काठमाडौं । देशभरका अस्पतालमा विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याइएका नि:शुल्क शय्याको उपलब्धता अब अनलाइनबाटै हेर्न सकिने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नि:शुल्क उपचार सेवालाई थप प्रभावकारी, सहज र पारदर्शी बनाउने उद्देश्यले ‘नि:शुल्क स्वास्थ्य पोर्टल’ सञ्चालनमा ल्याएपछि सर्वसाधारणले घरमै बसेर अस्पतालमा उपलब्ध नि:शुल्क शय्याको विवरण प्राप्त गर्न सक्ने भएका हुन् ।
नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नि:शुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने तथा स्वास्थ्य सेवामा समान पहुँचको हक सुनिश्चित गरेको छ । यही संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न तथा नेपाल सरकारको ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७’ को दफा ७० (घ) लाई प्रभावकारी बनाउन मन्त्रालयले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो ।
उक्त मापदण्डअनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याउनुपर्ने र उनीहरूलाई अनिवार्य रूपमा नि:शुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था छ । तर, यसअघि अस्पतालमा नि:शुल्क शय्या उपलब्ध भए–नभएको जानकारी सहजै प्राप्त नहुँदा लक्षित वर्गका बिरामीले उपचारका लागि समस्या भोग्नुपरेको गुनासो आउने गरेको थियो ।
मन्त्रालयका अनुसार अब सर्वसाधारणले नि:शुल्क स्वास्थ्य पोर्टल (https://freehealth.mohp.gov.np) मा देशभरका विभिन्न अस्पतालमा कति नि:शुल्क शय्या उपलब्ध छन् भन्ने विवरण हेर्न सक्नेछन् । पोर्टलमा शय्याको अवस्थासँगै थप जानकारी तथा सेवा समन्वयका लागि सम्बन्धित अस्पतालका सम्पर्क व्यक्ति (फोकल पर्सन) को फोन नम्बर समेत राखिएको छ ।
यस प्रणालीले नि:शुल्क उपचार पाउनुपर्ने वर्गका नागरिकलाई अस्पतालको शय्याको अवस्था पहिल्यै जानकारी लिन सहज बनाउनेछ । साथै, उपचार सेवामा पहुँच बढाउनुका साथै सेवा प्रवाहलाई पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।
आईसीटी समाचार