काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाले जेन्सेन हुआङलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिको अध्यक्ष पदमा पुन: नियुक्त गरेको छ ।
कम्पनीको सञ्चालक समितिले सर्वसम्मत रूपमा हुआङलाई दुवै पदमा निरन्तरता दिने निर्णय गरेको हो । कम्पनीका अनुसार पुनर्नियुक्तिसम्बन्धी निर्णय तत्कालै लागू हुनेछ ।
सञ्चालक समितिका अध्यक्षले एनभिडियाको नेतृत्वका लागि हुआङ नै सबैभन्दा उपयुक्त व्यक्ति रहेको बताएका छन् । उनको नेतृत्वले कम्पनीका सेयरधनी, कर्मचारी, व्यावसायिक साझेदार तथा ग्राहकको हितलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरिएको छ ।
पुन: जिम्मेवारी पाएका हुआङले विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एकको नेतृत्व गर्ने अवसर पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन् ।
उनले सञ्चालक समिति, कर्मचारी, सेयरधनी, उद्योग क्षेत्रका नेतृत्वकर्ता, साझेदार तथा परिवारप्रति आभार व्यक्त गर्दै नयाँ प्रतिबद्धताका साथ कम्पनीको नेतृत्व गर्न उत्सुक रहेको बताएका छन् ।
एनभिडिया पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई), ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) तथा उच्च क्षमताका कम्प्युटिङ चिप उत्पादनका कारण विश्व प्रविधि उद्योगको प्रमुख कम्पनीका रूपमा स्थापित छ ।
आईसीटी समाचार