काठमाडौं । दार्चुलाका १७ वर्षीय युवा हिमाल बडुले आफूले विकास गरेको सफ्टवेयर जर्मनीको एक कम्पनीलाई एक लाख अमेरिकी डलरमा बिक्री गरेका छन् । कलिलो उमेरमै अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्राविधिक सीप र क्षमता प्रमाणित गरेका बडु अब कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नयाँ यात्रा सुरु गर्ने तयारीमा छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत बडुको यो उपलब्धिबारे जानकारी दिएका हुन् । १७ वर्षकै उमेरमा सफ्टवेयर विकास गरी विदेशी कम्पनीलाई बिक्री गर्न सफल हुनु नेपाली युवाका लागि प्रेरणादायी उपलब्धि भएको छ ।
बडुको सफलताले नेपालमा प्रविधि क्षेत्रमा रहेका युवा प्रतिभालाई उचित अवसर र वातावरण उपलब्ध गराउन सके अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना उजागर गरेको छ । यस्ता प्रतिभा र सफलताका कथा नेपालमा अझ धेरै सिर्जना गर्न विद्यालय तहदेखि नै सूचना प्रविधि, कोडिङ, एआई तथा प्रविधिमा आधारित व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
हिमाल बडुको उपलब्धिले नेपाली युवालाई आफ्नो क्षमता, सिर्जनशीलता र आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिएको छ । उचित अवसर, सीप र वातावरण निर्माण गर्न सके नेपालका युवाले पनि विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्न सक्ने सन्देश उनको सफलताले दिएको छ ।
आईसीटी समाचार