कीवर्डहरू -

मंसिर ३ र ४ गते स्टार्टअप फेस्ट हुँदै, सातै प्रदेशका स्टार्टअप सहभागी हुने

मंसिर ३ र ४ गते स्टार्टअप फेस्ट हुँदै, सातै प्रदेशका स्टार्टअप सहभागी हुने

काठमाडौं । मङ्सिर पहिलो साता प्रविधि क्षेत्रको सबैभन्दा ठुलो स्टार्टअप तथा इन्नोभेसनको प्रदर्शनी आयोजना हुने भएको छ । आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टको रुपमा लिभिंग विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा मंसिर ३ र ४ गते फेस्टको आयोजना गर्न लागेको हो । स्टार्टअप फेस्टको यो सातौ संस्करण हो ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा आयोजना हुने कार्यक्रममा आयोजना हुन लागेको फेस्टमा सातै प्रदेशका एक सयभन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाहरू सहभागी हुनेछन् । फेस्टमा सफ्टवेयर, एप्लिकेसन, आइओटी, रोबोटिक्स,  ड्रोन,  एआइ प्रविधि,  रकेट तथा एयरोस्पेसलगायतका क्षेत्रमा विकास गरिएका उत्पादन, सेवा र परियोजनाहरू प्रदर्शनी गरिने आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने फेस्टमा ड्रोन तथा रोबोटिक्स प्रतियोगिता पनि आयोजना हुनेछन् । यसले विद्यार्थी, युवा उद्यमी तथा प्रविधिमा रुचि राख्नेहरूलाई आफ्ना सिर्जना प्रदर्शन गर्ने, नयाँ सीप र अवसरबारे जानकारी लिने तथा रोजगारी र इन्टर्नसिपका अवसर खोज्ने मञ्च प्रदान गर्नेछ ।

यसैगरी यस वर्ष प्रदर्शनीसँगै स्टार्टअप सम्बन्धि कन्फरेन्सको पनि आयोजना हुनेछ । ‘स्टार्टअप पल्स’ सेसनमा केहि महत्वपुर्ण कि-नोट, प्यानल सेसन र आइडिया पिचिंङ सन्चालन हुनेछ । स्टार्टअप इकोसिस्टमको विकास सम्वन्धि प्यानल छलफल र प्रस्तुतीहरु रहनेछ ।

स्टार्टअप लगानीकर्ता, भिसी र उद्यमीलाइ कनेक्ट गर्ने उदेश्यले फेस्टमा स्टार्टअप लौन्जको व्यवस्था गरिएको छ । इच्छुक लगानीकर्ताहरु फेस्टमा अवलोकन गर्दै नेटवर्किङ र मिटिंङ गर्न सक्नेछन् । यस वर्षको फेस्टमा सामाजिक नवप्रवर्तनका क्षेत्रमा काम गरिरहेका संस्था, स्टार्टअप तथा परियोजनाहरूलाई पनि प्रदर्शकका रूपमा समेटिनेछ ।

सामाजिक समस्या समाधानका लागि प्रविधि र सिर्जनात्मक सोचमार्फत विकास गरिएका नवीनतम समाधानहरू अवलोकनकर्ताले प्रत्यक्ष रूपमा हेर्न पाउनेछन् ।
फेस्टमा आइसिटी अवार्ड २०२६ का स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन तथा सोसल इन्नोभेसन विधाका ५० भन्दा बढी सेमिफाइनलिस्टहरू पनि सहभागी हुनेछन् ।

अवलोकनकर्ताले ती स्टार्टअप तथा उत्पादनका प्रदर्शनी अवलोकन गर्नुका साथै आफूलाई मन परेका परियोजनालाई भोट गर्ने अवसरसमेत पाउनेछन् । यसैगरि सातै प्रदेशबाट छनौट भएका अरु थप २५ बढी स्टार्टअपहरु प्रदर्शनीमा रहनेछन् ।

आयोजकका अनुसार देशमै कार्यरत युवा स्टार्टअप, विद्यार्थी तथा नवप्रवर्तकलाई प्रोत्साहन गर्ने, उनीहरूका उत्पादन तथा सेवाको बजार विस्तारमा सहयोग पुर्‍याउने र उद्यमशीलताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले फेस्ट आयोजना गरिएको हो । फेस्टमा प्रवेश नि:शुल्क रहनेछ ।

प्रदर्शनीमा सहभागी स्टार्टअप तथा उत्पादनमा लगानी गर्न इच्छुक लगानीकर्ताका लागि उत्पादन प्रदर्शन र व्यावसायिक सञ्जाल विस्तारका सत्रहरू पनि सञ्चालन गरिनेछन् । यसले स्टार्टअपलाई सम्भावित लगानीकर्तासँग जोड्ने, व्यावसायिक सहकार्यका अवसर सिर्जना गर्ने तथा प्रविधिमा आधारित नयाँ उद्यमलाई बजारसम्म पुग्न सहयोग गर्ने आयोजकको अपेक्षा छ ।

फेस्टमा विभिन्न क्षेत्रका उद्यमी, कर्पोरेट क्षेत्रका नेतृत्वकर्ता, नीति निर्माता, उच्च सरकारी अधिकारी, लगानीकर्ता, विद्यार्थी तथा प्रविधि प्रेमीहरूको सहभागिता रहनेछ । नेपालको स्टार्टअप तथा नवप्रवर्तन क्षेत्रको वर्तमान अवस्था बुझ्न, देशभित्रै विकास भइरहेका प्रविधि र उत्पादनबारे जानकारी लिन तथा युवा उद्यमीका सिर्जना नजिकबाट नियाल्न फेस्ट उपयोगी हुने विश्वास आयोजकले लिएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सलाइ केन्द्रमा राखेर अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय शिक्षा प्रदान गर्दै आएको सनवे कलेजले फेस्टमा आफ्ना विभिन्न कृत्रिम बुद्धिमत्तामा आधारित परियोजनाहरू पनि प्रदर्शन गर्नेछ ।

त्यस्तै, ‘टिङटिङ’ र ‘नेपाल पे’ इन एसोसिएसन विथको रूपमा र नेपाली स्टार्टअप कम्पनी सस्तो टिकट पावर्ड बाइको रूपमा जोडिएका छन् । फेस्टसँगै मंसिर ५ र ६ गते आइसिटी अवार्डका ४ विधामा छनौट भएका तथा प्रदर्शनीमा समावेश भएका ५० स्टार्टअप र इन्नोभेसनले ग्राण्ड जुरी सेसनमा सहभागी हुनेछन् ।

उक्त ग्रान्ड जुरी पश्चात ४ विधामा उत्कृष्ट ५ छनौट हुँदै अवार्डको लागि सिफारिस हुनेछन् । उक्त ग्राण्ड जुरी सेसन हिमालय टेलिभिजनमा विभिन्न एपिसोडको रुपमा प्रशारण पनि हुनेछ ।

सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित मानिने आइसिटी अवार्ड २०२६ का लागि विभिन्न विधामा छनोट प्रक्रिया अघि बढिरहेको छ । यस वर्ष अवार्डका लागि ७०० भन्दा बढी अनलाइन मनोनयन प्राप्त भएको आयोजकले जनाएको छ ।

फेस्टमा अवार्डका विभिन्न विधाका उत्कृष्ट नवप्रवर्तन तथा स्टार्टअपहरूलाई प्रत्यक्ष अवलोकन गर्न पाउनु दर्शकका लागि थप आकर्षण हुने अपेक्षा गरिएको छ । विस्तृत  जानकारीको लागि www.startupideafest.org वा ictaward.org वेबसाइट हेर्न सकिनेछ ।