसम्बन्धी सूचनालाई एकीकृत रूपमा विश्लेषण गर्छ । विभिन्न स्रोतबाट प्राप्त तथ्याङ्कलाई एकै ठाउँमा ल्याएर विश्लेषण गर्दा कुन औषधि प्रभावकारी हुन सक्छ भन्ने विषयमा स्वास्थ्यकर्मीलाई निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ ।

इभो–मोईको अर्को महत्त्वपूर्ण पक्ष स्रोत साधन सीमित भएका स्वास्थ्य प्रणालीलाई सहयोग पुर्‍याउनु हो । विशेष गरी नेपालजस्ता देशमा औषधि प्रतिरोधसम्बन्धी तथ्याङ्कको व्यवस्थित विश्लेषण र पूर्वानुमानले उपचार प्रक्रियालाई थप प्रभावकारी बनाउन सक्ने सम्भावना छ । यस परियोजनाले नेपालका चिकित्सा अनुसन्धानकर्तासँग सहकार्य गर्दै बहुआयामिक कृत्रिम बुद्धिमत्ता प्रणाली विकास गरिरहेको छ । हाल यसको तथ्याङ्क एकीकरण तथा विश्लेषण गर्ने प्रणाली निर्माणको काम अघि बढिरहेको छ । दीर्घकालमा यसले नेपालसँगै दक्षिण एसियामा औषधि प्रतिरोधको निगरानी र नियन्त्रणमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

३. हरित पाठशाला : विद्यार्थीलाई वातावरण संरक्षणसँग जोड्ने डिजिटल सिकाइ प्लेटफर्म

जलवायु परिवर्तन र वातावरणीय प्रदूषण विश्वव्यापी चुनौतीका रूपमा देखिँदै गर्दा विद्यालय तहदेखि नै वातावरण संरक्षणसम्बन्धी चेतना विकास गर्नु आवश्यक छ । तर जलवायु परिवर्तनजस्ता विषयलाई पाठ्यपुस्तकमा सीमित नराखी विद्यार्थीको दैनिक जीवनसँग जोडेर बुझाउन अझ प्रभावकारी सिकाइ विधिको आवश्यकता देखिन्छ । यही आवश्यकतालाई ध्यानमा राखेर हरित पाठशाला विकास गरिएको हो ।

हरित पाठशाला कक्षा ६ देखि १० सम्मका नेपाली विद्यार्थीलाई लक्षित गरी निर्माण गरिएको वातावरण तथा जलवायु शिक्षा प्लेटफर्म हो । यसले विद्यार्थीलाई आफ्नो दैनिक गतिविधिले वातावरणमा पार्ने प्रभाव बुझाउन र त्यसअनुसार व्यवहार परिवर्तन गर्न प्रेरित गर्छ । प्लेटफर्ममा नेपालका सन्दर्भअनुसार तयार पारिएको कार्बन उत्सर्जन गणना गर्ने उपकरण, अन्तरक्रियात्मक त्रिआयामिक शैक्षिक खेल र कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणाली समावेश गरिएको छ ।

यसमा विद्यार्थीले आफ्नो दैनिक गतिविधिका आधारमा कति कार्बन उत्सर्जन भइरहेको छ भन्ने अनुमान गर्न सक्छन् । त्यसैगरी, खेलमार्फत वातावरणीय विषयलाई रोचक ढङ्गले बुझ्न र कृत्रिम बुद्धिमत्तामा आधारित संवाद प्रणालीसँग प्रश्नोत्तर गर्दै थप जानकारी हासिल गर्न सक्छन् । यसले जलवायु शिक्षालाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यवहारमा लागू गर्न सकिने विषयका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

यस परियोजनाको अर्को विशेषता इन्टरनेट सुविधा नभएको अवस्थामा पनि प्रयोग गर्न सकिने गरी विकास गरिनु हो । नेपालका धेरै सामुदायिक तथा सरकारी विद्यालयमा इन्टरनेट पहुँच सीमित हुन सक्ने भएकाले अफलाइनमा समेत काम गर्ने सुविधाले यसको उपयोगिता बढाउन सक्छ । हाल हरित पाठशाला कार्यशील नमुना विकासको चरणमा छ । शीक्वल फाउन्डेसनसँगको इन्क्युबेसन प्रक्रियापछि यसले विद्यालयमा परीक्षण सञ्चालन गर्ने तयारी गरिरहेको छ । आगामी दिनमा विद्यालयस्तरमा यसको प्रयोग विस्तार गर्दै वातावरणमैत्री व्यवहार विकासमा योगदान पुर्‍याउने यसको लक्ष्य छ ।

४. किडिगार्ड : बालबालिकाको अनलाइन सुरक्षाका लागि नेपाली प्रविधि

इन्टरनेट र डिजिटल उपकरणको प्रयोग बढेसँगै बालबालिकाको अनलाइन गतिविधि पनि विस्तार भइरहेको छ । तर इन्टरनेटमा उपलब्ध सबै सामाग्री बालबालिकाका लागि सुरक्षित हुँदैनन् । साइबर दुर्व्यवहार, अनलाइन प्रलोभन, दुर्व्यवहारपूर्ण सम्पर्क, अनुपयुक्त सामाग्री र अत्यधिक डिजिटल उपकरण प्रयोगजस्ता समस्याले बालबालिकाको सुरक्षा र व्यवहारमा असर पार्न सक्छन् ।

यस्ता चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले किडिगार्ड विकास गरिएको हो । यो नेपालमै निर्माण गरिएको कृत्रिम बुद्धिमत्तामा आधारित बाल डिजिटल सुरक्षा तथा अभिभावकीय निगरानी प्लेटफर्म हो । यसले बालबालिकालाई अनलाइन जोखिमबाट सुरक्षित राख्न अभिभावकलाई आवश्यक जानकारी र निगरानीका सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

किडिगार्डमा एन्ड्रोइड उपकरणमा जटिल प्रणालीगत परिवर्तन अर्थात् रुट नगरी प्रयोग गर्न सकिने प्रविधि समावेश गरिएको छ । यसले विभिन्न भाषामा उपलब्ध अनलाइन सामाग्री तथा गतिविधिको विश्लेषण गरी सम्भावित जोखिम पहिचान गर्ने सुविधा दिन्छ । त्यस्तै, तथ्याङ्कलाई सुरक्षित राख्न गुप्तीकरण प्रविधि र अभिभावकले बालबालिकाको डिजिटल गतिविधि हेर्न सक्ने अन्तरक्रियात्मक नियन्त्रण प्यानल पनि यसमा समावेश गरिएको छ ।

यस प्लेटफर्मको उद्देश्य केवल बालबालिकाले इन्टरनेटमा के गरिरहेका छन् भन्ने निगरानी गर्नु मात्र होइन, उनीहरूलाई सुरक्षित डिजिटल बानी विकास गर्न सहयोग गर्नु पनि हो । नेपाली परिवार र शैक्षिक संस्थालाई लक्षित गर्दै स्थानीय मूल्यअनुसारको पहुँचयोग्य डिजिटल सुरक्षा सेवा उपलब्ध गराउने यसको लक्ष्य छ ।

परियोजनाका अनुसार किडिगार्डको मोबाइल प्रणाली, ब्याकइन्ड र वेब प्रणाली विकास भइसकेका छन् । यसले ६५ वटा स्वचालित तथा एकीकृत परीक्षणसमेत सफलतापूर्वक पार गरेको जनाएको छ । हाल यसलाई प्रयोगका लागि तयार अवस्थामा रहेको परियोजनाका रूपमा प्रस्तुत गरिएको छ । बालबालिकाको डिजिटल सुरक्षालाई परिवार र विद्यालय दुवैको साझा जिम्मेवारीका रूपमा अघि बढाउन किडिगार्डले प्रविधिको प्रयोग गर्न खोजेको छ ।

५. लाइफलाइन् : मोबाइल नेटवर्क नपुग्ने हिमाली क्षेत्रमा आपत्कालीन सञ्चार

नेपालका दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा प्राकृतिक विपद्, दुर्घटना वा स्वास्थ्यसम्बन्धी आपत्कालीन अवस्था आइपर्दा समयमै सूचना आदानप्रदान गर्न कठिन हुन सक्छ । कतिपय स्थानमा मोबाइल नेटवर्क उपलब्ध नहुने वा इन्टरनेट सेवा नपुग्ने भएकाले बिरामी, दुर्घटनामा परेका व्यक्ति वा जोखिममा रहेका समुदायले तत्काल सहायता माग्न सक्दैनन् । यस्तो अवस्थामा सञ्चारको वैकल्पिक व्यवस्था आवश्यक हुन्छ ।

यही समस्या समाधान गर्ने उद्देश्यले लाइफलाइन् नामक आपत्कालीन सञ्चार प्रणाली विकास भइरहेको छ । यो मोबाइल नेटवर्क र इन्टरनेटको पहुँच नभएका स्थानमा पनि काम गर्न सक्ने कम लागतको सञ्चार प्रणाली हो । यसले लामो दूरीसम्म रेडियो सङ्केत पठाउन सक्ने लोरा प्रविधिको प्रयोग गर्छ ।

लाइफलाइन्मार्फत दुर्गम क्षेत्रका स्थानीय बासिन्दाले स्वास्थ्य चौकी, स्थानीय प्रशासन तथा आपत्कालीन उद्धार टोलीलाई सूचना पठाउन सक्छन् । कुनै व्यक्ति बिरामी परेमा, दुर्घटनामा परेमा वा अन्य आपत्कालीन अवस्था सिर्जना भएमा प्रणालीमार्फत चेतावनी सन्देश पठाउन सकिन्छ । सन्देश प्राप्त भएको पुष्टि हुने दुईतर्फी सञ्चार सुविधाले सूचना सम्बन्धित निकायसम्म पुगेको छ कि छैन भन्ने थाहा पाउन पनि सहयोग गर्छ ।

यस प्रणालीको उपयोगिता विशेष गरी हिमाली क्षेत्रका त्यस्ता बस्तीमा हुन सक्छ, जहाँ सडक, मोबाइल नेटवर्क र अन्य सञ्चार पूर्वाधार पर्याप्त छैनन् । लाइफलाइन्ले आपत्कालीन अवस्थाको सूचना छिटो पुर्‍याएर उद्धार तथा उपचार प्रक्रिया अघि बढाउन सहयोग गर्ने लक्ष्य राखेको छ ।

हाल यो परियोजना कार्यशील नमुना विकासको चरणमा छ । भविष्यमा रेडियो, मोबाइल नेटवर्क र भूउपग्रहमा आधारित सञ्चारलाई एकीकृत गर्ने मिश्रित सञ्जाल निर्माण गर्ने यसको योजना छ । यसबाट दुर्गम समुदायका लागि भरपर्दो र विस्तार गर्न सकिने आपत्कालीन सञ्चार प्रणाली उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

६. प्रेडिक्सन अफ प्रेडिक्सन : एआईले दिने गलत जानकारी पहिचान गर्ने प्रणाली

कृत्रिम बुद्धिमत्तामा आधारित भाषा मोडलको प्रयोग बढेसँगै यसले दिने जानकारीको विश्वसनीयतामाथि पनि प्रश्न उठ्न थालेको छ । यस्ता प्रणालीले कहिले काहीँ तथ्यमा आधारित नभएका जानकारी आत्मविश्वासका साथ प्रस्तुत गर्न सक्छन् । यसरी वास्तविकतासँग मेल नखाने वा आधारहीन जानकारी सिर्जना गर्ने समस्यालाई एआई हलुसिनेसन भनिन्छ । त्यस्तै, उत्तरभित्रै तार्किक असङ्गति देखिने समस्या पनि भाषा मोडलमा हुन सक्छ ।

यस्ता त्रुटि प्रयोगकर्तासम्म पुग्नुअघि नै पहिचान गर्ने उद्देश्यले प्रेडिक्सन अफ प्रेडिक्सन नामक परियोजना विकास गरिएको हो । यसलाई संक्षेपमा पीओपी भनिन्छ । यो विभिन्न भाषा मोडलसँग काम गर्न सक्ने हलुका एआई प्रमाणीकरण प्रणाली हो । यसको उद्देश्य भाषा मोडलले तयार पारेको उत्तरमा तथ्यगत त्रुटि वा तार्किक असङ्गति छ कि छैन भन्ने जाँच गर्नु हो ।

पीओपीले प्राकृतिक भाषा निष्कर्ष प्रविधिको प्रयोग गरेर मोडलबाट प्राप्त उत्तरको विश्लेषण गर्छ । यसले मूल भाषा मोडललाई पुनः प्रशिक्षण दिनुपर्ने आवश्यकता नराखी त्यसबाट उत्पन्न सामग्रीको विश्वसनीयता जाँच गर्ने लक्ष्य राखेको छ । यसरी भाषा मोडलले तयार पारेको जवाफ अन्तिम प्रयोगकर्तासम्म पुग्नुअघि नै सम्भावित त्रुटि पहिचान गर्न सकिने यसको अवधारणा छ ।

यो प्रणाली विभिन्न प्रकारका भाषा मोडलसँग प्रयोग गर्न सकिने भएकाले यसको उपयोगिता फराकिलो हुन सक्छ । विशेष गरी कम्पनी, संस्था र व्यावसायिक सेवामा एआईको प्रयोग गर्दा गलत जानकारीका कारण उत्पन्न हुन सक्ने जोखिम कम गर्न यसले सहयोग पुर्‍याउन सक्छ ।

यस परियोजनाको प्रारम्भिक अनुसन्धान सार्वजनिक अनुसन्धान प्रकाशन मञ्च आर्काइभमा प्रकाशित भइसकेको छ । हाल यसको दोस्रो संस्करण विकास र सीमित परीक्षण वातावरणमा प्रयोग गर्ने काम भइरहेको छ । आगामी चरणमा एपीआई गेटवे र संस्थागत आवश्यकताअनुसार प्रयोग गर्न सकिने एआई सुरक्षा समाधान सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । यसका लागि परियोजनाले इमर्जेन्ट भेन्चर्सको अनुदानसमेत प्राप्त गरेको विवरण दिएको छ ।

७. साक्षी : सम्पदा संरक्षणका लागि स्थानसहितको डिजिटल प्रमाण

नेपालका ऐतिहासिक सम्पदा, मठमन्दिर, स्तूप तथा पुरातात्त्विक संरचनाको संरक्षणका लागि तिनको अवस्था नियमित रूपमा अभिलेख राख्नु आवश्यक हुन्छ । समयसँगै संरचनामा आउने क्षति, वातावरणीय प्रभाव वा मानवीय गतिविधिका कारण हुने परिवर्तन पहिचान गर्न पुराना र नयाँ अवस्थाको तुलना गर्नुपर्ने हुन्छ । तर सम्पदाको नियमित निगरानी र अभिलेखीकरणका लागि आवश्यक जनशक्ति तथा स्रोतसाधन सधैँ उपलब्ध नहुन सक्छन् ।

यही आवश्यकतालाई ध्यानमा राखेर साक्षी नामक मोबाइल एप्लिकेसन विकास गरिएको हो । यसले सम्पदा अवलोकन गर्न पुगेका व्यक्तिले खिचेका तस्बिरलाई स्थान र दिशासहित अभिलेखमा रूपान्तरण गर्छ । यसरी खिचिएका तस्बिरलाई पछि पुनः त्यही स्थानबाट खिचिएका तस्बिरसँग तुलना गरी संरचनामा आएको परिवर्तन पहिचान गर्न सकिन्छ ।

साक्षीले विश्वव्यापी स्थान निर्धारण प्रणाली, कम्पासको दिशा र मोबाइल उपकरणका सेन्सरबाट प्राप्त विवरण प्रयोग गर्छ । यसका साथै उपकरणभित्रै काम गर्ने क्षति पहिचान प्रविधिले सम्पदामा देखिएका सम्भावित परिवर्तन तथा क्षतिको निगरानी गर्न सहयोग पुर्‍याउँछ । यसबाट कुनै सम्पदाको अवस्था समयक्रममा कसरी परिवर्तन भइरहेको छ भन्ने कुरा व्यवस्थित रूपमा बुझ्न सकिन्छ ।

यस प्लेटफर्मको विशेषता सर्वसाधारणलाई पनि सम्पदा संरक्षणको प्रक्रियासँग जोड्नु हो । सम्पदा अवलोकन गर्न जाने आगन्तुकले खिचेको तस्बिर तथा अन्य विवरण संरक्षणसम्बन्धी प्रमाणका रूपमा उपयोग गर्न सकिन्छ । त्यसपछि सम्बन्धित सम्पदा व्यवस्थापन गर्ने निकाय र अनुसन्धानकर्ताले छुट्टै नियन्त्रण प्यानलमार्फत प्राप्त जानकारीको निगरानी गर्न सक्छन् ।

हाल साक्षी लुम्बिनी र काठमाडौं उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा कार्यशील प्रणालीका रूपमा प्रयोगमा रहेको छ । यसले सम्पदा संरक्षणमा नागरिक सहभागिता बढाउँदै नियमित निगरानीलाई सरल, भरपर्दो र कम खर्चिलो बनाउने लक्ष्य राखेको छ ।

८. सेतु : नेटवर्कविहीन अवस्थामा पनि आपत्कालीन सूचना पुर्‍याउने प्रणाली

प्राकृतिक विपद्, दुर्घटना वा अन्य आपत्कालीन घटनामा तत्काल सूचना आदानप्रदान हुन नसक्दा उद्धार कार्यमा ढिलाइ हुन सक्छ । विशेष गरी सञ्चार पूर्वाधार कमजोर भएका ग्रामीण तथा दुर्गम क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या अझ जटिल बन्न सक्छ । यस्ता परिस्थितिमा सामान्य सञ्चार माध्यमले काम नगरे पनि सूचना पठाउन सक्ने वैकल्पिक प्रणाली आवश्यक हुन्छ ।

सेतु यही आवश्यकतालाई सम्बोधन गर्न विकास भइरहेको आपत्कालीन सञ्चार तथा प्रतिकार्य प्लेटफर्म हो । यसले मोबाइल वा इन्टरनेट नेटवर्क उपलब्ध नभएको अवस्थामा पनि दुर्गम समुदाय र आपत्कालीन सेवाप्रदायकबीच सम्पर्क स्थापित गर्ने लक्ष्य राखेको छ ।

सेतुले लामो दूरीसम्म सञ्चार गर्न सक्ने लोरा प्रविधि, विशेष रूपमा तयार पारिएका एसओएस उपकरण र केन्द्रीय नियन्त्रण प्यानलको प्रयोग गर्छ । कुनै आपत्कालीन अवस्था आइपर्दा प्रयोगकर्ताले एसओएस उपकरणमार्फत सहायता अनुरोध पठाउन सक्छन् । उक्त सूचना केन्द्रीय प्रणालीमा पुगेपछि सम्बन्धित उद्धारकर्ता वा निकायलाई जिम्मेवारी तोक्न र घटनाको प्रगतिलाई निगरानी गर्न सकिन्छ ।

यस प्रणालीले सूचना पठाउने काममा मात्र सीमित नरही सहायता अनुरोध प्राप्त भएदेखि समस्या समाधान नहुँदासम्मको प्रक्रियालाई व्यवस्थित बनाउने प्रयास गरेको छ । यसबाट आपत्कालीन घटनाको अभिलेख राख्न, जिम्मेवारी व्यवस्थापन गर्न र उद्धार प्रक्रियाको अवस्थाबारे जानकारी लिन सहज हुन सक्छ ।

हाल सेतु कार्यशील नमुना विकासको चरणमा छ । आगामी दिनमा यसलाई थप समुदायसम्म विस्तार गर्दै विपद् व्यवस्थापन, आपत्कालीन प्रतिकार्य र स्थानीय सुरक्षाका लागि प्रयोग गर्न सकिने किफायती तथा विस्तारयोग्य प्रणाली बनाउने लक्ष्य राखिएको छ ।

९. स्काइट्रुप–पी१ : दुर्गम क्षेत्रमा औषधि पुर्‍याउने स्वचालित ड्रोन

नेपालको भौगोलिक बनावटका कारण दुर्गम तथा हिमाली क्षेत्रमा स्वास्थ्य सेवा र अत्यावश्यक औषधि पुर्‍याउनु चुनौतीपूर्ण छ । कतिपय बस्तीमा सडक पहुँच नहुँदा स्वास्थ्य सामाग्री ढुवानी गर्न लामो समय लाग्न सक्छ । विशेष गरी तापक्रमअनुसार सुरक्षित राख्नुपर्ने औषधि समयमै सम्बन्धित स्थानमा पुर्‍याउनु अझ कठिन हुन्छ । यस्तो समस्या समाधान गर्न हवाई प्रविधिको प्रयोग प्रभावकारी विकल्प हुन सक्छ ।

स्काइट्रुप–पी१ यही अवधारणामा आधारित स्वचालित ड्रोन परियोजना हो । यसले ठाडो रूपमा उड्न र अवतरण गर्न सक्ने तथा निश्चित उडान अवस्थामा विमानजस्तै पखेटाको सहायताले अघि बढ्न सक्ने प्रविधिलाई एकीकृत गरेको छ । यसलाई भिटिओएल अर्थात् ठाडो उडान तथा अवतरण गर्न सक्ने मानवरहित हवाई उपकरणका रूपमा विकास गरिएको हो ।

यस ड्रोनको मुख्य उद्देश्य दुर्गम समुदायमा अत्यावश्यक स्वास्थ्य सामाग्री र औषधि पुर्‍याउनु हो । यसले कठिन भौगोलिक क्षेत्रमा तापक्रम संवेदनशील औषधिसमेत ढुवानी गर्न सक्ने लक्ष्य राखेको छ । स्वास्थ्य सामाग्री ढुवानीसँगै यसमा जडान गरिएको सेन्सर प्रणालीले वातावरणीय विवरण पनि सङ्कलन गर्न सक्छ । विशेष गरी वायुको गुणस्तरसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न यसको प्रयोग गर्न सकिने अवधारणा छ ।

स्काइट्रुप–पी१ ले यातायात र स्वास्थ्य सेवाको पहुँच कमजोर भएका क्षेत्रमा औषधि ढुवानीलाई सहज बनाउने मात्र नभई वातावरणीय निगरानीमा पनि सहयोग पुर्‍याउन खोजेको छ । हाल यस परियोजनाको उडानसम्बन्धी परीक्षण कम्प्युटरमा आधारित अनुकरण अर्थात् सिमुलेसनमार्फत भइरहेको छ । आगामी दिनमा वास्तविक भौगोलिक अवस्थामा यसको क्षमता परीक्षण गरी थप विकास गर्ने लक्ष्य राखिएको छ ।

१०. सुरक्षा ३६० : घर, कार्यालय र सवारी साधनलाई एउटै प्रणालीबाट नियन्त्रण

प्रविधिको विकाससँगै घर, कार्यालय तथा विभिन्न उपकरणलाई मोबाइल वा अन्य डिजिटल माध्यमबाट नियन्त्रण गर्ने चलन बढ्दै गएको छ । तर फरक–फरक उपकरण र प्रणालीका लागि छुट्टाछुट्टै समाधान प्रयोग गर्नुपर्ने हुँदा तिनलाई एकै ठाउँबाट व्यवस्थापन गर्न कठिन हुन सक्छ । यस समस्यालाई सम्बोधन गर्दै सुरक्षा ३६० ले विभिन्न सुरक्षा तथा स्वचालन सुविधालाई एउटै प्रणालीमा एकीकृत गर्ने प्रयास गरेको छ ।

सुरक्षा ३६० इन्टरनेट अफ थिङ्समा आधारित स्मार्ट सुरक्षा तथा स्वचालन प्रणाली हो । यसले घरको स्वचालन, जीएसएममार्फत मोटर नियन्त्रण र मोटरसाइकलमा चाबीबिनै इन्जिन सुरु गर्न सकिने सुविधा एउटै प्रणालीमा जोड्ने लक्ष्य राखेको छ ।

यस परियोजनामा ईएसपी ३२ नियन्त्रक, क्लाउड प्रणाली, ब्लुटुथ सञ्चार, मोबाइल एप्लिकेसन, आवाजमार्फत नियन्त्रण गर्ने सुविधा र आफ्नै स्मार्ट घडी प्रयोग गरिएको छ । यी प्रविधिको सहायताले प्रयोगकर्ताले विभिन्न भौतिक उपकरण तथा प्रणालीलाई मोबाइल वा आवाजको माध्यमबाट नियन्त्रण गर्न सक्छन् ।

उदाहरणका लागि घरमा जडान गरिएका उपकरण सञ्चालन गर्ने, मोटर नियन्त्रण गर्ने तथा सवारीसाधनको इन्जिन सुरु गर्ने कामलाई एउटै एकीकृत प्रणालीबाट व्यवस्थापन गर्न सकिने अवधारणा यसमा समावेश छ । यसले घर तथा कार्यालयको सुरक्षा र दैनिक कामलाई सहज बनाउने लक्ष्य राखेको छ ।

हाल सुरक्षा ३६० कार्यशील नमुना विकासको चरणमा छ । परियोजनाले घर, कार्यालय, शैक्षिक संस्था र व्यक्तिगत यातायातका क्षेत्रमा प्रयोग गर्न सकिने पहुँचयोग्य स्वचालन प्रणाली विकास गर्न खोजेको छ । विभिन्न उपकरणलाई एउटै डिजिटल सञ्जालमा जोड्ने यसको प्रयासले स्थानीय स्तरमा स्मार्ट उपकरण तथा स्वचालन प्रविधिको विकासलाई पनि प्रोत्साहन गर्न सक्छ ।

११. स्वर–साथी : ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि आवाजबाट चल्ने विद्युतीय सवारी

शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि सुरक्षित तथा सहज आवागमनको व्यवस्था हुनु आवश्यक छ । बजारमा उपलब्ध कतिपय विद्युतीय सवारी साधन महँगा वा प्रयोगकर्ताको विशेष आवश्यकताअनुसार अनुकूल नहुन सक्छन् । त्यस्तै, सवारी नियन्त्रणका लागि हातको प्रयोग गर्न कठिनाइ हुने व्यक्तिका लागि आवाजबाट सञ्चालन गर्न सकिने विकल्प उपयोगी हुन सक्छ ।

यही आवश्यकता सम्बोधन गर्ने उद्देश्यले स्वर–साथी विकास गरिएको हो । यो सौर्य ऊर्जाबाट समेत चार्ज गर्न सकिने, आवाजबाट नियन्त्रण हुने र आवश्यक पर्दा फोल्ड गर्न मिल्ने विद्युतीय गो–कार्ट हो । यसलाई विशेष गरी ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिको आवागमन सहज बनाउने लक्ष्यसहित तयार पारिएको छ ।

स्वर–साथीमा अफलाइन अवस्थामा समेत काम गर्न सक्ने कृत्रिम बुद्धिमत्तामा आधारित आवाज पहिचान प्रणाली राखिएको छ । यसबाट प्रयोगकर्ताले आवाजमार्फत सवारी नियन्त्रण गर्न सक्छन् । त्यस्तै, बाटोमा सम्भावित अवरोधसँग ठोक्किन नदिन एन्टी–कोलिजन प्रणालीसमेत समावेश गरिएको छ । यसको हलुका संरचनालाई आवश्यक परेको अवस्थामा फोल्ड गर्न सकिने गरी तयार पारिएको छ ।

परियोजनाले सवारीलाई वातावरणमैत्री बनाउन सौर्य ऊर्जाको प्रयोग गर्ने अवधारणा पनि समेटेको छ । यसले प्रयोगकर्ताको आवागमन सहज बनाउनुका साथै परम्परागत सवारीको विकल्पमा दिगो यातायात प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्न खोजेको छ ।

परियोजनाले उपलब्ध गराएको विवरणअनुसार स्वर–साथीले प्रारम्भिक परीक्षणमा प्रतिघण्टा २० किलोमिटरको अधिकतम गति हासिल गरेको छ । त्यस्तै, आवाजमार्फत दिइएका निर्देशन सफलतापूर्वक बुझ्ने दर ९५ प्रतिशत रहेको जनाइएको छ । यस परियोजनाले वाईएसएस २०२५ र लोकस २०२६ मा समेत पहिचान प्राप्त गरेको छ । हाल यो कार्यशील नमुना चरणमा रहेको छ ।

१२. सिन्याप्टिक : बालबालिकाको भाषा सिकाइमा संवर्धित वास्तविकताको प्रयोग

बोल्न वा मौखिक रूपमा आफ्नो विचार व्यक्त गर्न कठिनाइ भएका विकासात्मक भिन्नता भएका बालबालिकालाई नयाँ शब्द सिकाउनु र दैनिक सञ्चारमा सहयोग पुर्‍याउनु विशेष चुनौतीपूर्ण हुन सक्छ । विशेष गरी अटिजम भएका बालबालिकाका लागि उपयुक्त सिकाइ सामाग्री र संवादका उपकरणको आवश्यकता पर्छ । नेपालमा स्थानीय भाषासँग मेल खाने यस्ता सहायक सञ्चार उपकरण सीमित रहेकाले यो क्षेत्रमा थप प्रविधिगत समाधान आवश्यक देखिन्छ ।

यही आवश्यकतालाई ध्यानमा राखेर सिन्याप्टिक नामक संवर्धित वास्तविकतामा आधारित भाषा सिकाइ एप्लिकेसन विकास गरिएको हो । यसले भौतिक सिकाइ कार्ड र डिजिटल प्रविधिलाई एकीकृत गरेर बालबालिकालाई नयाँ शब्द तथा वस्तु पहिचान गर्न सहयोग गर्छ ।

यस प्रणालीमा वास्तविक सिकाइ कार्डलाई मोबाइल उपकरणको क्यामेरामार्फत हेर्दा त्यससँग सम्बन्धित त्रिआयामिक आकृति तथा डिजिटल सामाग्री देख्न सकिने सुविधा छ । अन्तरक्रियात्मक प्रतिक्रिया र नेपाली तथा अंग्रेजी दुवै भाषामा उपलब्ध अडियोले बालबालिकालाई शब्दको अर्थ बुझ्न तथा उच्चारणसँग परिचित हुन सहयोग गर्छ ।

सिन्याप्टिकले बालबालिकालाई केवल शब्द कण्ठ गराउनेभन्दा पनि दृश्य, आवाज र अन्तरक्रियाको माध्यमबाट सिकाइ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । यसका साथै अभिभावक तथा हेरचाहकर्ताले बालबालिकाको सिकाइ प्रगति हेर्न सक्ने सुविधा पनि विकास गर्ने उद्देश्य राखिएको छ ।

यस परियोजनाको अर्को महत्त्वपूर्ण पक्ष नेपालमा स्थानीय आवश्यकताअनुसार तयार पारिएका वैकल्पिक तथा सहायक सञ्चार सामग्रीको अभावलाई सम्बोधन गर्नु हो । हाल सिन्याप्टिक गुगल प्लेमा बिटा संस्करणका रूपमा उपलब्ध छ ।

परियोजनाले होप सेन्टर फर चाइल्ड डेभलपमेन्ट, नयाँ आशा विद्यालय, काठमाडौं विश्वविद्यालयको हेल्थ इन्फर्मेटिक्स ल्याब तथा त्रिभुवन विश्वविद्यालयको कग्निटिभ साइन्स एन्ड साइकोलिङ्ग्विस्टिक्स ल्याबसँग सहकार्य गर्दै परीक्षण तथा पाइलट कार्यक्रम अघि बढाइरहेको छ ।

१३. काइरोस इन्जिन : कठिन भौगोलिक अवस्थामा ड्रोनको उडान सुरक्षित बनाउने एआई प्रणाली

ड्रोन प्रविधिको प्रयोग स्वास्थ्य सामग्री ढुवानी, कृषि, सर्वेक्षण र अन्य व्यावसायिक क्षेत्रमा बढ्दै गएको छ । तर नेपालजस्तो पहाडी तथा हिमाली भूगोलमा लामो दूरीसम्म ड्रोन उडाउनु चुनौतीपूर्ण हुन्छ । पहाडी हावाको चाप, मौसममा आउने परिवर्तन, ब्याट्री सकिनु र कठिन भूभागजस्ता कारणले ड्रोनको उडान जोखिमपूर्ण बन्न सक्छ ।

यस्ता जोखिमलाई पहिले नै विश्लेषण गरी सुरक्षित उडानको निर्णय लिन सहयोग गर्ने उद्देश्यले काइरोस इन्जिन विकास गरिएको हो । यो लामो दूरीमा मानवीय प्रत्यक्ष निगरानीबिना उड्ने ड्रोनका लागि तयार पारिएको कृत्रिम बुद्धिमत्तामा आधारित निर्णय प्रणाली हो ।

यस प्रणालीले ड्रोनको उडानका क्रममा विभिन्न जोखिमको मूल्याङ्कन गर्छ । पहाडी क्षेत्रमा हावाको दिशा र गति, ब्याट्रीको अवस्था तथा सम्भावित खतरनाक भूभागलाई विश्लेषण गरेर उडानका लागि उपयुक्त विकल्प छनोट गर्न सहयोग गर्छ । कुनै जोखिम देखिएमा सामान्य अवस्थामा गरिने आपत्कालीन प्रतिक्रियाभन्दा सुरक्षित विकल्प पहिचान गर्ने यसको उद्देश्य हो ।

काइरोस इन्जिनले ड्रोनलाई केवल पूर्वनिर्धारित मार्गमा उडाउनेभन्दा पनि उडानको अवस्थाअनुसार निर्णय लिन सक्ने प्रणाली विकास गर्न खोजेको छ । यसले विशेष गरी स्वास्थ्य सामग्री ढुवानी गर्ने ड्रोन, व्यावसायिक ड्रोन सेवा सञ्चालक र उड्डयन नियमन गर्ने निकायका लागि उपयोगी प्रविधि उपलब्ध गराउने लक्ष्य राखेको छ ।

परियोजनाले सार्वजनिक गरेको विवरणअनुसार यसले पाँच हजार हिमाली उडानसम्बन्धी सिमुलेसनमा ९७.४ प्रतिशत उडान जोखिम पूर्वानुमान शुद्धता हासिल गरेको छ । त्यस्तै, रास्पबेरी पाई ५ जस्ता साना कम्प्युटिङ उपकरणसँग समेत प्रयोग गर्न सकिने अनुकूलता प्रदर्शन गरेको जनाइएको छ । हाल यो परियोजना उन्नत नमुना विकास र सिमुलेसनमा आधारित प्रमाणीकरणको चरणमा छ ।

१४. ट्राफिक आई : नेपाली सवारी नम्बर प्लेट पहिचान गर्ने एआई प्रणाली

नेपालका सडकमा सवारी साधनको सङ्ख्या बढ्दै जाँदा ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको चुनौती पनि बढिरहेको छ । कुनै दुर्घटना, नियम उल्लङ्घन वा अन्य आपराधिक घटनाको अनुसन्धान गर्दा सीसीटीभी फुटेज हेरेर सवारी साधन पहिचान गर्नुपर्ने हुन्छ । तर लामो समयको भिडियो सामाग्री म्यानुअल रूपमा हेरेर आवश्यक विवरण खोज्नु झन्झटिलो र समय लाग्ने प्रक्रिया हो ।

यस्तो कामलाई छिटो र प्रभावकारी बनाउन ट्राफिक आई नामक कृत्रिम बुद्धिमत्तामा आधारित ट्राफिक निगरानी तथा नम्बर प्लेट पहिचान प्रणाली विकास गरिएको हो । यसले सीसीटीभी क्यामेराबाट प्राप्त दृश्यलाई खोज्न र विश्लेषण गर्न सकिने डिजिटल अभिलेखमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ ।

यस प्रणालीले भिडियोमा देखिएका सवारी साधन पहिचान गर्ने, नम्बर प्लेट पढ्ने, ट्राफिकको गतिविधि विश्लेषण गर्ने र केही निश्चित नियम उल्लङ्घन समेत पत्ता लगाउने सुविधा दिन्छ । उदाहरणका लागि हेल्मेट नलगाई मोटरसाइकल चलाएको जस्ता गतिविधि पहिचान गर्न यसलाई प्रयोग गर्न सकिन्छ ।

ट्राफिक आईको मुख्य विशेषता नेपाली सवारी नम्बर प्लेटका विभिन्न ढाँचा र स्थानीय सडकको अवस्थालाई ध्यानमा राखेर प्रणाली विकास गर्नु हो । अन्य देशका लागि बनाइएका नम्बर प्लेट पहिचान प्रणालीले नेपाली नम्बर प्लेटका फरक स्वरूपलाई सही रूपमा पढ्न नसक्ने सम्भावना हुन्छ । त्यसैले स्थानीय आवश्यकता र सवारी नम्बर प्लेटको ढाँचाअनुसार काम गर्ने प्रणाली निर्माण गर्नु यसको महत्त्वपूर्ण पक्ष हो ।

यसले नेपाल प्रहरीको ट्राफिक शाखा, सुरक्षा निकाय तथा आधिकारिक अनुसन्धानकर्तालाई भिडियो विश्लेषण र घटनाको अनुसन्धानमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ । हाल यो न्यूनतम कार्यशील उत्पादन तथा अवधारणाको प्रमाण प्रस्तुत गर्ने चरणमा छ । परियोजनाले प्रहरी अधिकारीहरूसमक्ष यसको प्रदर्शन गरिसकेको र वास्तविक परिस्थितिमा एउटा क्यामेराबाट परीक्षण गर्ने तयारी गरिरहेको जनाएको छ ।

१५. जेलियन्ट शप : नेपाली व्यवसायलाई डिजिटल व्यापारमा जोड्ने प्लेटफर्म

डिजिटल माध्यमबाट सामान तथा सेवा बिक्री गर्ने प्रवृत्ति बढ्दै जाँदा साना तथा मझौला व्यवसायका लागि पनि अनलाइन व्यापारमा प्रवेश गर्ने अवसर विस्तार भएको छ । तर आफ्नै अनलाइन पसल निर्माण गर्ने, सामानको विवरण राख्ने, मौज्दात व्यवस्थापन गर्ने, भुक्तानी लिने र सामान ढुवानी गर्ने प्रक्रिया एकैसाथ व्यवस्थापन गर्न साना व्यवसायलाई कठिन हुन सक्छ । विशेष गरी प्राविधिक ज्ञान नभएका व्यवसायीका लागि अनलाइन व्यापार सञ्चालन गर्न थप सहज प्रणालीको आवश्यकता हुन्छ ।

यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले जेलियन्ट शप नामक डिजिटल व्यापार प्लेटफर्म विकास गरिएको हो । यो नेपालमै निर्माण गरिएको यस्तो प्रणाली हो, जसले व्यवसायलाई आफ्नै अनलाइन पसल निर्माण र सञ्चालन गर्न आवश्यक विभिन्न सुविधा एकै ठाउँमा उपलब्ध गराउँछ ।

जेलियन्ट शपमा अनुकूलन गर्न सकिने अनलाइन पसल निर्माण सुविधा, उत्पादन व्यवस्थापन, मौज्दात नियन्त्रण, बिक्री केन्द्र अर्थात् पीओएस, अर्डर व्यवस्थापन, भुक्तानी तथा ढुवानी सेवासँगको एकीकरण, ग्राहक व्यवस्थापन र व्यावसायिक विश्लेषणका उपकरण समावेश छन् । यसका साथै कृत्रिम बुद्धिमत्तामा आधारित सहायक सुविधामार्फत व्यवसाय सञ्चालनका विभिन्न प्रक्रियालाई सहज बनाउने प्रयास गरिएको छ ।

यस प्लेटफर्मको विशेषता फरक प्राविधिक क्षमता भएका प्रयोगकर्ताले पनि आफ्नो आवश्यकताअनुसार अनलाइन पसल बनाउन सक्नु हो । यसमा ड्र्याग एन्ड ड्रप प्रणालीमार्फत सामग्री राखेर वेबसाइट निर्माण गर्न सकिने सुविधा छ । त्यस्तै, थप प्राविधिक ज्ञान भएका प्रयोगकर्ताका लागि आफ्नै कोड प्रयोग गरेर पसल अनुकूलन गर्ने विकल्प पनि उपलब्ध छ ।

जेलियन्ट शपले साना तथा मझौला उद्यम, उद्यमी, खुद्रा व्यवसायी, आफ्नै ब्रान्डमार्फत सामान बिक्री गर्ने व्यवसाय र सामाजिक सञ्जालबाट व्यापार गर्ने विक्रेतालाई लक्षित गरेको छ । स्थानीय भुक्तानी र ढुवानी सेवासँग जोडिन सक्ने सुविधाले नेपाली व्यवसायलाई अनलाइन व्यापार सञ्चालन गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।

यो प्लेटफर्म सञ्चालनमा आइसकेको छ । परियोजनाले सार्वजनिक गरेको विवरणअनुसार यसमा नेपालभर तीन हजार चार सयभन्दा बढी व्यवसायी दर्ता भइसकेका छन् । अहिले यसले स्वचालन, विभिन्न सेवासँगको एकीकरण र कृत्रिम बुद्धिमत्तामा आधारित व्यापारिक सुविधालाई थप विस्तार गरिरहेको छ । यसले नेपाली व्यवसायलाई डिजिटल बजारमा प्रवेश गर्न र आफ्नो कारोबार विस्तार गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ ।

null

नवप्रवर्तनका फरक क्षेत्र, साझा उद्देश्य

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२६ का यी १५ परियोजनालाई हेर्दा नेपालमा नवप्रवर्तनको क्षेत्र स्वास्थ्य र शिक्षामा मात्र सीमित नरहेको देखिन्छ । दृष्टिल्याब्स र स्वर–साथीले अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको सहज जीवनयापनलाई प्राथमिकता दिएका छन् भने इभो–मोईले स्वास्थ्य क्षेत्रमा औषधि प्रतिरोधको चुनौती समाधान गर्न खोजेको छ । सिन्याप्टिकले बालबालिकाको सिकाइलाई थप पहुँचयोग्य बनाउन प्रविधिको प्रयोग गरेको छ भने हरित पाठशालाले वातावरणीय चेतनालाई विद्यालय तहमा पुर्‍याउने प्रयास गरेको छ ।

त्यस्तै, लाइफलाइन् र सेतुले दुर्गम क्षेत्रमा सञ्चार तथा आपत्कालीन उद्धारलाई सहज बनाउन खोजेका छन् । स्काइट्रुप–पी१ र काइरोस इन्जिनले ड्रोन प्रविधिको प्रयोगमार्फत स्वास्थ्य सामग्री ढुवानी तथा सुरक्षित उडानको सम्भावना खोजिरहेका छन् । साक्षीले सम्पदा संरक्षणमा नागरिक सहभागिता र डिजिटल अभिलेखीकरणलाई जोड दिएको छ भने सुरक्षा ३६० ले दैनिक जीवनमा प्रयोग हुने विभिन्न उपकरणलाई एकीकृत गर्ने प्रयास गरेको छ ।

किडिगार्डले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकता दिएको छ भने पीओपी र ट्राफिक आईले कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीलाई थप विश्वसनीय र उपयोगी बनाउने लक्ष्य राखेका छन् । त्यस्तै, जेलियन्ट शपले साना तथा मझौला व्यवसायलाई डिजिटल अर्थतन्त्रसँग जोड्ने प्रयास गरिरहेको छ ।

यी परियोजनाको विकास अवस्था र प्रयोगको क्षेत्र फरक–फरक भएपनि तिनको साझा उद्देश्य प्रविधिलाई वास्तविक आवश्यकतासँग जोड्नु हो । केही परियोजना अझै नमुना विकास र परीक्षणको चरणमा छन् भने केहीले प्रयोगमा आउन सक्ने प्रणाली तयार पारिसकेका छन् । आगामी दिनमा यी परियोजनाले आफ्नो प्रविधिलाई थप परिष्कृत गर्दै प्रयोगकर्ता, बजार र समुदायसम्म विस्तार गर्न सके नेपालको नवप्रवर्तन तथा डिजिटल विकासमा योगदान पुर्‍याउन सक्छन् ।