कीवर्डहरू -

एनभिडियाका प्रतिबन्धित एआई चिप तस्करीमा एलिस हुआङ र उनका व्यावसायिक साझेदारको संलग्नता

एनभिडियाका प्रतिबन्धित एआई चिप तस्करीमा एलिस हुआङ र उनका व्यावसायिक साझेदारको संलग्नता

काठमाडौं । एनभिडियाका चिप जडान गरिएका कम्प्युटर सर्भरहरू मलेसिया हुँदै चीन पुर्‍याउने तस्करी सञ्जालमा चिनियाँ व्यवसायी ली मिङ संलग्न रहेको खुलेको छ ।

‘द वाल स्ट्रिट जर्नल’को एक प्रतिवेदनअनुसार ली मिङले एनभिडियाका प्रतिबन्धित एआई चिपहरू चीन पुर्‍याउन एनभिडियाकी पूर्व कार्यकारी जेन्सेन हुआङसँग व्यक्तिगत सम्बन्ध रहेकी एलिस हुआङ र उनका पति काङ वेईसँग मिलेर काम गरिरहेका थिए ।

प्रतिवेदनअनुसार ली मिङ एक्लै नभई एलिस र उनका पति काङ वेईसँग मिलेर दक्षिण-पूर्वी एसियाका विभिन्न देशमा कम्पनीहरूको सञ्जाल सञ्चालन गरिरहेका थिए । काङले यही सञ्जालको प्रयोग गरी चीनमा करिब ९ अर्ब डलर बराबरका डाटा सेन्टर निर्माण गर्ने योजना अघि बढाएका थिए ।

यस सञ्जालमा एलिसको भूमिका एनभिडियाका अत्याधुनिक चिपहरू उपलब्ध गराउने, उनका पति काङले चीनमा डाटा सेन्टर व्यवसाय विस्तार गर्ने र ली मिङले यी दुई पक्षबीच व्यावसायिक सम्पर्क तथा समन्वय गर्ने रहेको प्रतिवेदनमा उल्लेख छ ।

५२ वर्षीय चिनियाँ व्यवसायी ली मिङ हाल सिंगापुरमा धरौटीमा रिहा भएका छन् । उनीविरुद्ध सन् २०२५ को फेब्रुअरीमा ठगीसम्बन्धी मुद्दा दायर गरिएको थियो । उक्त मुद्दा एनभिडियाका चिप जडान गरिएका कम्प्युटर सर्भर खरिद गरी अन्य देशमा पठाउने कार्यसँग सम्बन्धित छ ।

सिंगापुरका अभियोजकहरूका अनुसार लीले एनभिडियाका चिप जडान गरिएका सर्भर खरिद गर्दा अमेरिकी आपूर्तिकर्ता कम्पनीहरूलाई ती सर्भर सिंगापुरस्थित आफ्नो कम्पनी ‘लक्जुरिएट योर लाइफ’मा प्रयोग गरिने बताएका थिए । तर, ती सर्भर सिंगापुर ल्याउनुको सट्टा पहिले मलेसिया पठाइएको र त्यहाँबाट तेस्रो मुलुक पुर्‍याइएको अभियोजन पक्षको दाबी छ ।

ली मिङ सिंगापुरमा आधारित ‘मेगास्पिड’ नामक कम्पनीको सञ्चालनमा समेत सक्रिय रूपमा संलग्न थिए । उक्त कम्पनीकी पूर्व प्रबन्ध निर्देशक एलिस हुआङ थिइन् । प्रतिवेदनअनुसार ली कम्पनीका प्रमुख व्यावसायिक निर्णयहरूमा सहभागी हुनुका साथै एनभिडिया चिपको बिक्रीमा संलग्न अन्य कम्पनीहरूसँग पनि सम्बन्ध राख्थे ।

‘द वाल स्ट्रिट जर्नल’ का अनुसार सिंगापुरमा मुद्दा दायर हुनुभन्दा धेरै वर्षअघि नै ली मिङले एलिस र उनका पति काङ वेईसँग मिलेर काम गर्न थालेका थिए । चीनमा कम्पनी दर्तासम्बन्धी कागजातअनुसार एलिस र काङले सन् २०२१ मा ‘सेन्चुरी लोङतेङ’ नामक कम्पनी स्थापना गरेका थिए । क्लाउड कम्प्युटिङ क्षेत्रमा सक्रिय उक्त कम्पनीमा ली मिङ पनि महत्त्वपूर्ण भूमिकामा रहेको देखिन्छ ।

सन् २०२३ को जनवरीमा सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा तस्बिरमा ली मिङ सांघाईस्थित एआई उपकरण निर्माता कम्पनीको भ्रमण गरिरहेको देखिएका थिए । उक्त पोस्टमा उनलाई ‘सेन्चुरी लोङतेङ’को प्रमुख रणनीति अधिकृत (चिफ स्ट्राटेजी अफिसर) का रूपमा परिचय गराइएको थियो ।

त्यतिबेला अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले चीनमा एनभिडियाका अत्याधुनिक एआई चिप बिक्री गर्न कडा प्रतिबन्ध लगाएको थियो । कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उच्च क्षमताका काममा प्रयोग हुने यी चिप प्राप्त गर्न चिनियाँ प्रविधि कम्पनीहरूलाई कठिनाइ भएको थियो ।

प्रतिबन्धका कारण चिनियाँ कम्पनीहरूसँग एनभिडियाका चिप प्रयोग गर्ने मुख्यत: दुई विकल्प थिए । पहिलो, विदेशमा उपलब्ध एनभिडियाको कम्प्युटिङ क्षमता भाडामा लिएर आवश्यक काम त्यहीँ सम्पन्न गर्ने । यसका लागि ठूलो परिमाणमा तथ्याङ्क (डेटा) विदेश पठाउनुपर्ने हुन्थ्यो ।

दोस्रो विकल्प भनेको एनभिडियाका चिप जडान गरिएका सर्भरहरू अवैध रूपमा चीन भित्र्याउनु थियो । यसका लागि विभिन्न देश हुँदै सर्भरहरू चीन पुर्‍याउने तस्करी सञ्जाल प्रयोग गरिन्थ्यो ।

यही अवधिमा ली मिङ, एलिस र काङले दक्षिण-पूर्वी एसियाका विभिन्न व्यावसायिक साझेदारसँग सहकार्य गर्न थालेका थिए । उनीहरूको मुख्य उद्देश्य चिनियाँ ग्राहकहरूलाई अमेरिकी निर्यात प्रतिबन्धका बाबजुद एनभिडियाका अत्याधुनिक एआई चिप उपलब्ध गराउनु रहेको प्रतिवेदनमा उल्लेख छ ।