काठमाडौं । नेपाल र भारतबीच आर्थिक विकास, पूर्वाधार, ऊर्जा, प्रविधि, शिक्षा, खेलकुद, पर्यटन, स्वास्थ्य र कृषिसहित १० क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहबीच भारतको नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि दुवै देशले ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ नामक संयुक्त दृष्टिकोणपत्र सार्वजनिक गरेका हुन् ।
उक्त संयुक्त दृष्टिकोणपत्र असिम शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई आधुनिक, परिणाममुखी र पारस्परिक लाभमा आधारित साझेदारीमा रूपान्तरण गर्ने लक्ष्यसहित तयार पारिएको दस्तावेजमा आगामी दिनमा सहकार्य गरिने १० प्रमुख क्षेत्र र विभिन्न परियोजना समेटिएका छन् ।
प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाहले नोभेम्बर २२ देखि २३ सम्म भारतको राजकीय भ्रमण गरेका थिए । भ्रमणका क्रममा दुई प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धको समग्र समीक्षा गर्दै आर्थिक, राजनीतिक तथा प्राविधिक क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल गरेका थिए ।
संयुक्त दृष्टिकोणपत्रअनुसार भारतले नेपाललाई कुल २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको छ । त्यसमध्ये विपद्पछिको पुनर्निर्माण तथा नयाँ पूर्वाधार आयोजना निर्माणका लागि ५ हजार ६०० करोड रुपैयाँ अनुदान र ऊर्जा क्षेत्रका परियोजनाका लागि १८ हजार ४०० करोड रुपैयाँ बराबरको ऋण सुविधा उपलब्ध गराइनेछ । उक्त सहायता भारतीय रुपैयाँ १५ हजार करोड बराबरको हुनेछ ।
दुवै देशले विद्यमान व्यापार तथा लगानीसम्बन्धी सम्झौता पुनरावलोकन गर्ने, नयाँ पारवहन तथा हवाई मार्ग खोल्ने, सीमावर्ती क्षेत्रमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने र नेपालका प्राथमिकताका क्षेत्रमा भारतीय लगानी प्रोत्साहन गर्ने सहमति पनि गरेका छन् ।
१० क्षेत्रमा सहकार्यको मार्गचित्र
संयुक्त दृष्टिकोणपत्रमा पहिलो प्राथमिकताका रूपमा व्यापक आर्थिक तथा विकास साझेदारीलाई राखिएको छ । भारतको ‘विकसित भारत २०४७’ र नेपालको ‘समुन्नत नेपाल’को राष्ट्रिय आकांक्षाबीच समानता रहेको उल्लेख गर्दै दुवै देशले आर्थिक सम्बन्धलाई थप विस्तार गर्ने योजना अघि सारेका छन् ।
व्यापार तथा लगानीका लागि आवश्यक कानुनी र नीतिगत संरचना पुनरावलोकन गर्ने, नयाँ पारवहन तथा हवाई सम्पर्क विस्तार गर्ने र भारत–नेपाल सीमाक्षेत्रमा निर्यातमुखी उत्पादनका लागि विशेष आर्थिक क्षेत्र तथा औद्योगिक पार्क स्थापना गर्ने सहमति भएको छ । सूचना प्रविधि पार्क विकासमा समेत सहकार्य गरिनेछ ।
नेपालका प्राथमिकताका क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न लगानीकर्ताको विश्वास बढाउने तथा व्यवसाय सञ्चालन सहज बनाउने व्यवस्था गरिने दस्तावेजमा उल्लेख छ ।
रेलमार्ग, सडक र पेट्रोलियम पाइपलाइन विस्तार गरिने
भौतिक तथा डिजिटल कनेक्टिभिटीअन्तर्गत नेपाल र भारतबीच रेल, सडक, हवाई तथा डिजिटल सम्पर्क विस्तार गर्ने योजना अघि सारिएको छ । भारतको अयोध्या र नेपालको जनकपुरबीच प्रत्यक्ष एक्सप्रेस रेल सेवा सञ्चालन तथा भारतको धार्चुला र नेपालको दार्चुलाबीच महाकाली नदीमा सवारीसाधन चल्ने पुल निर्माणलाई दुवै प्रधानमन्त्रीले स्वागत गरेका छन् ।
भैरहवा–सुनौली र बनबासा–दोदराचाँदनीमा एकीकृत जाँच चौकी (आईसीपी) निर्माणलाई तीव्रता दिने सहमति भएको छ । जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका बाँकी खण्डको काम पनि छिटो सम्पन्न गरिनेछ ।
रक्सौल–काठमाडौं रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएकोमा स्वागत गर्दै नेपालमा पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ । यसअन्तर्गत बर्दिबास–निजगढ र वीरगञ्ज–निजगढ खण्डलाई प्राथमिकता दिइनेछ ।
त्यस्तै, भारतको सिलिगुडीदेखि नेपालको झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण गरिनेछ । नेपाल र भारतबीच ग्यास पाइपलाइन निर्माणको सम्भावनासमेत अध्ययन गरिने दस्तावेजमा उल्लेख छ ।
नेपालको राष्ट्रिय भुक्तानी प्रणालीसँग भारतको यूपीआई जोडिएको उपलब्धिलाई आधार बनाउँदै सीमापार खुद्रा भुक्तानी प्रणाली कार्यान्वयनलाई तीव्रता दिने सहमति पनि भएको छ ।
जलविद्युत् र जलस्रोतमा भारतीय लगानी बढाइने
ऊर्जा, जलस्रोत तथा जलवायु उत्थानशीलताको क्षेत्रमा दुवै देशले संस्थागत सहकार्य विस्तार गर्ने भएका छन् । भारतले नेपालका जलविद्युत् आयोजना तथा प्रसारण पूर्वाधारमा थप लगानी गर्न प्रोत्साहन गर्नेछ भने नेपालले त्यस्ता लगानीका लागि आवश्यक सहजीकरण गर्नेछ ।
नेपाल र भारतबीच विद्युत् व्यापारलाई आपसी लाभ तथा बजारको मागअनुसार थप विस्तार गर्ने विषयमा पनि सहमति भएको छ । पञ्चेश्वर, सप्तकोशी र सुनकोशी बहुउद्देश्यीय आयोजनाको काम अघि बढाउने तथा जलस्रोतको उपयोगबाट दुवै देशले लाभ लिने व्यवस्था गरिनेछ । बाढीबाट हुने क्षति न्यूनीकरण गर्न पनि संयुक्त प्रयास गरिनेछ ।
दुवै देशले जल तथा मौसमसम्बन्धी तथ्यांक वास्तविक समयमा आदानप्रदान गर्ने, हिमतालको निगरानी गर्ने र विपद्को पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने सहमति गरेका छन् । विपद् जोखिम न्यूनीकरण, उद्धार, पुनर्निर्माण तथा मानवीय सहायताका क्षेत्रमा संयुक्त अभ्यास र तालिम सञ्चालन गरिनेछ ।
नेपालमा हरित हाइड्रोजनको नमुना परियोजना सञ्चालन गर्ने तथा सौर्य ऊर्जालगायत वैकल्पिक ऊर्जा स्रोतको विकासमा सहकार्य गर्ने योजना पनि दस्तावेजमा समेटिएको छ ।
काठमाडौंमा स्टार्टअप सेन्टर, पोखरामा डिजिटल नोम्याड हब
प्रविधि, अन्तरिक्ष तथा नवप्रवर्तनको क्षेत्रमा नेपाललाई प्रविधि केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित भारतसँग सहकार्य विस्तार गरिने भएको छ । नेपाल–भारत स्टार्टअप साझेदारी सञ्जाल विस्तार गर्दै नेपाली स्टार्टअपलाई भारतमा तालिम तथा परामर्श उपलब्ध गराइनेछ ।
काठमाडौंमा स्टार्टअप सेन्टर अफ एक्सिलेन्स र पोखरामा डिजिटल नोम्याड तथा नवप्रवर्तन केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ । नेपालमा डिजिटल पार्क तथा डेटा सेन्टर विकास गर्न निजी लगानीसमेत सहजीकरण गरिनेछ ।
कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा सहकार्य गर्दै नेपाली भाषाका लागि लार्ज ल्याङ्ग्वेज मोडल विकास गर्ने योजना पनि संयुक्त दृष्टिकोणपत्रमा उल्लेख छ । यसका लागि भारतको भाषिणी (Bhashini) सँग सहकार्य गर्न सकिनेछ ।
त्यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान र नेपालका सम्बन्धित निकायले भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरो तथा इन–स्पेससँग सहकार्य गर्नेछन् । भू-उपग्रह विकास, विपद् व्यवस्थापनका लागि पृथ्वीको अवलोकन, रिमोट सेन्सिङ तथा प्राविधिक क्षमता विकासमा सहयोग आदानप्रदान गरिनेछ ।
पाँचौँ र छैटौँ पुस्ताको दूरसञ्चार प्रविधि अर्थात् फाइभजी र सिक्सजीको विकासमा पनि सहकार्य गरिनेछ ।
नेपालमा आईआईटीको शाखा खोल्ने सम्भावना खोजिने
शिक्षा तथा सीप विकासअन्तर्गत भारतका प्रतिष्ठित उच्च शैक्षिक संस्थाका शाखा वा क्याम्पस नेपालमा स्थापना गर्ने सम्भावना खोजिने भएको छ । यसको सुरुवात भारतीय प्रविधि संस्थान (आईआईटी) बाट गर्ने विषय संयुक्त दृष्टिकोणपत्रमा उल्लेख छ ।
नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा तालिमका अवसर विस्तार गर्दै कानुन, प्रविधि र कृत्रिम बौद्धिकताजस्ता नयाँ विषयलाई पनि समेटिनेछ । दुवै देशका विश्वविद्यालय तथा शैक्षिक संस्थाबीच प्राध्यापक, विज्ञ र विद्यार्थी आदानप्रदानलाई प्रोत्साहन गरिनेछ । नेपालका युवालाई उत्पादन, सेवा तथा उद्यमशीलतासम्बन्धी सीप प्रदान गर्न भारतीय सहयोगमा व्यावसायिक तालिम संस्था स्थापना गरिनेछ ।
नेपालमा राष्ट्रिय क्रिकेट एकेडेमी स्थापना गर्न भारतको सहयोग
खेलकुद पूर्वाधार विकासमा पनि भारतले नेपाललाई सहयोग गर्ने भएको छ । नेपालमा राष्ट्रिय क्रिकेट प्रशिक्षण तथा तालिम एकेडेमी स्थापना गर्न भारतले सहयोग गर्नेछ ।
राष्ट्रिय तथा प्रादेशिक तहमा क्रिकेट पूर्वाधार विकास गर्नुका साथै नेपाली प्रादेशिक क्रिकेट टोलीका खेलाडीलाई भारतका राष्ट्रिय प्रशिक्षण एकेडेमीमा तालिमको अवसर उपलब्ध गराइनेछ ।
ब्याडमिन्टन, टेनिस, सुटिङ र एथलेटिक्सजस्ता खेलमा पनि सहकार्य विस्तार गर्ने तथा नेपालमा आधुनिक बहुखेलकुद केन्द्र विकास गर्ने सम्भावना खोजिनेछ । पर्वतीय खेलकुदमा संयुक्त अभियान तथा हिमाली क्षेत्रका खेल गतिविधिमा सहकार्य गर्ने योजना पनि छ । क्रिकेट र फुटबललगायतका खेलमा दुवै देशका खेलाडीलाई एकअर्काका व्यावसायिक लिगमा सहभागी गराउने सम्भावनासमेत खोजिनेछ ।
जनकपुर–अयोध्या र लुम्बिनी–बोधगयालाई धार्मिक पर्यटन सर्किटमा जोडिने
संस्कृति तथा पर्यटन क्षेत्रलाई नेपाल–भारत सम्बन्धको महत्त्वपूर्ण आधारका रूपमा उल्लेख गरिएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि रामायण, बौद्ध र शिव–शक्ति सर्किट विकास गर्ने सहमति भएको छ ।
यसअन्तर्गत जनकपुर–अयोध्या, लुम्बिनी–बोधगया–सारनाथ–कुशीनगर तथा काठमाडौंको पशुपतिनाथ–वाराणसीलाई जोडेर धार्मिक पर्यटन मार्ग विकास गरिनेछ । दुवै देशमा आलोपालो वार्षिक युवा सांस्कृतिक महोत्सव आयोजना गर्ने तथा चलचित्र निर्माण, रंगमञ्च र ललितकलाका क्षेत्रमा कलाकारबीच तालिम र अनुभव आदानप्रदान गरिनेछ ।
नालन्दा विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच सहकार्य विस्तार गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा नालन्दा केन्द्र स्थापना गर्ने योजना पनि छ । पर्यटन तथा आतिथ्य क्षेत्रमा युवा उद्यमीबीच सहकार्य बढाउने र सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति तथा सामाग्री निर्मातालाई एकअर्काको देशमा भ्रमण गराएर पर्यटन प्रवर्द्धन गर्ने सहमति भएको छ ।
स्वास्थ्य क्षेत्रमा जनऔषधि केन्द्र स्थापना गरिने
स्वास्थ्य क्षेत्रमा नेपालका स्वास्थ्य चौकी, प्रसूति केन्द्र तथा अस्पतालको पूर्वाधार विकासमा भारतले सहयोगलाई निरन्तरता दिने भएको छ । नेपालको राष्ट्रिय मेडिकल प्रयोगशालाको स्तरोन्नतिमा सहकार्य गर्ने तथा सर्वसाधारणलाई सस्तो र गुणस्तरीय औषधि उपलब्ध गराउन नेपाल–भारत जनऔषधि केन्द्र स्थापना गर्ने सहमति भएको छ ।
स्वास्थ्यकर्मीको क्षमता विकासका लागि भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम (आईटीईसी) अन्तर्गत विशेष तालिम सञ्चालन गरिनेछ । दुवै देशका प्रतिष्ठित चिकित्सा संस्थाबीच सहकार्य, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र चिकित्सा अनुसन्धानलाई पनि प्रोत्साहन गरिनेछ । भारतको मेडिकल रिसर्च काउन्सिल र नेपालको स्वास्थ्य अनुसन्धान परिषद्बीच अनुसन्धान सहकार्य विस्तार गरिनेछ ।
चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने
कृषि क्षेत्रको विकासका लागि भारतको अनुदान सहयोगमा चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने भएको छ । उक्त पार्कले नेपाली कृषि उत्पादनको प्रशोधन, मूल्य अभिवृद्धि तथा औद्योगिक विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
भारतको कृषि अनुसन्धान परिषद् र नेपालको कृषि अनुसन्धान परिषद्बीच सन् २०२६ देखि २०३० सम्मका लागि तय गरिएको कार्ययोजना कार्यान्वयनलाई तीव्रता दिइनेछ ।
कृषि तथा पशुपालन क्षेत्रमा सरकारी अधिकारी, किसान र कृषि व्यवसायीको क्षमता विकासका लागि विशेष तालिम सञ्चालन गरिनेछ । नेपालमा भारतीय कृषि अनुसन्धान परिषद्को उत्कृष्टता केन्द्र स्थापना गर्ने तथा दुवै देशका कृषि विश्वविद्यालयबीच सहकार्य विस्तार गर्ने योजना पनि अघि सारिएको छ ।
सन् १९५० को सन्धिसहित पुराना सम्झौता पुनरावलोकन गर्न सकिने
नेपाल र भारतबीचको सम्बन्धलाई समसामयिक राजनीतिक, आर्थिक तथा प्राविधिक वास्तविकताअनुसार अघि बढाउन अद्यावधिक र दूरदर्शी कानुनी संरचना आवश्यक रहेको दुवै प्रधानमन्त्रीले स्वीकार गरेका छन् ।
यस क्रममा सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख गरिएको छ । जलस्रोत, ऊर्जा, व्यापार तथा वाणिज्य र सीमा सम्बन्धी बाँकी विषय आपसी छलफल र संवादमार्फत समाधान गर्ने सहमति पनि भएको छ ।
नेपालले सन् २०२६ को अगस्टमा रसुवा–त्रिशूली जलाधार क्षेत्रलगायत स्थानमा आएको बाढी तथा गेग्रान बहावपछि भारतले तत्काल उपलब्ध गराएको मानवीय सहायता र खोज तथा उद्धार सहयोगप्रति आभार व्यक्त गरेको छ । नेपालको पुनर्निर्माण प्रयासमा थप सहयोग उपलब्ध गराउने विषयमा निरन्तर छलफल गर्ने सहमति भएको छ ।
कार्यान्वयनका लागि उच्चस्तरीय अनुगमन समूह
संयुक्त दृष्टिकोणपत्रमा उल्लेख गरिएका परियोजना तथा योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन दुवै प्रधानमन्त्रीले उच्चस्तरीय अनुगमन समूह सक्रिय बनाउने निर्णय गरेका छन् ।
नेपालका परराष्ट्र सचिव र भारतका राजदूतको नेतृत्वमा रहने उक्त समूहले कम्तीमा प्रत्येक छ महिनामा बैठक गरी सहमत भएका परियोजना, योजना तथा पहलको कार्यान्वयनमा भएको प्रगति समीक्षा गर्नेछ । आवश्यक स्वीकृति तथा सहजीकरणका कामलाई पनि तीव्रता दिनेछ ।
अनुगमन समूहले आफ्नो प्रतिवेदन दुवै देशका परराष्ट्रमन्त्रीको सहअध्यक्षतामा रहने नेपाल–भारत संयुक्त आयोगमा पेस गर्नेछ । संयुक्त आयोगको अर्को बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णय भएको छ ।
दुवै प्रधानमन्त्रीले संयुक्त दृष्टिकोणपत्रले दुई मित्रराष्ट्रबीच महत्वाकांक्षी, आधुनिक र पारस्परिक लाभमा आधारित साझेदारीको मार्गचित्र तयार गरेको विश्वास व्यक्त गरेका छन् । साथै, साझा दृष्टिकोणलाई व्यवहारमा उतार्न दुवै देशका अधिकारीलाई आवश्यक काम अघि बढाउन निर्देशन दिएका छन् ।
आईसीटी समाचार