काठमाडौं । नेपाली नागरिकले अब भारतमा पनि क्यूआर कोड स्क्यान गरेर सहजै भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच सेवा सञ्चालनका लागि सकारात्मक सहमति जुटेसँगै आगामी एक महिनाभित्रै यो सुविधा सुरु गर्ने तयारी भएको छ ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणपछि क्यूआर भुक्तानी सेवा कार्यान्वयन गर्ने विषयले गति लिएको हो । यसअघि लामो समयदेखि प्रक्रियामा रहेको यो सेवा सुरु गर्न भारतीय र नेपाली पक्षबीच छलफल तीव्र पारिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नेपाली नागरिकले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने व्यवस्था मिलाउनुपर्ने विषयमा चासो व्यक्त भएको थियो । त्यसपछि भारतीय पक्षले सोमबार र मंगलबार नेपाली पक्षसँग सेवा सञ्चालनको तयारीबारे छलफल गरेको हो ।
यो सेवा सञ्चालनका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेबीच छलफल भइरहेको छ । यसअघि जेठ २०८० मा भारत भ्रमणका क्रममा व्यक्ति–व्यक्ति (पीटुपी) र व्यक्ति–व्यवसायी (पीटुएम) बीच डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने विषयमा एनपीसीआईसँग सम्झौता भएको थियो ।
उक्त सम्झौताअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मार्फत व्यक्ति–व्यक्तिबीच हुने भुक्तानी सेवा गत जेठदेखि कार्यान्वयनमा आइसकेको छ । तर, फोनपेमार्फत सञ्चालन हुने व्यक्ति–मर्चेन्ट भुक्तानी सेवा भने अझै सुरु हुन सकेको छैन ।
क्यूआर भुक्तानी सेवा सुरु भएपछि नेपाली नागरिकले भारतका विभिन्न पसल, होटल तथा अन्य व्यवसायमा क्यूआर कोड स्क्यान गरेर नेपाली बैंक खाताबाटै भुक्तानी गर्न सक्नेछन् । यसले भारत भ्रमणमा जाने नेपालीलाई नगद वा कार्ड बोक्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार