काठमाडौं । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उत्कृष्ट नवप्रवर्तन, स्टार्टअप तथा प्रविधिमा आधारित पहलहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको आईसीटी अवार्ड २०२६ को ग्रान्ड जुरी सेसन सुरु भएको छ ।

नोभेम्बर २१ र २२ (मंसिर ५ र ६) गते आयोजना भइरहेको ग्रान्ड जुरी सेसनको आज पहिलो दिन विभिन्न विधाका प्रतिस्पर्धी स्टार्टअप तथा नवप्रवर्तनकर्मीहरूले आफ्ना उत्पादन, सेवा, नवीन अवधारणा र व्यावसायिक योजनाहरू निर्णायकमण्डलसमक्ष प्रस्तुत गरेका छन् ।

ग्रान्ड जुरी सेसनअन्तर्गत पिचिङ (Pitching) तथा स्पिड डेटिङ (Speed Dating) कार्यक्रम सञ्चालन भएको छ । पिचिङ सत्रमा सहभागीहरूले आफ्ना नवीनतम प्रविधि, उत्पादन, सेवा, व्यावसायिक सम्भावना र भविष्यका योजनाबारे निर्णायकमण्डलसमक्ष प्रस्तुतीकरण गरेका छन् । यस क्रममा उनीहरूले आफ्ना नवप्रवर्तनको विशेषता, समस्या समाधान गर्ने क्षमता र सम्भावित प्रभावबारे जानकारी गराएका छन् ।

त्यस्तै, स्पिड डेटिङ सत्रमा प्रतिस्पर्धीहरूले विभिन्न क्षेत्रका विज्ञ, उद्योगी तथा अनुभवी व्यक्तित्वहरूसँग प्रत्यक्ष अन्तरक्रिया र विचार आदानप्रदान गर्ने अवसर पाएका छन् । यसले सहभागीहरूलाई आफ्ना व्यावसायिक अवधारणा थप स्पष्ट पार्न, नयाँ सुझाव प्राप्त गर्न र सम्भावित सहकार्यका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस वर्षको ग्रान्ड जुरी सेसनमा नेपालका उत्कृष्ट प्रविधि नवप्रवर्तन, सम्भावनायुक्त स्टार्टअप तथा डिजिटल पहलहरूलाई पहिचान गर्ने लक्ष्य राखिएको छ । निर्णायकमण्डलले सहभागीहरूको प्रस्तुतीकरण, नवीनता, व्यावसायिक सम्भावना, सिर्जनशीलता तथा सामाजिक प्रभावलगायतका पक्षलाई मूल्याङ्कन गर्नेछन् ।

आईसीटी अवार्ड २०२६ अन्तर्गतको यो सेसन फाइनलिस्ट छनोट प्रक्रियाको महत्त्वपूर्ण चरणका रूपमा रहेको छ । यसबाट उत्कृष्ट प्रतिस्पर्धीहरू छनोट भई आगामी ग्रान्ड फिनालेमा सहभागी हुनेछन् ।

नेपालको प्रविधि इकोसिस्टमलाई थप सशक्त बनाउने, नवीन सोचलाई प्रोत्साहन गर्ने र सम्भावनायुक्त स्टार्टअप तथा प्रविधि उद्यमहरूलाई राष्ट्रियस्तरमा पहिचान दिलाउने उद्देश्यले आईसीटी अवार्ड आयोजना हुँदै आएको छ ।






आईसीटी समाचार