कीवर्डहरू -

एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

एआईबाट चल्ने हतियार नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासमा फेरि अवरोध

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट सञ्चालन हुने घातक रोबोट र ड्रोन हतियारमाथि अन्तर्राष्ट्रिय नियन्त्रण कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघमा भएको छलफल कुनै ठोस सहमतिमा पुग्न सकेन । जेनेभामा आयोजित एक साताव्यापी सम्मेलन कानुनी रूपमा बाध्यकारी नियम बनाउने सहमतिविना शनिबार सम्पन्न भएको हो ।

सम्मेलनमा सहभागी राष्ट्रहरूले घातक स्वचालित हतियार प्रणाली (लथल वेपन सिस्टम) सम्बन्धी सम्भावित अन्तर्राष्ट्रिय सम्झौताका विषयमा सन् २०२८ सम्म छलफल जारी राख्ने निर्णय गरेका छन् । तर, यस्ता हतियारको विकास र प्रयोगलाई नियमन गर्ने कानुनी व्यवस्था निर्माणका लागि तत्काल वार्ता अघि बढाउने विषयमा भने देशहरूबीच सहमति जुट्न सकेन ।

स्वचालित रूपमा लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्ने हतियारको बढ्दो प्रयोगप्रति अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देश र मानवअधिकार क्षेत्रमा कार्यरत संस्थाहरूले यस्ता हतियार नियन्त्रणका लागि यसै वर्षभित्र कानुनी रूपमा बाध्यकारी अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया सुरु गर्नुपर्ने माग गरेका थिए ।

निरस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले सम्मेलनबाट भएको सहमतिलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे । यद्यपि, अपेक्षा गरिएअनुसार कानुनी सम्झौताको दिशामा ठोस प्रगति हुन नसकेको उनले स्वीकार गरे ।

सम्मेलनको निष्कर्षप्रति घातक स्वचालित हतियारविरुद्ध अभियान सञ्चालन गर्दै आएको ‘स्टप किलर रोबोट्स’ ले असन्तुष्टि जनाएको छ । अभियानले सहभागी राष्ट्रहरूबीच भएको सहमति कमजोर रहेको र हतियार नियन्त्रणका लागि आवश्यक प्रभावकारी कदम चाल्न नसकेको टिप्पणी गरेको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय कानुनसम्बन्धी संस्था लेक्स इन्टरनेसनलकी संस्थापक बिट्रिस फिनले नयाँ निर्णयले घातक स्वचालित हतियार नियन्त्रणको प्रयासलाई थप दुई वर्ष पछाडि धकेलेको बताइन् ।

यसअघि ब्राजिलको नेतृत्वमा अस्ट्रिया, बेल्जियम, आयरल्यान्ड, मेक्सिको, न्युजिल्यान्ड र पानामाले स्वचालित घातक हतियारको विकास तथा प्रयोगलाई नियमन गर्ने अन्तर्राष्ट्रिय नियम निर्माणका लागि औपचारिक वार्ता सुरु गर्न प्रस्ताव गरेका थिए । तर, सम्मेलनमा उक्त प्रस्तावले आवश्यक समर्थन प्राप्त गर्न सकेन ।

अधिकारकर्मीहरूले रुस र अमेरिकालगायत प्रमुख सैन्य शक्तिहरूले कडा अन्तर्राष्ट्रिय नियन्त्रणको प्रस्ताव अघि बढ्न नदिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, एआई प्रविधिको सैन्य प्रयोग तीव्र गतिमा विस्तार भइरहेका बेला यसको नियन्त्रणका लागि विश्वव्यापी कानुनी मापदण्ड बनाउन ढिलाइ भइरहेको छ ।

घातक स्वचालित हतियारको प्रयोगमा मानवीय नियन्त्रण, जवाफदेहिता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना सुनिश्चित गर्ने विषय अहिलेको बहसको मुख्य केन्द्रमा छ । तर, राष्ट्रसंघको पछिल्लो सम्मेलनले यी विषयमा बाध्यकारी सहमति जुटाउन नसक्दा अन्तर्राष्ट्रिय नियमनको प्रयास थप लम्बिने देखिएको छ ।