काठमाडौं । अमेरिकाका प्रमुख बैंकहरूमा देखिएको प्राविधिक समस्याका कारण हजारौं ग्राहकले बैंकिङ सेवा प्रयोग गर्न कठिनाइ भोगेका छन् । जेपी मोर्गन चेज, वेल्स फार्गो र बैंक अफ अमेरिकासहितका वित्तीय संस्थाका ग्राहकले सोमबार अनलाइन बैंकिङ तथा भुक्तानी सेवामा समस्या आएको गुनासो गरेका हुन् ।
अमेरिकाको सबैभन्दा ठूलो बैंकिङ संस्थामध्ये एक चेज बैंकले आफ्नो हार्डवेयर प्रणालीमा आएको सफ्टवेयर त्रुटिका कारण सेवा प्रभावित भएको प्रारम्भिक जानकारी दिएको छ । बैंकका अनुसार उक्त प्राविधिक गडबडीले अन्य वित्तीय संस्थाका सेवामा समेत असर पुर्याएको हुन सक्छ ।
चेजले समस्या अस्थायी प्रकृतिको रहेको उल्लेख गर्दै यसलाई प्रणालीगत खराबी वा साइबर आक्रमणसँग जोड्न नमिल्ने स्पष्ट पारेको छ । बैंकले ग्राहकका खातामा पहुँच कायम रहेको भए पनि केही कारोबार सम्पन्न हुन सामान्यभन्दा बढी समय लाग्न सक्ने जनाएको थियो ।
सेवा अवरुद्ध भएको विषय निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरमा सोमबार करिब पाँच हजार प्रयोगकर्ताले चेज बैंकको सेवा प्रभावित भएको रिपोर्ट गरेका थिए । दिउँसो सुरु भएको समस्या साँझसम्म आइपुग्दा क्रमश: कम हुँदै गएको थियो ।
चेज बैंक जेपी मोर्गन चेजको सहायक संस्था हो । कम्पनीको वेबसाइटअनुसार अमेरिकाभर यसका पाँच हजार शाखा सञ्चालनमा छन् । बैंकले ८ करोड ६० लाखभन्दा बढी व्यक्तिगत ग्राहक र ७४ लाख साना व्यवसायलाई सेवा दिँदै आएको छ । अमेरिकामा क्रेडिट कार्ड जारी गर्ने प्रमुख संस्थामध्ये पनि चेज अग्रस्थानमा छ ।
यसैबीच, डिजिटल भुक्तानी प्रणाली जेल (Zelle) प्रयोग गर्ने ग्राहकले समेत रकम स्थानान्तरणमा कठिनाइ भोगेका थिए । यूएस बैंकले आफ्ना केही प्रणाली प्रत्यक्ष रूपमा प्रभावित नभए पनि जेलमार्फत भुक्तानी गर्ने ग्राहकलाई समस्या भएको स्वीकार गरेको छ ।
रकम पठाउने क्रममा कारोबार पूरा हुन नसकेको सन्देश देखिएको ग्राहकको गुनासो थियो । तर जेलले भने आफ्नो प्लेटफर्ममा कुनै समस्या नरहेको दाबी गरेको छ । अन्य बैंकको प्राविधिक अवरोधले आफ्नो भुक्तानी प्रक्रियामा असर पारेको हुन सक्ने उसको भनाइ छ ।
ट्रुइस्ट, पीएनसी र क्यापिटल वन बैंकका ग्राहकले पनि सेवा अवरुद्ध भएको गुनासो गरेका थिए । यद्यपि ती बैंकले आफ्ना प्रणाली सामान्य रूपमा सञ्चालन भइरहेको बताएका थिए । अमेरिकी समयअनुसार सोमबार साँझ ६ बजेसम्म चेज, बैंक अफ अमेरिका र यूएस बैंकका सेवामा समस्या आएको भन्दै डाउनडिटेक्टरमा परेका रिपोर्टको संख्या घट्न थालेको थियो ।
अमेरिकामा पछिल्लो समय डिजिटल पूर्वाधारमा देखिएका अवरोधको शृंखलाबीच बैंकिङ सेवामा आएको यो समस्याले थप चिन्ता बढाएको छ । गत साता माइक्रोसफ्टको प्राविधिक अवरोधसँगै दूरसञ्चार तथा नेटवर्क सेवामा आएको समस्याले विभिन्न क्षेत्र प्रभावित भएका थिए । हवाई सेवा समेत त्यसबाट अछुतो रहन सकेको थिएन ।
बैंकिङ, भुक्तानी, सञ्चार र हवाई यातायातजस्ता अत्यावश्यक सेवा डिजिटल प्रणालीमा निर्भर हुँदै जाँदा सामान्य प्राविधिक त्रुटिले पनि ठूलो जनसंख्यालाई असर गर्न सक्ने जोखिम यस घटनाले उजागर गरेको छ ।
आईसीटी समाचार