काठमाडौं । कृषि, शिक्षा, स्वास्थ्य, वातावरण, यातायात, विपद् व्यवस्थापनदेखि सहरी सेवासम्म प्रविधिको उपयोग गर्दै सामाजिक चुनौती समाधानका लागि काम गरिरहेका १० परियोजना आइसिटी अवार्ड २०२६ को सामाजिक नवप्रवर्तन विधाको सेमिफाइनलमा पुगेका छन् । स्थानीय आवश्यकता पहिचान गरेर प्रविधिमार्फत व्यावहारिक समाधान प्रस्तुत गरिरहेका यी परियोजनाले समावेशी विकास, सेवा प्रवाहमा सुधार र समुदायको क्षमता अभिवृद्धिमा जोड दिएका छन् ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोग केवल व्यावसायिक सेवा र आर्थिक गतिविधिमा मात्र सीमित छैन । शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहजस्ता क्षेत्रमा पनि प्रविधिले नयाँ सम्भावना सिर्जना गरिरहेको छ ।
यस्तै सामाजिक आवश्यकता र समस्यालाई केन्द्रमा राखेर प्रविधिको उपयोग गर्ने परियोजनाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको आइसिटी अवार्डको सामाजिक नवप्रवर्तन विधामा यस वर्ष विभिन्न क्षेत्रका १० परियोजना सेमिफाइनलका लागि छनोट भएका छन् ।
यी परियोजनामध्ये केहीले डिजिटल प्रणालीमार्फत सरकारी सेवा र व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास गरेका छन् भने केहीले ग्रामीण तथा स्रोत साधन सीमित भएका समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर विस्तार गर्न खोजेका छन् । त्यस्तै, वातावरणीय जोखिम न्यूनीकरण, स्वच्छता, पुनःप्रयोग र विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउने नवीन अभ्यास पनि यस सूचीमा समेटिएका छन् ।
१. बारबर्दिया कृषि-मौसम सन्देश तथा परामर्श प्रणाली : किसानलाई समयमै स्थानीय मौसम र खेतीसम्बन्धी जानकारी
नेपालको कृषि क्षेत्र मौसममा निर्भर छ । वर्षा, तापक्रम, आर्द्रता तथा अन्य मौसमी अवस्थाले बाली लगाउने समयदेखि उत्पादन र भण्डारणसम्म प्रभाव पार्छन् । तर किसानले आफ्नो खेतबारी र बालीलाई प्रत्यक्ष असर गर्ने मौसमसम्बन्धी सूचना तथा कृषि परामर्श समयमै प्राप्त गर्न नसक्दा खेतीपातीमा विभिन्न चुनौती सामना गर्नुपर्छ । यही समस्यालाई सम्बोधन गर्ने उद्देश्यले बारबर्दिया कृषि-मौसम सन्देश तथा परामर्श प्रणाली विकास गरिएको हो ।
यो प्रणालीले कृत्रिम बुद्धिमत्ता, मौसमसम्बन्धी तथ्यांक, बाली पात्रो र कृषि ज्ञानलाई एकीकृत गरी किसानलाई स्थानीय आवश्यकताअनुसार खेतीसम्बन्धी सुझाव उपलब्ध गराउने लक्ष्य राखेको छ । सामान्य मौसम पूर्वानुमान मात्र नभई कुन समयमा कुन बाली लगाउने, मौसमको सम्भावित अवस्थाअनुसार के-कस्ता सावधानी अपनाउने र खेतीका गतिविधि कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उपयोगी जानकारी उपलब्ध गराउने यसको मुख्य उद्देश्य हो ।
यस प्रणालीको प्राविधिक विकास नाक्साले गरेको हो । लि-बर्डको प्राविधिक मार्गदर्शन र डीसीए नेपालको आर्थिक सहयोगमा अघि बढाइएको यो पहल स्थानीय सरकारको नेतृत्वमा सञ्चालन भइरहेको छ । प्रणालीले कृत्रिम बुद्धिमत्ताको सहायताबाट तयार पारिएका कृषि परामर्शलाई नगरपालिकाका कृषि प्राविधिक तथा अधिकारीले समीक्षा र प्रमाणीकरण गरेपछि मात्र किसानसम्म पुर्याउने व्यवस्था गरेको छ । यसले प्रविधिबाट प्राप्त सुझावलाई स्थानीय कृषि विज्ञको ज्ञान र अनुभवसँग जोड्ने काम गर्छ ।
प्रमाणित सन्देशहरू इमेल, ह्वाट्सएप र फेसबुकमार्फत किसानसम्म पुर्याउन सकिन्छ । आगामी चरणमा एसएमएस र आईभीआर प्रणाली पनि एकीकृत गर्ने योजना छ । हाल परीक्षण र सुधारको चरणमा रहेको यस प्रणालीले किसानको निर्णय क्षमता अभिवृद्धि गर्नुका साथै परम्परागत कृषि प्रसार सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने लक्ष्य राखेको छ । स्थानीय तहमा सफल कार्यान्वयन हुन सके यसलाई नेपालका अन्य कृषि क्षेत्र र पालिकामा पनि विस्तार गर्न सकिने सम्भावना छ ।
२. खेल्दै सिक्दै कक्षा : बालबालिकाको सिकाइलाई रमाइलो र व्यवहारिक बनाउने शैक्षिक पहल
शिक्षा प्रभावकारी हुन पाठ्यपुस्तक र कक्षाकोठामा सीमित हुनु हुँदैन । बालबालिकाले आफ्नै अनुभव, प्रयोग, खेल र सहकार्यबाट सिक्ने अवसर पाएमा उनीहरूको जिज्ञासा, सिर्जनशीलता तथा समस्या समाधान गर्ने क्षमताको विकासमा सहयोग पुग्छ । यही मान्यतालाई आधार बनाएर अघि बढाइएको सामाजिक नवप्रवर्तन परियोजना हो, खेल्दै सिक्दै कक्षा ।
विशेष गरी स्रोत साधन सीमित भएका विद्यालयमा बालबालिकाको सिकाइलाई सक्रिय, रोचक र जीवनसँग जोडिएको बनाउन यो पहल केन्द्रित छ । परम्परागत शिक्षण विधिमा शिक्षकले पढाउने र विद्यार्थीले सुन्ने अभ्यास बढी देखिन्छ । तर खेल्दै सिक्दै कक्षाले बालबालिकालाई आफैँ खोज्ने, प्रयोग गर्ने, प्रश्न गर्ने, समूहमा काम गर्ने र आफ्नै अनुभवबाट निष्कर्ष निकाल्ने वातावरण निर्माण गर्न प्रोत्साहित गर्छ ।
यस परियोजनाले शिक्षकलाई खेलमा आधारित शिक्षण विधि बुझ्न र कक्षाकोठामा प्रयोग गर्न आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्य राखेको छ । शिक्षकले पाठ्यक्रमका विषयवस्तुलाई खेल, सिर्जनात्मक गतिविधि, प्रयोग र दैनिक जीवनका उदाहरणसँग जोडेर पढाउन सक्ने क्षमताको विकास गर्नु यसको महत्वपूर्ण पक्ष हो । यसबाट बालबालिकाले किताबमा पढेका विषयलाई व्यवहारमा कसरी लागू गर्न सकिन्छ भन्ने बुझ्ने अवसर पाउँछन् ।
परियोजनाले शिक्षकको क्षमता अभिवृद्धिमा मात्र सीमित नरही विद्यालयका नेतृत्वकर्ता र स्थानीय सरकारलाई पनि यस्तो शिक्षण अभ्यासलाई नियमित कक्षाकोठाको हिस्सा बनाउन प्रोत्साहित गर्छ । शिक्षक, विद्यालय व्यवस्थापन र स्थानीय तहको सहकार्यबाट मात्रै सिकाइको वातावरणमा दीर्घकालीन परिवर्तन ल्याउन सकिने यसको अवधारणा छ ।
विशेष गरी बालबालिकामा सिकाइप्रतिको रुचि बढाउने, कक्षाकोठामा सहभागिता विस्तार गर्ने र शिक्षालाई जीवनोपयोगी बनाउने लक्ष्य राखेको खेल्दै सिक्दै कक्षाले शिक्षा प्रणालीलाई बालमैत्री तथा अनुभवमा आधारित बनाउन योगदान पुर्याउन खोजेको छ । यसले सिकाइलाई केवल परीक्षा र अंकमा सीमित नराखी जिज्ञासा, सहकार्य र व्यवहारिक ज्ञानको अभ्यासका रूपमा विकास गर्ने प्रयास गरेको छ ।
३. कोपिला भ्याली स्कुल मेकर स्पेस : ग्रामीण विद्यार्थीलाई सिर्जना र आविष्कारको अवसर
प्रविधिको पहुँच विस्तार भइरहेको भएपनि ग्रामीण क्षेत्रका धेरै विद्यार्थीले नयाँ प्रविधि प्रयोग गर्ने, आफ्नै विचारअनुसार सामाग्री निर्माण गर्ने र व्यावहारिक प्रयोगबाट सिक्ने अवसर पर्याप्त रूपमा पाएका छैनन् । प्रविधि र सिर्जनशील शिक्षाबीचको यही दूरी कम गर्ने उद्देश्यले सुर्खेतमा कोपिला भ्याली स्कुल मेकर स्पेस स्थापना गरिएको हो ।
कोपिला भ्याली सेवा समाज र ब्लिङ्कनाउ फाउन्डेसनको फ्युचर्स कार्यक्रमअन्तर्गत सन् २०२५ मा सुरु गरिएको यो मेकर स्पेस विद्यालयस्तरका विद्यार्थीका लागि डिजिटल सिकाइ तथा नमुना निर्माण प्रयोगशालाका रूपमा विकास गरिएको छ । कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित यस परियोजनाले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितमा आधारित स्टिम शिक्षालाई व्यवहारिक अभ्याससँग जोड्छ ।
यस प्रयोगशालामा विद्यार्थीले डिजाइन सोच, डिजिटल डिजाइन, इलेक्ट्रोनिक्स र थ्रीडी प्रिन्टिङजस्ता विषयमा अभ्यास गर्न पाउँछन् । आर्डुइनो, ईएसपी३२ र थ्रीडी प्रिन्टरजस्ता उपकरण प्रयोग गरेर उनीहरूले आफ्ना विचारलाई वास्तविक नमुना तथा उपकरणमा रूपान्तरण गर्न सक्छन् । कक्षाकोठामा सैद्धान्तिक रूपमा सिकेका विषयलाई आफ्नै हातले प्रयोग गरेर बुझ्ने अवसर यस परियोजनाको महत्वपूर्ण विशेषता हो ।
मेकर स्पेसको अवधारणाले विद्यार्थीलाई प्रविधिका उपभोक्ता मात्र नभई सिर्जनाकर्ता बन्न प्रेरित गर्छ । कुनै समस्या पहिचान गरेर त्यसको समाधानका लागि नयाँ उपकरण वा नमुना तयार पार्ने प्रक्रियामा सहभागी हुँदा विद्यार्थीमा सिर्जनशीलता, तार्किक सोच, प्राविधिक सीप र समस्या समाधान गर्ने क्षमताको विकास हुन्छ ।
विशेष गरी राजधानी र ठूला सहरमा मात्र उपलब्ध हुने प्रविधिमैत्री सिकाइको अवसर सुर्खेतजस्तो क्षेत्रका विद्यार्थीसमक्ष पुर्याउने प्रयास यस परियोजनाको महत्वपूर्ण पक्ष हो । ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक उपकरण, प्रयोगशाला र सिर्जनात्मक अभ्यासमा पहुँच उपलब्ध गराएर डिजिटल विभाजन कम गर्न यसले सहयोग पुर्याउन सक्छ । स्थानीय विद्यार्थीका विचारलाई प्रयोग र आविष्कारमा बदल्ने अवसर सिर्जना गर्नु नै कोपिला भ्याली स्कुल मेकर स्पेसको मुख्य उद्देश्य हो ।
४. निदान ईएचआर : स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई एउटै डिजिटल प्रणालीमा जोड्ने प्रयास
स्वास्थ्य संस्थामा बिरामी दर्तादेखि उपचार, परीक्षण, औषधि वितरण, बिलिङ र अभिलेख व्यवस्थापनसम्म विभिन्न प्रक्रिया एकअर्कासँग जोडिएका हुन्छन् । तर यी काम छुट्टाछुट्टै प्रणाली वा कागजी अभिलेखमा सञ्चालन हुँदा विवरण दोहोरिने, सूचना खोज्न समय लाग्ने र प्रशासनिक काममा जटिलता आउने समस्या देखिन्छ । सीमित स्रोतसाधन भएका स्वास्थ्य संस्थामा यस्तो चुनौती अझ बढी हुन सक्छ । यसलाई सम्बोधन गर्न विकास गरिएको खुला तथा अन्तरसञ्चालनयोग्य डिजिटल स्वास्थ्य प्रणाली हो, निदान ईएचआर ।
निदान ईएचआरले अस्पतालका विभिन्न प्रशासनिक तथा चिकित्सकीय कामलाई एउटै डिजिटल प्रणालीमा एकीकृत गर्ने लक्ष्य राखेको छ । यसमा बिरामी दर्ता, विद्युतीय स्वास्थ्य अभिलेख, बिलिङ, प्रयोगशाला, औषधि पसल, रेडियोलोजी, मौज्दात व्यवस्थापन र तथ्यांक विश्लेषणजस्ता सुविधा समेटिएका छन् । यसबाट अस्पतालका विभिन्न विभागबीच सूचना आदानप्रदान सहज बनाउने र सेवा प्रवाहलाई व्यवस्थित गर्ने अपेक्षा गरिएको छ ।
यो प्रणाली ओपनएमआरएस, ओडू, एचएल सेभेन एफएचआईआर र ओपनईएलआईएसजस्ता खुला प्रणाली तथा मापदण्डमा आधारित छ । खुला प्रविधि र अन्तरसञ्चालन क्षमताको प्रयोगले स्वास्थ्य संस्थाका फरक-फरक सेवा तथा अभिलेख प्रणालीबीच समन्वय गर्न सहयोग पुर्याउँछ । यसले एउटै बिरामीको विवरण विभिन्न विभागमा पटक-पटक राख्नुपर्ने अवस्था कम गर्न र आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउन मद्दत गर्न सक्छ ।
निदान ईएचआरको उद्देश्य अस्पतालको प्रशासनिक काम डिजिटल बनाउनु मात्र होइन, स्वास्थ्यकर्मीलाई बिरामीको उपचारमा बढी समय र ध्यान दिन सक्ने वातावरण तयार गर्नु पनि हो । कागजी अभिलेखमा निर्भरता घट्दा बिरामीको विवरण खोज्ने, परीक्षणको नतिजा हेर्ने र उपचारसम्बन्धी जानकारी व्यवस्थापन गर्ने प्रक्रिया छरितो हुन सक्छ ।
विशेष गरी स्रोतसाधन सीमित भएका स्वास्थ्य संस्थाका लागि उपयोगी हुने गरी तयार गरिएको यस प्रणालीले स्वास्थ्य सेवामा दोहोरिने काम र प्रशासनिक झन्झट घटाउँदै तथ्यमा आधारित उपचारलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । स्वास्थ्य संस्थाको दैनिक सञ्चालनलाई एकीकृत डिजिटल प्रणालीमार्फत व्यवस्थित गर्न खोज्नु निदान ईएचआरको प्रमुख विशेषता हो ।
५. रेजेन नेपाल : फोहोरलाई उपयोगी सामग्रीमा बदल्दै वातावरण र सांस्कृतिक सम्पदाको संरक्षण
फोहोर व्यवस्थापन र दिगो उत्पादन अहिले विश्वभरका प्रमुख वातावरणीय चुनौतीमध्ये पर्छन् । विशेषगरी प्लास्टिकजन्य फोहोरको अत्यधिक प्रयोग र अव्यवस्थित विसर्जनले वातावरणमा दीर्घकालीन असर पारिरहेको छ । अर्कोतर्फ, आधुनिक विकाससँगै परम्परागत वास्तुकला र सांस्कृतिक पहिचान संरक्षणको आवश्यकता पनि बढ्दो छ । यी दुवै पक्षलाई जोडेर अघि बढिरहेको धुलिखेलस्थित सामाजिक उद्यम हो, रेजेन नेपाल ।
रेजेन नेपालले पुनःप्रयोग, दिगो उत्पादन र सांस्कृतिक सम्पदा संरक्षणलाई आफ्नो कामको मुख्य आधार बनाएको छ । यसअन्तर्गत रेजेन प्लास्टिक्स, फाल्तु फ्याक्ट्री र रेजेन फल्चाजस्ता पहल सञ्चालनमा छन् । यी परियोजनामार्फत फालिएको प्लास्टिकलाई उपयोगी घरेलु सामग्रीमा रूपान्तरण गर्ने, डिजिटल उत्पादन प्रविधिको प्रयोगबाट वातावरणमैत्री कर्पोरेट उपहार तयार पार्ने तथा परम्परागत नेपाली वास्तुकलाका साना नमुना निर्माण गर्ने काम भइरहेको छ ।
रेजेन प्लास्टिक्सले पुनःप्रयोग गर्न सकिने प्लास्टिकलाई नयाँ उत्पादनमा बदल्दै त्यसलाई फोहोरका रूपमा विसर्जन गर्नुपर्ने अवस्थालाई कम गर्ने प्रयास गर्छ। प्लास्टिकजन्य सामग्रीलाई उपयोगी घरेलु वस्तुका रूपमा पुनःनिर्माण गर्दा फोहोरको मात्रा घटाउनुका साथै स्रोतसाधनको अधिकतम उपयोग गर्न सकिन्छ ।
त्यस्तै, फाल्तु फ्याक्ट्रीले डिजिटल उत्पादन प्रविधिको प्रयोग गरेर विभिन्न संस्था तथा व्यवसायका लागि आवश्यकताअनुसार वातावरणमैत्री उपहार र सामाग्री तयार गर्छ । यसले अनावश्यक उत्पादन र फोहोर बढाउने अभ्यासभन्दा आवश्यकताअनुसार उत्पादन गर्ने अवधारणालाई अघि बढाउँछ । रेजेन फल्चामार्फत भने परम्परागत नेपाली वास्तुकलाको प्रतिनिधित्व गर्ने साना नमुना तयार गरी सांस्कृतिक पहिचान संरक्षणमा योगदान पुर्याउने प्रयास गरिएको छ ।
रेजेन नेपालको काम वातावरण संरक्षणमा मात्र सीमित छैन । पुनःप्रयोग र उत्पादन प्रक्रियामार्फत स्थानीय इन्जिनियरिङ तथा उत्पादनसम्बन्धी सीपको विकास, स्थानीय उत्पादनलाई प्रोत्साहन र दिगो उपभोग संस्कृतिको प्रवर्द्धन पनि यसको महत्वपूर्ण पक्ष हो । फोहोरलाई पुनः प्रयोगयोग्य स्रोतका रूपमा हेर्ने चक्रीय अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्दै यसले वातावरणमैत्री उत्पादन र समुदायको दिगो विकासका लागि काम गरिरहेको छ ।
६. राइड टु अर्न : विद्युतीय स्कुटरमार्फत श्रमिकलाई रोजगारी र सीपको अवसर
नेपालका सहरमा राइड-हेलिङ र डेलिभरी सेवा विस्तार भएसँगै यस क्षेत्रमा काम गर्ने श्रमिकको संख्या पनि बढिरहेको छ । तर धेरै श्रमिकसँग काम गर्न आवश्यक सवारी साधन खरिद गर्ने आर्थिक क्षमता हुँदैन । सवारी साधनको अभाव, मर्मत खर्च, सुरक्षा उपकरण र औपचारिक तालिमको कमीले उनीहरूको रोजगारी तथा आम्दानीमा चुनौती सिर्जना गर्न सक्छ । यस्ता समस्यालाई सम्बोधन गर्दै सफा यातायात र रोजगारीका अवसरलाई जोड्ने सामाजिक नवप्रवर्तन पहल हो, प्रवाह नेपालद्वारा सञ्चालित राइड टु अर्न ।
राइड टु अर्नले डेलिभरी तथा राइड-हेलिङ क्षेत्रमा काम गर्न चाहने श्रमिकलाई पहुँचयोग्य विद्युतीय स्कुटर उपलब्ध गराउने अवधारणा अघि सारेको छ । यस कार्यक्रमअन्तर्गत श्रमिकले निश्चित दैनिक भाडा तिरेर मर्मतसम्भार गरिएको विद्युतीय स्कुटर प्रयोग गर्न सक्छन् । कार्यक्रमले सवारीसाधन उपलब्ध गराउने मात्र नभई सुरक्षा उपकरण, सडक सुरक्षा तालिम, बिमा तथा सम्बन्धित सेवा प्लेटफर्ममा आबद्ध हुन आवश्यक सहजीकरण पनि प्रदान गर्छ ।
यस पहलको अर्को विशेषता यसको मोबिलिटी इन्टेलिजेन्स प्रणाली हो । यसले चालकसम्बन्धी तथ्यांकको प्रयोग गरी आम्दानीसम्बन्धी मार्गदर्शन, कार्यसम्पादनको अनुगमन, सवारीसाधनको अवस्था र सञ्चालनसम्बन्धी विवरण व्यवस्थापन गर्न सहयोग गर्छ । साथै, विद्युतीय सवारीसाधनको प्रयोगबाट कति कार्बन उत्सर्जन जोगिएको छ भन्ने अनुमान गर्न पनि यस प्रणालीले मद्दत गर्छ ।
राइड टु अर्नले श्रमिकको व्यावसायिक विकासलाई समेत प्राथमिकता दिएको छ । कार्यक्रममा सहभागी चालकले सैद्धान्तिक ज्ञान, व्यवहारिक सवारी सञ्चालन र व्यवहारसम्बन्धी मूल्यांकन पूरा गरेपछि संस्थाभित्रै व्यावसायिक प्रमाणपत्र प्राप्त गर्न सक्छन् । यस्ता प्रमाणपत्रलाई औपचारिक मान्यता दिलाउने विषयमा पनि छलफल भइरहेको छ ।
सन् २०२५ डिसेम्बरदेखि काठमाडौं उपत्यकामा सञ्चालनमा आएको यस कार्यक्रमले सुरुमा पाँचवटा सवारीसाधनबाट सेवा थालेकोमा हाल त्यो संख्या बढाएर १० पुर्याएको छ । उपत्यकाबाहिरका व्यक्तिलाई पनि रोजगारीका अवसरसँग जोड्दै महिलाको सहभागिता बढाउने लक्ष्य यसले राखेको छ । यसरी राइड टु अर्नले रोजगारी, सीप विकास, सुरक्षित यातायात र वातावरणमैत्री सवारीलाई एउटै पहलमा जोड्ने प्रयास गरेको छ ।
७. सेतु र्यापिड : विपद्का बेला निकायबीच सूचना र उद्धार व्यवस्थापनलाई प्रभावकारी बनाउने डिजिटल प्रणाली
नेपाल भौगोलिक बनावट र मौसमी अवस्थाका कारण बाढी, पहिरो, सडक अवरोध, दुर्घटना तथा अन्य विपद्को जोखिममा रहँदै आएको छ । यस्ता घटनामा छिटो सूचना प्राप्त गर्नु, उद्धारमा संलग्न निकायबीच समन्वय गर्नु र उपलब्ध स्रोत साधनको सही परिचालन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ । तर विभिन्न निकायमा रहेका विवरण एकीकृत नहुँदा उद्धार तथा राहत व्यवस्थापनमा ढिलाइ र अन्योल सिर्जना हुन सक्छ । यही चुनौती समाधान गर्न विकास गरिएको नेपालमै निर्मित डिजिटल प्रणाली हो, सेतु र्यापिड ।
सेतु र्यापिडले विपद् प्रतिकार्य, राजमार्ग अवरोध व्यवस्थापन र विभिन्न सरकारी तथा आपत्कालीन निकायबीच समन्वयलाई सहज बनाउने उद्देश्य राखेको छ । यस प्रणालीमार्फत सरकारी निकाय, सुरक्षा निकाय, यातायात सञ्चालक तथा आपत्कालीन उद्धारकर्मीले वास्तविक समयमै स्थानमा आधारित सूचना आदानप्रदान गर्न सक्छन् । यसले घटनाको अवस्था बुझ्न र आवश्यक निर्णय लिन सहयोग पुर्याउँछ ।
यसको महत्वपूर्ण विशेषतामध्ये विभिन्न स्रोतबाट प्राप्त बेपत्ता, उद्धार गरिएका र घाइते व्यक्तिको विवरणलाई एउटै प्रणालीमा एकीकृत गर्नु हो । नेपाली र अंग्रेजी दुवै भाषामा अभिलेख गरिएका विवरणमा दोहोरिएका नाम तथा जानकारी पहिचान गरेर हटाउने क्षमता यसमा समेटिएको छ । यसले एउटै व्यक्तिको विवरण विभिन्न निकायबाट पटक-पटक प्राप्त हुँदा सिर्जना हुन सक्ने अन्योल कम गर्न मद्दत गर्छ ।
त्यस्तै, राहत सामाग्रीको आवागमन र वितरणसम्बन्धी विवरण पनि प्रणालीमार्फत अभिलेख गर्न सकिन्छ । यसबाट कुन सामाग्री कहाँ पठाइयो, त्यसको व्यवस्थापन कसरी भइरहेको छ र राहत परिचालनको अवस्था के छ भन्ने विषयमा अनुगमन गर्न सहज हुन्छ । जिल्ला प्रशासन कार्यालयहरूबाट प्रत्यक्ष विवरण पठाउन सकिने सुविधा पनि विकास भइरहेको छ । यसका अतिरिक्त ड्रोन व्यवस्थापनसम्बन्धी मोड्युल विकास गर्ने काम पनि अघि बढाइएको छ ।
विपद्का बेला सूचना व्यवस्थापन र निकायबीचको समन्वयलाई प्रभावकारी बनाउनु यस परियोजनाको मुख्य उद्देश्य हो । उद्धार, राहत तथा सडक व्यवस्थापनका कामलाई एकीकृत डिजिटल प्रणालीसँग जोडेर सेतु र्यापिडले नेपालमा विपद् प्रतिकार्य क्षमता र सामुदायिक उत्थानशीलता अभिवृद्धि गर्ने सम्भावना बोकेको छ ।
८. अपस्केलिंग स्मार्ट पब्लिक टोएलेट्स फर बेटर स्यानिटेसन : प्रविधि र समावेशितामार्फत स्वच्छताको दिगो व्यवस्था
सार्वजनिक शौचालयको उपलब्धता र सरसफाइ सहरी जीवनसँग प्रत्यक्ष जोडिएको विषय हो । तर नेपालका धेरै सार्वजनिक शौचालयमा नियमित सरसफाइ, पर्याप्त पानी, सुरक्षित पूर्वाधार, महिलामैत्री सुविधा र दीर्घकालीन सञ्चालन व्यवस्थापनको चुनौती देखिन्छ । सार्वजनिक शौचालय निर्माण गर्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई आर्थिक तथा वातावरणीय रूपमा दिगो तरिकाले सञ्चालन गर्न सक्नु पनि उत्तिकै आवश्यक हुन्छ । यही आवश्यकता सम्बोधन गर्ने उद्देश्यले अघि बढाइएको सामाजिक उद्यम हो, एरोसान सस्टेनेबल स्यानिटेसन प्रा.लि.द्वारा सञ्चालित स्मार्ट सार्वजनिक शौचालय पहल ।
दिवंगत प्रकाश अमात्यले स्थापना गरेको एरोसानले सार्वजनिक सरसफाइ सुविधालाई प्रविधि, सामाजिक समावेशिता र वातावरणीय व्यवस्थापनसँग जोड्ने काम गर्दै आएको छ । यसका स्मार्ट सार्वजनिक शौचालयमा स्वचालित रूपमा प्रयोग गर्न मिल्ने धारा तथा अन्य उपकरण, विद्युतीय प्रवेश प्रणाली, डिजिटल भुक्तानी, महिनावारी स्वच्छतासम्बन्धी सुविधा र अपाङ्गतामैत्री पूर्वाधार समावेश गरिएका छन् । यी सुविधाले सार्वजनिक शौचालयको प्रयोगलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य राख्छन् ।
यस परियोजनाको अर्को महत्वपूर्ण पक्ष सामाजिक समावेशिता हो । सीमान्तकृत समुदायका महिलालाई रोजगारी र सरसफाइसम्बन्धी तालिम उपलब्ध गराएर उनीहरूलाई सार्वजनिक सेवा व्यवस्थापनमा सहभागी गराउने काम यस पहलमा समेटिएको छ । यसले महिलाको आर्थिक सशक्तीकरणमा सहयोग पुर्याउनुका साथै सार्वजनिक सरसफाइ सेवामा स्थानीय समुदायको सहभागिता बढाउँछ ।
एरोसानले शौचालय सञ्चालनलाई वातावरणमैत्री र स्रोतसाधनको पुनःउपयोगमा आधारित बनाउने प्रयास पनि गरेको छ । नवीकरणीय ऊर्जा, बायोग्यास उत्पादन, जैविक मल निर्माण, वर्षाको पानी संकलन र प्रयोग भइसकेको पानीको प्रशोधनजस्ता अभ्यासमार्फत फोहोर तथा स्रोत व्यवस्थापनलाई एकीकृत गरिएको छ । यसले शौचालयबाट निस्कने फोहोरलाई समेत उपयोगी स्रोतमा बदल्ने सम्भावना देखाउँछ ।
दैनिक सयौँ व्यक्तिले प्रयोग गर्ने र वार्षिक रूपमा करिब १० लाख पटकसम्म उपयोग हुने सार्वजनिक शौचालय सेवामार्फत एरोसानले प्रविधिको उपयोगलाई प्रत्यक्ष जनजीवनसँग जोडेको छ । सरसफाइ, स्वास्थ्य, सुरक्षा, महिला सशक्तीकरण र वातावरणीय दिगोपनलाई एउटै सेवामा समेटेर सार्वजनिक शौचालयलाई दीर्घकालीन सामुदायिक सेवाका रूपमा विकास गर्ने यसको प्रयास सामाजिक नवप्रवर्तनको उदाहरण हो ।
९. वायु सेना : वातावरणीय जोखिमबारे विद्यार्थी र समुदायलाई सचेत बनाउने अभियान
वायु प्रदूषण, अत्यधिक गर्मी, बाढी, चरम मौसमी अवस्था तथा जलवायु परिवर्तनका असरले मानव स्वास्थ्य र समुदायको सुरक्षामा चुनौती थपिरहेका छन् । यस्ता जोखिमका बारेमा जानकारी हुनु मात्र पर्याप्त हुँदैन, जोखिम आइपर्दा आफू र आफ्नो समुदायलाई कसरी सुरक्षित राख्ने भन्ने व्यावहारिक ज्ञान पनि आवश्यक हुन्छ । यही आवश्यकतालाई केन्द्रमा राखेर वायुदृष्टिसँग सम्बन्धित वायु सेना पहल सञ्चालन भइरहेको छ ।
वायु सेना युवाको नेतृत्वमा अघि बढाइएको वातावरणीय तयारी तथा सामुदायिक उत्थानशीलता अभियान हो । यसले विद्यालयका विद्यार्थी र समुदायलाई वायु प्रदूषण, चरम मौसम, बाढी तथा अन्य जलवायुसम्बन्धी जोखिमबारे व्यवहारिक जानकारी उपलब्ध गराउँछ । विद्यालय कार्यक्रम, अन्तरक्रियात्मक तालिम, कार्यशाला र सामुदायिक गतिविधिमार्फत वातावरणसम्बन्धी जटिल सूचनालाई सहज भाषामा बुझाउने र जोखिमको अवस्थामा अपनाउनुपर्ने उपाय सिकाउने यसको मुख्य उद्देश्य हो ।
यस पहलको विशेषता वातावरणीय तथ्यांक र पूर्वसूचनालाई दैनिक जीवनमा उपयोग गर्न सकिने सरल सन्देशमा रूपान्तरण गर्नु हो । उदाहरणका लागि, वायु प्रदूषणको अवस्था, खराब मौसम वा बाढीको सम्भावित जोखिमबारे प्राप्त सूचनालाई विद्यार्थीले बुझ्ने र त्यसअनुसार सावधानी अपनाउन सक्ने गरी प्रस्तुत गरिन्छ । यसरी जानकारीलाई व्यवहारमा उतार्न सकिने ज्ञानमा बदल्ने प्रयास यस अभियानले गर्छ ।
वायु सेनाले विद्यार्थीलाई सिकाइका सहभागी मात्र नभई आफ्ना परिवार र समुदायसम्म सूचना पुर्याउने माध्यमका रूपमा पनि विकास गर्न खोजेको छ । विद्यालयमा सिकेको वातावरणीय ज्ञान विद्यार्थीले घर परिवार र छिमेकमा बाँड्दा सचेतनाको प्रभाव विद्यालयको सीमाभन्दा बाहिरसम्म पुग्न सक्छ । यसलाई अभियानले बहुगुणित प्रभावका रूपमा अघि बढाएको छ ।
उपलब्ध विवरणअनुसार यस पहलले ३० भन्दा बढी सहरका ६ हजारभन्दा बढी विद्यार्थीमाझ पुगेर काम गरिसकेको छ । विभिन्न विद्यालय, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र अन्य संस्थासँग सहकार्य गर्दै आएको वायु सेनाले वातावरणप्रति सचेत, जोखिमबारे जानकार र विपद्को सामना गर्न तयार युवा पुस्ता निर्माण गर्ने लक्ष्य राखेको छ । वातावरणीय शिक्षा र विपद् तयारीलाई विद्यार्थीको दैनिक जीवनसँग जोड्ने यसको प्रयासले समुदायको दीर्घकालीन सुरक्षामा योगदान पुर्याउन सक्छ ।
१०. डिजिटल फोहोरमैला व्यवस्थापन तथा बञ्चरे ल्यान्डफिल व्यवस्थापन प्रणाली (वेस्ट म्यानेजमेन्ट सिस्टम) : सहरी फोहोर व्यवस्थापनमा तथ्यांक र पारदर्शिता
काठमाडौं महानगरपालिकामा फोहोरमैला संकलन, ढुवानी, अनुगमन र अन्तिम व्यवस्थापनका गतिविधि नियमित रूपमा सञ्चालन गर्न ठूलो जनशक्ति, सवारी साधन र स्रोत साधन आवश्यक पर्छ । यी कामको विवरण विभिन्न माध्यममा छरिएर रहँदा अनुगमन, सेवा शुल्क व्यवस्थापन र कार्यसम्पादन मूल्यांकन जटिल हुन सक्छ । यस्ता प्रक्रिया व्यवस्थित गर्न विकास गरिएको एकीकृत डिजिटल समाधान हो, डिजिटल फोहोरमैला व्यवस्थापन तथा बञ्चरे ल्यान्डफिल व्यवस्थापन प्रणाली ।
यस प्रणालीले महानगरपालिकाको फोहोर संकलनदेखि ढुवानी र अनुगमनसम्मका गतिविधिलाई डिजिटल माध्यममा अभिलेख तथा व्यवस्थापन गर्न सहयोग गर्छ । फोहोर संकलन र ढुवानीको विवरण, सेवासम्बन्धी शुल्क, सेवा लिने प्रतिष्ठानहरूको अभिलेख तथा अन्य प्रशासनिक जानकारीलाई एउटै डिजिटल प्रणालीमा राख्ने यसको उद्देश्य छ ।
प्रणालीमा जीपीएस तथ्यांक, तस्बिर, केन्द्रीय ड्यासबोर्ड र तथ्यांक विश्लेषणको सुविधा प्रयोग गरिएको छ । यसबाट फोहोर संकलनका सवारीसाधनको अवस्था र गतिविधि अनुगमन गर्न, सेवाको विवरण हेर्न तथा नगरपालिकाको योजना निर्माणका लागि आवश्यक तथ्यांक प्राप्त गर्न सहज हुन्छ । कागजी अभिलेख र छुट्टाछुट्टै विवरणमा निर्भर हुनुपर्ने अवस्था कम गर्दै यसले व्यवस्थापन प्रक्रियालाई एकीकृत बनाउने प्रयास गरेको छ ।
यसको अर्को महत्वपूर्ण भाग बञ्चरे ल्यान्डफिल व्यवस्थापन प्रणाली हो । यसले ल्यान्डफिल क्षेत्रमा लाग्ने शुल्क तथा जरिवाना, भारी सवारीसाधनको आवागमन, कर्मचारीको हाजिरी र दैनिक सञ्चालनसम्बन्धी विवरणलाई डिजिटल रूपमा व्यवस्थापन गर्छ । साथै, स्वचालित एसएमएस तथा इमेल सूचनाको सुविधाले सम्बन्धित पक्षलाई आवश्यक जानकारी समयमै पुर्याउन सहयोग गर्छ ।
फोहोर व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम गर्न तथ्यांकमा आधारित अनुगमन महत्वपूर्ण हुन्छ । डिजिटल फोहोरमैला व्यवस्थापन प्रणालीले संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका कामलाई एकीकृत अभिलेखमा जोडेर महानगरपालिकालाई सेवा सञ्चालनको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउन सक्छ । म्यानुअल तथा छरिएका प्रक्रियालाई डिजिटल कार्यप्रवाहमा रूपान्तरण गर्दै सहरी फोहोर व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र उत्तरदायी बनाउने यसको लक्ष्य रहेको छ ।

सामाजिक समस्या समाधानमा प्रविधिको फराकिलो प्रयोग
आइसिटी अवार्ड २०२६ को सामाजिक नवप्रवर्तन विधाका यी १० सेमिफाइनलिस्टले प्रविधिको प्रयोग केवल नयाँ उपकरण वा डिजिटल सेवा निर्माणमा सीमित नरहेको देखाउँछन् । उनीहरूले स्थानीय आवश्यकता पहिचान गरेर त्यसको समाधानका लागि प्रविधि, समुदायको सहभागिता र संस्थागत सहकार्यलाई जोड्ने प्रयास गरेका छन् ।
कृषि क्षेत्रमा मौसम र खेतीसम्बन्धी सूचना किसानसम्म पुर्याउनेदेखि विद्यालयमा व्यवहारिक शिक्षाको वातावरण बनाउनेसम्मका पहल यस सूचीमा छन् । स्वास्थ्य संस्थाको सेवा एकीकृत गर्ने, पुनःप्रयोगमार्फत वातावरण संरक्षण गर्ने, श्रमिकलाई विद्युतीय सवारी र रोजगारीसँग जोड्ने तथा विपद्का बेला निकायबीच सूचना आदानप्रदान सहज बनाउने परियोजनाले पनि प्रविधिको सामाजिक उपयोगिता देखाउँछन् ।
त्यस्तै, सार्वजनिक सरसफाइ सुविधालाई दिगो बनाउने, विद्यार्थीमार्फत वातावरणीय सचेतना फैलाउने र सहरी फोहोर व्यवस्थापनलाई तथ्यांकमा आधारित बनाउने प्रयासले स्थानीय समस्यामा डिजिटल समाधानको सम्भावना उजागर गरेका छन् ।
यी परियोजनाको साझा विशेषता प्रविधिलाई अन्तिम लक्ष्य नभई सामाजिक समस्या समाधान गर्ने माध्यमका रूपमा प्रयोग गर्नु हो । स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, समुदाय र निजी क्षेत्रबीचको सहकार्यबाट यस्ता पहललाई थप प्रभावकारी बनाउन सकिन्छ । सेमिफाइनलमा छनोट भएका यी परियोजनाले आइसिटी क्षेत्रको नवप्रवर्तनलाई समाजको वास्तविक आवश्यकता र दिगो विकाससँग जोड्ने महत्वपूर्ण प्रयास गरेका छन् ।
स्नेहा झा