काठमाडौं । राष्ट्रिय युवा परिषद्ले लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका युवालाई लक्षित गरी नि:शुल्क विशेष तयारी कक्षा सञ्चालन गर्ने भएको छ । परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत शाखा अधिकृत र नायब सुब्बा पदको परीक्षाका लागि अनलाइन तयारी कक्षा सञ्चालन गर्न आवेदन आह्वान गरेको हो ।
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको परिषद्का अनुसार विशेष प्राथमिकतामा रहेका युवाहरूलाई लक्षित गरी कक्षा सञ्चालन गर्न लागिएको हो । यस कार्यक्रममार्फत शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदको परीक्षाका लागि आवश्यक तयारी गराइनेछ ।
तयारी कक्षा पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले इच्छुक उम्मेदवारले अनलाइनबाटै आवेदन दिन सक्नेछन् । आवेदन दिन चाहने युवाहरूले श्रम संसारको आधिकारिक वेबसाइट https://shramsansar.gov.np/loksewa-preparation मा गई आवश्यक विवरणसहित फाराम भर्नुपर्नेछ ।
परिषद्ले आवेदन पेस गर्ने अन्तिम मिति मङ्सिर १८ गते तोकेको छ । निर्धारित समयभित्र इच्छुक आवेदकले आफ्नो आवेदन प्रक्रिया पूरा गर्नुपर्नेछ । यसअघि गुगल फाराममार्फत आवेदन दिईसकेका आवेदकले भने पुन: आवेदन दिनु नपर्ने परिषद्ले स्पष्ट पारेको छ । उनीहरूले बुझाएको विवरण अनलाइन प्रणालीमा सुरक्षित भइसकेकाले दोहोर्याएर फाराम भर्न आवश्यक नरहेको जनाइएको छ ।
कार्यक्रम तथा आवेदन प्रक्रियासम्बन्धी थप जानकारी आवश्यक परेमा टोल फ्री नम्बर ११४१ वा ०१-४२११९६३ मा सम्पर्क गर्न सकिनेछ । त्यस्तै, [email protected] र [email protected] मा इमेल पठाएर पनि जानकारी लिन सकिने परिषद्ले जनाएको छ ।
लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहेका विशेष प्राथमिकताका युवालाई लक्षित यस कार्यक्रमले उनीहरूको अध्ययन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आईसीटी समाचार