काठमाडौं । डेटिङ एप टिन्डरको सञ्चालक कम्पनी म्याच ग्रुपलाई युरोपेली संघको व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुन उल्लङ्घन गरेको ठहर गर्दै १ करोड १२ लाख युरो जरिवाना गरिएको छ ।
आयरल्यान्डको डाटा संरक्षण आयोग (डीपीसी) ले प्रयोगकर्ताको व्यक्तिगत विवरणमा पहुँच तथा डाटा डाउनलोड गर्ने सुविधासँग सम्बन्धित कमजोरी फेला पारेपछि कम्पनीलाई उक्त जरिवाना गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार टिन्डरले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत डाटा डाउनलोड गर्न उपलब्ध गराएको सुविधामार्फत युरोपेली संघको सामान्य डाटा संरक्षण नियमावली (जीडीपीआर) ले सुनिश्चित गरेका सबै विवरण उपलब्ध गराउन सकेको थिएन ।
प्रयोगकर्ताले माग गर्न पाउने सम्पूर्ण व्यक्तिगत जानकारी उपलब्ध नगराइएको विषयलाई आयोगले कानुनी व्यवस्थाको उल्लङ्घनका रूपमा लिएको छ ।
जरिवानासँगै आयोगले म्याच ग्रुपलाई युरोपेली संघको व्यक्तिगत डाटा संरक्षणसम्बन्धी कानुनी प्रावधान पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ ।
यद्यपि, म्याच ग्रुपले नियामक निकायको निर्णयप्रति असहमति जनाउँदै त्यसविरुद्ध पुनरावेदन गर्ने जनाएको छ । युरोपेली बजारमा सञ्चालन हुने ठूला प्रविधि कम्पनीहरूको नियमनमा आयरल्यान्डको भूमिका महत्त्वपूर्ण मानिन्छ ।
अन्तर्राष्ट्रिय प्रविधि कम्पनीका युरोपेली मुख्यालय आयरल्यान्डमा रहेकाले त्यहाँको डाटा संरक्षण आयोगले ती कम्पनीहरूको व्यक्तिगत डाटा व्यवस्थापन तथा गोपनीयतासम्बन्धी गतिविधिको निगरानी गर्दै आएको छ ।
द टेलिग्राफका अनुसार, पछिल्लो निर्णयले प्रयोगकर्ताको व्यक्तिगत विवरणमा पहुँच र त्यसको पारदर्शी व्यवस्थापनसम्बन्धी युरोपेली कानुनी प्रावधान पालना गर्नु प्रविधि कम्पनीहरूका लागि अनिवार्य रहेको विषयलाई पुन: उजागर गरेको छ ।
आईसीटी समाचार