काठमाडौं । ९० औँ वार्षिकोत्सवको अवसरमा नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले वित्तीय समावेशीकरण र डिजिटल बैंकिङ सेवाको विस्तारलाई निरन्तरता दिँदै एनबीएल बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एप मार्फत ‘एनबीएल फोन लोन’ नामक नयाँ डिजिटल कर्जा सेवा सुरु गरेको छ । यो डिजिटल कर्जा सेवा फोनलोन प्रा लि. द्वारा संञ्चालित छ, जसले पूर्ण रूपमा डिजिटल, छिटो र सहज कर्जा प्रवाहलाई सम्भव बनाउँछ ।
यस सेवा मार्फत बैंकका योग्य ग्राहकहरूले २ लाखसम्मको कर्जा कुनै धितो, कागजी प्रक्रिया वा बैंक शाखा भ्रमण नगरी सिधै मोबाइल एप मार्फत प्राप्त गर्न सक्नेछन् । यो सेवा छिटो, सरल र सहज रूपमा औपचारिक कर्जामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो ।
कर्जाको सीमा तथा योग्यता बैंकले तोकेका मापदण्डअनुसार निर्धारण गरिनेछ, जसमा तलब जम्मा कारोबारको नियमितता, हालसालैका कर्जा दायित्व तथा कर्जा चुक्ता गर्ने व्यवहार समावेश छन् । ग्राहकहरूले एक महिनाको अवधिमा वा १२ महिनासम्म किस्ताबन्दी मार्फत कर्जा चुक्ता गर्ने विकल्प रोज्न सक्नेछन् । साथै, पूर्वभुक्तानी सुविधा पनि उपलब्ध छ ।
बैंकबाट मोबाइल बैंकिङ सेवा लिइरहेका ग्राहकहरूले बैंकको योग्यता मापदण्ड तथा दर्ता प्रक्रियाअनुसार NBL BankSmart XP एपमार्फत NBL Foneloan सेवा उपयोग गर्न सक्नेछन् । योग्य ग्राहकहरूले मोबाइल एपबाटै कर्जाका लागि आवेदन दिन सक्नेछन् ।
उक्त सेवा बैंकको ९० औँ वार्षिकोत्सव समारोहका अवसरमा शुभारम्भ गरिएको हो । NBL Foneloan कर्जा सेवाका बारेमा नेपाल बैंक लिमिटेडका अर्जुन बहादुर कँडेल, प्रमुख प्रबन्धक, रिटेल क्रेडिट विभागले भने, “NBL Foneloan सेवामार्फत ग्राहकहरूलाई सुरक्षित, सहज र पूर्ण रूपमा डिजिटल कर्जा समाधान उपलब्ध गराउनु हाम्रो उद्देश्य हो । प्रविधिको उपयोग गर्दै वित्तीय सेवामा पहुँच विस्तार गर्नु तथा ग्राहकहरूलाई सरल र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्नु बैंकको प्राथमिकता हो। बैंकको ९० औँ वार्षिकोत्सवको यस अवसरमा हामी नवीन प्रविधिको अवलम्बन गर्दै डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी बनाउन प्रतिबद्ध छौँ ।”
NBL Foneloan सेवाको सुरुवातले नेपाल बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवाको विस्तारलाई थप सुदृढ बनाउनुका साथै ग्राहक सुविधामा वृद्धि गर्ने र डिजिटल माध्यमबाट औपचारिक कर्जामा पहुँच विस्तार गर्ने विश्वास लिइएको छ । यस पहलले प्रविधिमैत्री तथा ग्राहक केन्द्रित बैंकिङ सेवा प्रदान गर्ने बैंकको प्रयासलाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार